महामारीमा फेरिंदैछ दशैं मनाउने शैली, संस्कृतिविद् भन्छन्– अनलाइन टीका लगाऔं
कोरोनाभाइरस संक्रमणबाट जोगिन भौतिक दूरी कायम गर्नुपर्ने स्वास्थ्य मापदण्डका कारण यो वर्षको दशैं फरक हुने भएको छ। पारिवारिक जमघट सीमित हुनेछ। आफन्तजनको भेटघाट रोकिनेछ।
कलाकार हरिवंश आचार्य आफन्तकहाँ टीका थाप्न नजाने भएका छन्। आफ्नोमा पनि नआउन उनले आग्रह गरेका छन्। आचार्य दम्पतीलाई नै कोरोनाभाइरस संक्रमण भएको थियो। तर, पुनः जाँचमा रिपोर्ट नेगेटिभ आइसकेको छ।
आचार्य दम्पती अहिले घरमा नै आराम गरिरहेका छन्। उनले हिमालखबरसँग भने “यो वर्ष दुई दिदीहरु र श्रीमतीको आमाबुवासँग मात्रै टीका लगाउने योजना छ।”
उनले केही समयअघि संचारमाध्यममा यो वर्षको दशैंमा टीका थाप्न नजाने र आफ्नोमा पनि नआउन आग्रह गर्ने सोच बनाएको बताएका थिए। उक्त अन्तर्वार्ता हेरेका धेरै आफन्तले उनलाई नआउने जानकारी गराइसकेका छन्। दशैंमा हुने जमघटले कोरोना संक्रमण फैलन सक्ने जोखिम भएकाले सचेत हुनैपर्ने उनी बताउँछन्।
उता ललितपुर सातदोबाटोकी शान्ता अधिकारी केही दिनअघि मात्र कोरोनाभाइरस संक्रमणमुक्त भइन्। त्यसैले यो वर्ष टीका लगाउन कतै नजाने योजनामा छिन्। आफन्तलाई पनि नआउन आग्रह गरिसकेकी छिन्।
उनका ७० वर्षमाथि उमेरका सासूससुरा छुट्टै घरमा बस्छन्। त्यहाँ पनि जाने कि नजाने दोधारमा छिन्। उनी भन्छिन्, “हुन त रिपोर्ट नेगेटिभ आयो। तर, पनि सासूससुरा वृद्ध हुनुहुन्छ। त्यहाँ भीडभाड गर्नुहुँदैन। त्यसैले दोधारमा छौं।”
यसअघि ज्येष्ठ नागरिक भएका घरमा विजया दशमी र त्यसपछि पनि केही दिन टीका तथा आशीर्वाद थाप्नेको भीड लाग्थ्यो। तर, यो वर्ष त्यस्ता घरमा आफन्तलाई नआउन आग्रह गर्न थालिएको छ। त्यसकारण दशैंमा ठूलाबडाको हातबाट टीका तथा आशीर्वाद लिने चलनमा कोरोनाभाइरस महामारीले परिवर्तन गरिदिने भएको छ।
महामारीकै कारण गृह जिल्लाभन्दा बाहिर भएकाहरु धेरैले यो वर्षको दशैं यथास्थानमा मनाउने सामाजिक संजालमार्फत सार्वजनिक गरिरहेका छन्। त्यस्तै कतिपयले आफन्त कहाँ टीका लगाउन नजाने र आफ्नोमा पनि नआउन आग्रह गरेका स्टेटस लेखिरहेका छन्।
महामारीकै कारण गृह जिल्लाभन्दा बाहिर भएकाहरु धेरैले यो वर्षको दशैं यथास्थानमा मनाउने सामाजिक संजाल मार्फत सार्वजनिक गरिरहेका छन्। त्यस्तै कतिपयले आफन्त कहाँ टीका लगाउन नजाने र आफ्नोमा पनि नआउन आग्रह गरेका स्टेटस लेखिरहेका छन्।
दाङ घर भई हाल ललितपुरको एक होस्टलमा बस्दै आएकी विमला चौधरी कोरोना महामारीको कारण यो वर्ष दशैंमा घर गइनन्। घरमा वृद्ध आमा र बालबालिका भएकाले जोखिम मोल्न नचाहेको उनी बताउँछिन्। “संक्रमणमुक्त भएकी छु। तर, सार्वजनिक यातायातबाट जानुपर्ने भएकाले फेरि संक्रमित होइने जोखिमले गइनँ”, उनी भन्छिन्।
संस्कृतिविद् गोविन्द टन्डन कोरोनाभाइरस महामारीले दशैं मनाउने शैलीमा परिवर्तन आएको बताउँछन्। अत्याधुनिक प्रविधि प्रयोग गरेर फोन, अनलाइन, भिडियो कलबाट टीका तथा आशीर्वाद दिन/लिन उनी अनुरोध गर्छन्।
समयअनुसार संस्कृति परिमार्जन हुँदै जानुपर्ने उनको भनाइ छ। महामारीबाट सिर्जित अवस्थामा कतिपय विकृतिहरु परिमार्जित भएर जाने उनी बताउँछन्। “पूजाको नाममा पशुबलि दिने कार्य पनि यो वर्ष रोकिएको छ। सामान्य समयमा पशुबलि दिइने देशभरका करीब दुई हजार ४०० मन्दिर बन्द छन्। अब यसरी नै पशुबलि दिइन कम हुँदै जान्छ”, उनी भन्छन्।
परिवार र समाजलाई नै जोखिम हुने किसिमले परम्परा धान्नको लागि मात्र धुमधाम दशैं मनाउन नहुने उनको तर्क छ। विकृति हटाउँदै जाँदा दशैंको महत्व कम नहुने उनी बताउँछन्। “कुनै पनि चाड हिजो जस्तो आज छैन, आज जस्तो भोलि हुँदैन”, संस्कृतिविद् टन्डन भन्छन्, “सांस्कृतिक तथा धार्मिक हिसाबले मात्र भन्दा पनि बहुआयामिक रुपले चाडबाड मनाउनुपर्छ।”
महामारी चलिरहेकाले दशैंको खानपानमा विशेष ध्यान दिनुनपर्ने जनस्वास्थ्यविद् डा. शरद वन्त बताउँछन्। उनी भन्छन्, “सामान्य समयमा जसरी नै ताजा खानेकुरा खानुपर्छ। चाडमा धेरै पकाउने र बाँकी रहेको खानेकुरा राखेर खाने बानी त्याग्नुपर्छ। चिल्लो कम खानुपर्छ।”
कोरोना संक्रमितले भने सामान्य व्यक्तिको तुलनामा विशेष ध्यान दिनुपर्छ। संक्रमितले खानेकुरा खाँदा निश्चित नियम अपनाउनुपर्ने उनको भनाइ छ। विशेष गरी पाचन प्रणालीमा सहज हुने किसिमको खाना खानुपर्छ। प्रोटिनयुक्त खाना बेला बेला खाइरहनुपर्छ भने भुटे वा तारेको खानुहुँदैन। उनी भन्छन्, “कोरोना संक्रमितले पौष्टिक आहार मिलाएर खानुपर्छ। खानै नहुने पनि केही छैन तर, मदिरा चाहिं पिउनै हुन्न।”