२२२५ जनामा कोरोना संक्रमण पुष्टि, १३ संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा देशभर २ हजार २२५ जना कोरोनाभाइरस संक्रमित भेटिएका छन्।
शनिबार देशभरका प्रयोगशालामा १३ हजार ८४६ जनाको पीसीआर परीक्षण गरिएकोमा काठमाडौं उपत्यकामा १ हजार ११० जनासहित २ हजार २२५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या एक लाख ५५ हजार २३३ पुगेको छ। जसमध्ये सक्रिय संक्रमितको संख्या भने ४६ हजार ५७ छ। यी संक्रमितमध्ये ३२ हजार ८७३ जना होम आइसोलेसनमा छन्। यस्तै, ३०७ जनाको सघन उपचार कक्ष (आईसीयू) र ७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कुल संक्रमितमध्ये हालसम्म एक लाख ८ हजार ३३४ जना संक्रमणमुक्त भइसकेका छन् भने ८४२ जनाको मृत्यु भएको छ। शनिबार २ हजार ८४६ जना संक्रमित निको भएका छन्।
यस्तै, पछिल्लो २४ घण्टामा संक्रमणबाट १३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।