थप २८५६ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा देशभर कोरोनाभाइरसका २ हजार ८५६ जना संक्रमित भेटिएका छन्। देशका विभिन्न प्रयोगशालामा १२ हजार ३११ जनाको पीसीआर परीक्षण गर्दा काठमाडौं उपत्यकामा एक हजार ५३५ जनासहित २ हजार ८५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार थपिएका संक्रमितसँगै कुल संक्रमितको संख्या एक लाख ५८ हजार ८९ पुगेको छ। जसमध्ये हालसम्म एक लाख ८ हजार ३३४ जना संक्रमणमुक्त भइसकेका छन्।
आइतबार मात्र ३ हजार ३३६ जना संक्रमणमुक्त भएका छन्।
मन्त्रालयको तथ्यांक अनुसार, कोरोनाका सक्रिय संक्रमितको संख्या ४५ हजार ५७२ छ। जसमध्ये सबैभन्दा धेरै काठमाडौं जिल्लामा १९ हजार ८२६ जना सक्रिय संक्रमित छन्।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ८४७ पुगेको छ।