एल क्लासिकोमा बार्सामाथि रियलको दबदबा
स्पेनिस ला लिगामा शनिबार साँझ भएको चिरप्रतिद्वन्द्वी बार्सिलोना र रियल मड्रिडबीचको एल क्लासिको भिडन्तमा रियलले बाजी मारेको छ।
यो सिजनको पहिलो एल क्लासिकोमा रियलले बार्सामाथि ३-१ गोलको जित निकालेको हो। बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा रियलले फेड्रिको भाल्भार्डेको गोलमा ५ मिनेटमै अग्रता लिएको थियो।
करिम बेञ्जेमाको उत्कृष्ट पासमा भाल्भार्डेको गोलमार्फत् लिएको अग्रता भने धेरैबेर टिकेन। त्यसको तीन मिनेटमै यो सिजन बार्सिलोनाका सनसनी बनेका १७ वर्षे अंशु फातीले गोल गर्दै खेल बराबरीमा ल्याए।
६३ औं मिनेटमा रियलले पाएको पेनाल्टी खेलको टर्निंग प्वाइन्ट बन्यो। बार्साको डि बक्समा डिफेन्डर ल्यांग्लेटले रियलका कप्तान सर्जियो रामोसलाई लडाएपछि भिडिओ असिस्टेन्स रेफ्रीको सहयोगमा रेफ्रीले रियललाई पेनाल्टी दिएका थिए। कप्तान रामोसले त्यसलाई गोलमा परिणत गरे।
दोस्रो हाफमा सब्स्टिच्युटका रुपमा आएका लुका मोड्रिचले निर्धारित समयको अन्तिम मिनेटमा गोल गर्दै एल क्लासिको भिडन्तमा जित पक्का गरे। जितसँगै ६ खेलबाट १३ अंक जोडेको रियल अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। एक खेल कम खेलेको दोस्रो स्थानको एट्लेटिको मड्रिडको ११ अंक छ।
बार्सिलोना भने ७ अंक सहित १२ औं स्थानमा छ। बार्साले पनि पाँच खेल खेलेको छ।