नेकपा प्रवक्ताको टिप्पणी- प्रधानमन्त्रीको रअ प्रमुखसँग भेट कूटनीतिक मर्यादा विपरीत
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विंग (रअ) का प्रमुख सामन्तकुमार गोयलले गरेको भेट कूटनीतिक मर्यादा विपरीत गतिविधि भएको टिप्पणी गरेका छन्।
श्रेष्ठले आइतबार ट्वीट गर्दै यस्तो टिप्पणी गरेका हुन्। उनले विमान चार्टर्ड गरेर नेपाल आएका गोयलले प्रधानमन्त्रीसँग वार्ता गरेर फर्केको, तर प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको संस्थागत जानकारी र उपस्थितिबेगर यो भेट गरेको बताएका छन्।
“हाम्रो पार्टीलाई यसबारेमा कुनै पूर्वजानकारी थिएन र पछि पनि पार्टीमा यसबारेमा कुनै संस्थागत एवं औपचारिक छलफल भएको छैन”, श्रेष्ठले ट्वीटमा उल्लेख गरेका छन्। यसलाई उनले आफ्नो निजी विचार भएको उल्लेख गरेका छन्।
श्रेष्ठले लेखेका छन्, “नेपालको राजनीतिक एवं कूटनीतिक इतिहासमा यस प्रकृतिको यो पहिलो घटना हो, देशको प्रधानमन्त्रीले विना कुनै निर्धारित कार्यसूची विदेशी गुप्तचर संस्थाको अधिकारीसँग कुटनीतिक मर्यादा विपरीत समकक्षी झैं औपचारिक वार्ता गरेको।”
उनले विदेशी गुप्तचर अधिकारीसँग प्रमको कुटनीतिक मूल्य र आचारसंहिता विपरीतको यस्तो भेटमै प्रश्न उठाउँदै यस प्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा, राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्ने बताएका छन्।