नवीन सुब्बाको सिफारिश: संघर्षमा ऊर्जा भर्ने चार फिल्म
लिम्बू समुदायको संस्कृति र परम्पराबारे बनेको ‘नुमाफुङ’ (सन् २००४) मौलिक फिल्म मानिन्छ। दर्शक तथा समीक्षकले यो फिल्मको अझै पनि चर्चा गरिरहन्छन्। यसका निर्देशक हुन्, नवीन सुब्बा।
फिल्ममा मौलिक कथा वाचनका पक्षपाती रहेका सुब्बा भूगोल, संस्कृति र स्थानीय जनजीवनका कुरा नेपाली फिल्ममा आउन नसकेको औंल्याइरहन्छन्। नेपाली फिल्मलाई आलोचनात्मक रुपमा नहेरिएको बताउने उनी मौलिक कथा पस्किन धेरै काम गर्नुपर्ने सुझाव दिन्छन्।
निर्देशक सुब्बाले यो कोरोना कहरका बीच पर्ने दशैंको फुर्सदमा हेर्न सकिने चार फिल्म सिफारिश गरेका छन्। यी चार वटै फिल्ममा समस्याबाट छुटकारा पाउन पात्रहरूले निकै संघर्ष गरेका छन्। अहिले कोरोनाभाइरस संक्रमण महामारीबाट बच्न विश्व नै संघर्षरत रहेको अवस्थामा यी फिल्म पुराना भएर पनि सान्दर्भिक रहेको उनको भनाइ छ।
उनका अनुसार, कोही संक्रमित भएर परिवार, आफन्तबाट टाढा बस्नुपरेको छ भने यी फिल्म हेरेर मनोरञ्जन मात्रै मिल्दैन, पात्रहरुले गरेको संघर्षले भाइरससँग लड्ने आत्मबल पनि दिन्छ।
यस्ता छन् निर्देशक सुब्बाका सिफारिशका फिल्मः
इकिरु (सन् १९५२)
जापानी ड्रामा फिल्म हो, इकिरु। फिल्ममा समाजका लागि केही गरौं भन्ने भावना भएका एक अधवैंशे पात्र छन्, जसलाई क्यान्सर लागेको हुन्छ। क्यान्सरबाट बच्न पात्रले गरेको संघर्षलाई फिल्मले मुख्य विषयवस्तु बनाएको छ। क्यान्सरलाई त्यहाँको कर्मचारीतन्त्रको प्रतिविम्बको रुपमा प्रस्तुत गरिएको छ।
थ्री कलर्स ब्लू (सन् १९९३)
थ्री कलर्स ब्लू स्वतन्त्रताको विषयमा बनाइएको फ्रान्सेली फिल्म हो। फ्रान्सको झण्डामा रातो, सेतो र नीलो तीन रङ छन्, जसलाई स्वतन्त्रता, समानता र भ्रातृत्वको प्रतीक मानिन्छ। फिल्मले कार दुर्घटनामा श्रीमान् र बच्चा गुमाएकी एक महिलाको संघर्षलाई मुख्य विषय बनाएको छ। पति र पुत्रशोकमा रहेकी उनले त्यो शोकबाट बाहिर निस्कन गरेको संघर्ष नै फिल्मको कथावस्तु हो।
लाइफ इज ब्यूटीफुल (सन् १९९७)
इटालीको यो फिल्म रोमान्टिक कमेडी जनरामा बनेको छ। रोबर्टो जेमिनीको निर्देशनमा बनेको फिल्ममा दोस्रो विश्वयुद्घ ताकाको कथा छ। मुख्य पात्रले आफ्नो छोरालाई युद्घको त्रासबाट बचाउन गरेको संघर्षलाई मुख्य कथावस्तु बनाइएको छ। फिल्मले हँसाउँदै निराशाबीच जीवनको सुन्दर पक्ष खोजेर बाँच्न प्रेरणा दिन्छ।
नट वान लेस (सन् १९९९)
यो चिनियाँ ड्रामा फिल्म हो। चीनको दुर्गम गाउँको एक विद्यालयमा पढाउने शिक्षक कामविशेषले शहर जान्छन्। उनी नफर्कुन्जेल उनको ठाउँमा पढाउन अर्को शिक्षिका राखिन्छ। शहर जाने शिक्षकले ती शिक्षिकालाई आफू फर्किंदा एक जना पनि विद्यार्थी घट्न नहुने भन्दै सजग गराएका हुन्छन्। तर, त्यसै बीचमा एक विद्यार्थी विद्यालय छोडेर शहर जान्छन्। ती विद्यार्थीलाई फर्काउन शिक्षिकाले गरेको संघर्षको कथालाई फिल्मले समेटेको छ।
प्रस्तुति: नुनुता राई