गलत औषधि चलाउँदा युवतीको मृत्यु भएको भन्दै क्लिनिक बन्द गर्न माग
उदयपुरको त्रियुगा नगरपालिका–२ मोथ्याईका बासिन्दाले अवैध रुपमा सञ्चालित क्लिनिक बन्द गर्न माग गरेका छन्।
शनिबार स्थानीय २३ वर्षीया विनीता थापाको सदरमुकाम गाईघाटस्थित टाइम्स पोलिक्लिनिकमा उपचारका क्रममा मृत्यु भएको थियो। अवैध रुपमा सञ्चालित उक्त क्लिनिकका सञ्चालक डा. रामजीवन यादवले गलत औषधि दिंदा थापाको मृत्यु भएको आफन्तजनको आरोप छ। सञ्चालक यादवलाई कारबाही गर्नुपर्ने तथा अवैध रुपमा सञ्चालित सो क्लिनिक बन्द गर्नुपर्ने माग गर्दै थापाका आफन्त आन्दोलनमा उत्रिएका छन्।
क्लिनिक सञ्चालक यादवलाई कारबाही नगर्दासम्म शव नबुझ्ने उनीहरुले अडान लिएका छन्। शनिबार दिउँसो बिरामी भएपछि थापालाई उपचारका लागि यादवको क्लिनिकमा भर्ना गरिएको थियो। उपचारपछि पनि थापाको अवस्था झन् जटिल बनेपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो। जिल्ला अस्पतालमा उनको मृत्यु भएको बिरामीका आफन्त विक्रम थापाले बताए। क्लिनिकका सञ्चालक डा. यादवको लापरवाहीका कारण युवतीको मृत्यु भएको उनले आरोप लगाए।
मृतक युवतीको शव जिल्ला अस्पतालमा राखिएको छ। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले अवैध रुपमा सञ्चालित डा. यादवको क्लिनिकको विषयमा छानबिन थालिएको जानकारी दिए। क्लिनिकका सञ्चालक डा यादवलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए। हाल उक्त क्लिनिक बन्द गराइएको छ।