काठमाडौं उपत्यकामा थपिए १११० जना कोरोना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ११० जनामा कोरोनाभाइरस संक्रमण भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १३ हजार ८४६ जनाको पीसीआर परीक्षण गरिएकोमा २ हजार २२५ जनामा संक्रमण पुष्टि भएको हो।
काठमाडौंमा शनिबार थपिएका १११० जना संक्रमितमध्ये ६८१ जना पुरुष र ४२९ महिला छन्।
शनिबार थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या एक लाख ५५ हजार २३३ पुगेको छ। जसमध्ये सक्रिय संक्रमितको संख्या भने ४६ हजार ५७ छ।
काठमाडौं उपत्यकामा सक्रिय संक्रमित २४ हजार ७०९ जना छन्। जसमध्ये काठमाडौं जिल्लामा मात्रै २० हजार ७२२ जना छन् भने ललितपुरमा २ हजार ५३३ र भक्तपुरमा एक हजार ४५४ जना सक्रिय संक्रमित छन्। संक्रमितमध्ये होम आइसोलेसनमा बस्नेको संख्या काठमाडौं जिल्लामा १० हजार ५०१ छ भने ललितपुरमा २ हजार ६६४ र भक्तपुरमा एक हजार ७१९ जना होम आइसोलेसनमा छन्।
शनिबार २ हजार ८४६ जना संक्रमित निको भएका छन् भने पछिल्लो २४ घण्टामा संक्रमणबाट १३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
यो सँगै हालसम्म कुल संक्रमितमध्ये एक लाख ८ हजार ३३४ जना संक्रमणमुक्त भइसकेका छन् भने संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८४२ पुगेको छ।