कर्णाली प्रदेशले राउटे समुदायको सुरक्षाका लागि कोष स्थापना गर्ने
कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटे समुदायको हित र सुरक्षाका लागि ‘राउटे सुरक्षा कोष’ स्थापना गर्ने भएको छ।
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले फिरन्ते जाति राउटे समुदायका लागि लत्ताकपडा, आवास र पोषणयुक्त खानेकुरा व्यवस्थापन गर्न कर्णाली प्रदेश सरकारले कोष बनाउन लागेको जानकारी दिए। सुर्खेतको चिङ्गाड गाउँपालिका–४ देउरालीस्थित राउटे बस्तीमा शनिबार राउटेहरुलाई सामूहिक भोजन गराउँदै मुख्यमन्त्री शाहीले यस्तो घोषणा गरेका हुन्। कोषबाट प्रदेश सरकारले राउटेहरूलाई प्रतिव्यक्ति मासिक रु. २ हजार उपलब्ध गराउनेछ।
संघीय सरकारले सामाजिक सुरक्षा भत्ता बापत प्रतिव्यक्ति मासिक रु तीन हजार प्रदान गर्दै आएको छ। प्रदेशले प्रदान गर्ने रकम सीधै व्यक्तिका हातमा नदिई दैनिक उपभोग्य सामग्री र आवास व्यवस्थापनमा खर्च गरिनेछ। हाल दैलेख लगायत कर्णाली प्रदेशका विभिन्न स्थानमा गरेर ४६ घरधुरीमा १५३ राउटे रहेको कर्णाली प्रदेश सरकारको तथ्यांक छ।
मुख्यमन्त्री शाहीले राउटे जाति कर्णालीका गहना भएको भन्दै यो समुदायको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। “राउटेको जीविकोपार्जनमा मद्दत पुग्ने गरी कोष निर्माणका साथै उपयुक्त संरचना निर्माण गरिनेछ”, उनले भने।
सामूहिक भोजन कार्यक्रममा सामाजिक विकासमन्त्री दल रावल र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी पनि सहभागी थिए।