के हुन् उपयोगी मिडिया ? कस्ता हुन्छन् सक्रिय उपभोक्ता ?
पहिलेका उपभोक्तालाई सूचना र मनोरञ्जन दिए पुग्थ्यो भने अहिलेका उपभोक्तालाई त्यतिले पुग्दैन। उनीहरुको आधारभूत आवश्यकता के हो र कस्ता सामग्रीले उपभोक्ता सक्रिय हुन्छन् भन्ने बुझ्न जरुरी छ।
बन्दाबन्दी शुरु भएको एक महीनापछि शिक्षक सहकर्मीहरुसँग थालेको एकघन्टे भर्चुअल संवाद कार्यक्रमले हामीलाई समयको सदुपयोग गर्न मात्र होइन आफूले सामाजिक सञ्जालबाट सिकेका सीप आदानप्रदान गर्न समेत सिकायो। हामीमध्ये कतिपयले लेख्दै आएको दैनिकी अन्य शिक्षकले समेत लेख्न थाले। शिक्षालगायत सामाजिक सरोकारका विषयमा सम्प्रेषित समाचार र लेख खोजेर पढ्न जाने।
यसबीच केही शिक्षक सहकर्मीले युट्यूबबाट हेरेर थरीथरीका मास्क, भित्री लुगा, खानाका परिकार बनाउन सिके। केहीले बालचित्रकथा लेख्न र बालगीत सुनेर अभ्यास गर्दैछन्। यस्तै सामाजिक सञ्जालबाट सिलाइ सम्बन्धी सिकेको सीप तिखार्न र साप्ताहिक रुपमा हरेक शुक्रबार अरुलाई सिकाउन थालेका छौं।
यसरी विषम परिस्थितिलाई सहज बनाउन र सिकेको सीपलाई परिमार्जन गर्न दुई सातादेखि दैनिक तीनघन्टा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई भेटघाट थालेका छौं। हामी अस्मिता महिला प्रकाशन गृहले १५ वर्षअघि महिलालाई सञ्चारसम्बन्धी साक्षर बनाउन प्रकाशित गरेको ‘उपयोगी मिडिया सक्रिय उपभोक्ता’ हाते पुस्तिका वाचन पनि गर्छौं।
उपयोगी मिडियाले उपभोक्तालाई कसरी सक्रिय बनाउँछ र यसले उपभोक्ताको दैनिकी र जीवनशैलीमा कस्तो प्रभाव पार्छ भन्ने थाहा पाउँदैछौँ। उतिवेला अस्मिता प्रकाशन गृहले थालेको उक्त एकवर्षे परियोजनामा मैले पनि सञ्चार सहजकर्ताको भूमिका निर्वाह गर्ने अवसर पाएकी थिएँ।
वास्तवमा सञ्चारका सामग्री भनेका बिहेको भोजमा सजाएर राखिएका परिकार जस्तै हुन्। आफूलाई मनपर्ने परिकार खाए त्यसबाट सन्तुष्टि प्राप्त हुनुका साथै स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ। लोभ गरेर जे पायो त्यही खाए त्यसले समस्या मात्र निम्त्याउँदैन, समय र अर्थ पनि नाश हुन्छ।
सञ्चारमाध्यमका असन्तुलित सामग्री
अधिकांश सञ्चारमाध्यमहरुले उपभोक्ताहरुको रुचिलाई ध्यानमा राखेर सञ्चारसामग्री उत्पादन गर्ने गरेको पाइँदैन। यस्तै, अधिकांश स्थापित मूलधारे सञ्चारमाध्यमहरुले अझै पनि सबै लिङ्ग, जाति, उमेर, वर्गलगायतलाई समेट्न सकेको छैन।
विशेषगरी बालबालिका, युवा र महिलालाई पनि सक्रिय उपभोक्ता बनाउनुपर्छ भनेर बहुसंख्यक सञ्चारगृहले सोचेको देखिंदैन। यसो हुँदा पनि जनसंख्याको ठूलो हिस्सा ओगट्ने यो उमेर समूह र वर्गसम्म सञ्चारको पहुँच पुग्न सकेको नसकेको हो। पुगे पनि यस्ता उपभोक्तालाई कसरी सक्रिय उपभोक्ता बनाउने भन्ने बहुसंख्यक सञ्चारमाध्यमहरु संवेदनशील देखिंदैनन्।
अहिले मोबाइलधारी उपभोक्ताको संख्या निरन्तर बढिरहेको छ। र, अझै बढ्ने निश्चित छ। यस्तो अवस्थामा सञ्चारगृहहरुले पुराना र नयाँ दुवै प्रकारका उपभोक्ताहरुलाई कसरी सक्रिय बनाउने भनेर योजना बनाएको पाइँदैन।
यस्तै उत्पादनशील उमेरका उपभोक्ताहरुको रुचि अनुसारको सामग्री उत्पादन गर्ने विषयमा अधिकांश मूलधारे मिडियाहरु चुकेको कारण पनि उपभोक्ताहरु स्वयं कसरी सक्रिय उपभोक्ता बन्ने भनेर अलमलिएका छन्। त्यसैले सञ्चारका विभिन्न माध्यमहरुले उत्पादन गरेका सामग्री बहुसंख्यक उपभोक्ताका लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ हुने गरेको छ।
विशेषगरी रेडियो र पत्रपत्रिकाभन्दा पनि टेलिभिजन हेरेर मनोरञ्जन लिने बहुुुसंख्यक उपभोक्ता आज मोबाइल जस्ता आधुनिक उपकरणतिर लागेका छन्। मोबाइलधारी उपभोक्ताको संख्या निरन्तर बढिरहेको छ। र, अझै बढ्ने निश्चित छ। यस्तो अवस्थामा सञ्चारगृहहरुले पुराना र नयाँ दुवै प्रकारका उपभोक्ताहरुलाई कसरी सक्रिय बनाउने भनेर योजना बनाएको पाइँदैन।
पत्रपत्रिका र रेडियोका सामग्री सरसर्ती हेर्दा र सुन्दा वर्षौंअघिकै साजसज्जा कायम छ। समाचार, लेख र स्तम्भमा राजनीतिका विषय नै हावी छन्। कतिपय पाठकहरु नियमित रुपमा यस्ता लेख पढेरै आज लेखक बनेका छन्, तीमध्ये म पनि पर्छु।
तर, पुरातन साजसज्जाका सामग्रीले न नियमित पाठकलाई सक्रिय उपभोक्ता बनाउँछ, न त नयाँ उपभोक्ताहरुको ध्यानाकर्षण नै गराउन सक्छ। मूलधारे सञ्चारमाध्यमहरुले आफ्ना मातहत कार्य गर्ने सञ्चारकर्मीबाहेक बहुसंख्यक स्वतन्त्र लेखकहरुसँग दोहोरो संवाद गर्दैनन्। यसो हुँदा पनि ती सञ्चारमाध्यमले उत्पादन गर्ने सामग्री उपभोक्ताका लागि ‘खाए खा नखाए घिच्’ जस्तै हुने गरेको छ।
बरु बन्दाबन्दी शुरु भएयता कतिपय सञ्चारगृहले अनलाइन सामग्री उत्पादन गर्न थालेका छन्। यस्ता सञ्चारगृहले नयाँ–नयाँ स्तम्भ राख्नुका साथै श्रव्यदृश्य सामग्रीसमेत दिन थालेका छन्। ती सामग्री पढेर पाठक वा श्रोताले तुरन्तै प्रतिक्रिया व्यक्त गर्ने गरेको देखिन्छ। सम्पादकले पनि उपभोक्ताको रोजाइमा उत्कृष्ट ठहरिएका सामग्रीको मूल्याङ्कन तुरुन्त गर्न सक्छन्। जसले गर्दा उपभोक्ताले कस्ता सामग्री बढी रुचाउँदा रहेछन् भनेर थाहा पाउने र सोही अनुसार उत्पादन गर्ने गरेको देखिन्छ।
यस्ता सञ्चारमाध्यमहरुले शुरु गरेको यस्तो नयाँ अभ्यासले उपभोक्ता सक्रिय हुन्छन्। उपभोक्ता जति सक्रिय भए सञ्चारमाध्यम उति सजग हुन्छन्। नयाँ सामग्रीको खोजीका लागि प्रेरित हुन्छन्।
बालबालिका, युवा र महिला पनि मूल विषय
आधुनिक सूचना र प्रविधिले मानिसको जनजीविकामा ल्याउने परिवर्तन अकल्पनीय हुन्छ। यस्तो अकल्पनीय परिवर्तनको संवाहक भनेको सञ्चारका विभिन्न सामग्री नै हो, जसको उत्पादन र विज्ञापन गर्न लेखकलगायत सञ्चारकर्मीहरुले नयाँ र नौलो उपाय खोज्नुपर्छ।
अधिकांश स्थापित मिडियाले समेट्न नसकेको बालबालिका, युवा र महिलाहरुलाई सक्रिय उपभोक्ता बनाउन जरुरी छ। बालबालिका, युवा र महिला परिवर्तनका संवाहक हुन् । समाजलाई परिवर्तनको संघारमा पुर्याउन उनीहरुको महत्वपूर्ण भूमिका हुन्छ।
पहिलेका उपभोक्तालाई सूचना र मनोरञ्जन दिए पुग्थ्यो भने अहिलेका उपभोक्तालाई त्यतिले पुग्दैन। उनीहरुको आधारभूत आवश्यकता के हो र कस्ता सामग्रीले उपभोक्ता सक्रिय हुन्छन् भन्ने बुझ्न जरुरी छ। आफूले दिएका सामग्रीले उनीहरुको जनजीविकामा कस्तो प्रभाव पर्छ भनेर सञ्चारगृहहरुले सोच्न जरुरी छ।
विशेषगरी अधिकांश स्थापित मिडियाले समेट्न नसकेको बालबालिका, युवा र महिलाहरुलाई सक्रिय उपभोक्ता बनाउन जरुरी छ। बालबालिका, युवा र महिला परिवर्तनका संवाहक हुन्। समाजलाई परिवर्तनको संघारमा पुर्याउन उनीहरुको महत्वपूर्ण भूमिका हुन्छ।
बालबालिका, युवा र महिलाको रुचिलाई सर्वोपरि राखी सामग्री उत्पादन गर्ने हो भने उपभोक्ताहरु सक्रिय मात्र हुँदैनन्, जनजीविकामा मिडियाले पार्ने प्रभावले जीवनशैली नै फेरिन्छ। त्यसैले अबको मिडियाले उपभोक्तालाई सूचना र जानकारी मात्र हैन उनीहरुको जीवनस्तर बदल्न सक्ने सामग्री उत्पादन गर्न जरुरी छ।
स्थापित सञ्चार गृहहरुले उत्पादन गरेको सामग्री कतिको उपयोगी छ र यसले उपभोक्ताको दैनिकी र जीवनशैलीमा कतिको प्रभाव पार्छ भन्ने विषयमा संवेदनशील नहुँदाको परिणाम मोबाइलधारी उपभोक्ताहरु सामाजिक सञ्जालमा घन्टौं समय बिताउन थालेका छन्। पछिल्लो समय यस्ता उपभोक्ताको रुचिलाई ध्यानमा राखी केही युट्युबरहरुले सञ्चार सामग्री उत्पादन थालेको देखिन्छ। बहुसंख्यक उपभोक्ताहरुले अझै पनि आफूलाई सक्रिय उपभोक्ता बनाउन सकेको देखिंदैन।
यसो हुनुमा फेरि पनि सक्रिय उपभोक्ता बनाउन चाहिने सामग्रीको अभाव नै हो। त्यसैले उपयोगी मिडियाले मात्र उपभोक्तालाई सक्रिय बनाउन सक्छ भन्ने गाँठी कुरा सञ्चारमाध्यमहरुले बुझ्न जरुरी छ।