रौतहटका केही स्थानीय तहको कोरोना-खर्च अस्वाभाविक
गत आर्थिक वर्ष २०७६/७७ कोभिड-१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा रौतहटका केही स्थानीय तहले गरेको खर्च अस्वाभाविक देखिएको छ।
जिल्ला प्रशासन कार्यालय रौतहटले जिल्लाका १८ स्थानीय तहमध्ये नौ नगरपालिकाको खर्च विवरण सार्वजनिक गर्दा दुई नगरपालिकाको खर्च निकै बढी देखिएको हो।
जिल्लाका सबै स्थानीय तहलाई गत आर्थिक वर्षको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा गरिएको खर्च विवरण जिल्ला कोभडि-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मा पठाउन भनिएकोमा विवरण पठाएकामध्ये सबैभन्दा कम खर्च गौर र मौलापुर नगरपालिकाले गरेको देखिएको छ। गौर नगरपालिकाले रु.८९ लाख ७१ हजार ८४९ र मौलापुरले रु.१ करोड ८ लाख ३१ हजार ७९८ हजार खर्च गरेको छ।
सबैभन्दा बढी खर्च राजपुर र गुजरा नगरपालिकाले गरेका छन्। राजपुरले रु.५ करोड ६१ लाख १५ हजार ७४३ र गुजराले ५ करोड २४ लाख १७ हजार २४६ खर्च गरेको देखिएको छ।
राजपुर नगरपालिकामा क्वारेन्टिनमा हजारौं मानिस बसेको र क्वारेन्टिन व्यवस्थापनमा निकै जटिलता देखिएको हुनाले खर्च स्वाभाविक भएको बताइएको छ।
मौलापुर नगरपालिकाले सबै किसानलाई राहतस्वरुप धानको बीउ र विपन्नलाई दुई पटक चामलसहितको विभिन्न राहत प्याकेज वितरण गरेको थियो। अन्य केही नगरपालिकाको खर्च अस्वाभाविक देखिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ।
जिल्लाका वृन्दावन, फतुवा विजयपुर, गढीमाई, बौद्धिमाई, ईशनाथ, देवाहीगोनाही, गरुडा नगरपालिका तथा यमुनामाई र दुर्गाभगवती गाउँपालिकाले भने डीसीसीएमसीमा खर्च विवरण बुझाउन बाँकी छ।