पहिलो कोरोनाभाइरस संक्रमण भेटिएसँगै खुम्बुक्षेत्रमा अनिश्चितकालका लागि प्रवेश निषेध
नाम्चेबजारमा कोभिड–१९ को पहिलो संक्रमित भेटिएसँगै खुम्बु पासाङल्हामु गाउँपालिकाले शनिबारदेखि खुम्बु क्षेत्र प्रवेशमा अनिश्चितकालिन बन्द गर्ने निर्णय गरेको छ।
गाउँपालिकाले एक सूचना जारी गर्दै कोभिड–१९ संक्रमण देखिएसँगै गाउँपालिका क्षेत्रमा अनिश्चितकालिन यात्रु प्रवेशमा निषेध गरिएका कारण यस क्षेत्रमा यात्रु नल्याउन हेलिकोप्टर कम्पनीहरुलाई पनि आग्रह गरिएको छ ।
यसअघि कोभिड–१९ संक्रमणमुक्त ठानिएको खुम्बु क्षेत्रमा सयौंका संख्यामा आन्तरिक पर्यटकहरु आउन थालेका थिए । बहराइनका राजपरिवारका सदस्यहरुले त लोबुचे हिमाल आरोहण समेत गरेका थिए ।
कोरोनाभाइरस देखिएका खुम्बु पासाङल्हामु गाउँपालिका–१ नाम्चेका ६५ वर्षीय पुरुष दुईसाताअघि मात्र काठमाडौंबाट फर्केका थिए । दमका रोगी उनलाई काठमाडौंबाट आउँदा कोरोनाभाइरस नेगेटिभ रिपोर्ट देखिएको थियो ।
“संक्रमितलाई हिजै हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं लगिएको छ”, वडाध्यक्ष छिरिङ पेञ्जा शेर्पाले भने ।
पहिलो कोरोनाभाइरस संक्रमण देखिएसँग स्वास्थ्यकर्मीको टोली शुक्रबार नै नाम्चे आइपुगेको छ । पेञ्जोका अनुसार यहाँ करिब चार सय जनाको स्वाब परीक्षण गरिनेछ ।
उनका अनुसार छिमेकी खुम्जुङ र खुन्देका वासिन्दा पनि स्वाब परीक्षणका लागि आउने भएका छन् । ‘धेरैमा रुघाखोकी देखिएको छ, यो मौसम परिवर्तनको कारण पनि हुनसक्छ”, उनले भने ।
अचानक खुम्बु क्षेत्र निषेधको काठमाडौं आइसकेको बेलायती आरोहण टोली अन्योलमा परेको छ । हाल एक साताको क्वारेन्टिनमा बसिरहेको यो टोलीले आमादब्लम आरोहण गर्ने कार्यक्रम थियो । यही सिजनमा कतारका शेख र अर्को अमेरिकी टोलीले पनि खुम्बु क्षेत्रका हिमाल आरोहण गर्ने तय भएको थियो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराई तत्काल सबैको कोरोनाभाइरस परीक्षण गर्ने र त्यसपछि मात्र प्रवेशको निर्णय गर्न सकिने बताउँछन् । “गाउँ सुरक्षित देखिए मात्र पर्यटकका बारेमा सोच्ने हो, अहिले हाम्रो ध्यान कोरोनाभाइरसबाट गाउँ कति सुरक्षित छ भन्ने बारे थाहा पाउनु हो”, उनी भन्छन् ।
खुम्बु क्षेत्र कोभिड–१९ मुक्त भएको प्रचारसँगै हेलिकोप्टर कम्पनीहरुले १४ हजार रुपैंयामा काठमाडौं–लुक्ला उडानको प्याकेज सञ्चालन गरेका थिए । प्याकेजसहितको सस्तो ट्रेकिङ र होटल व्यवस्थाका कारण पछिल्लो महीना थुप्रै आन्तरिक पर्यटक खुम्बुक्षेत्र पुगेका थिए ।
“के ति हवाइजहाज कम्पनीले सबै यात्रुको पिसीआर रिपोर्ट चेक गरेका थिए ? यति सस्तोमा स्वास्थ्यका सबै मापदण्ड पूरा गरेर यात्रु ल्याउन सकिन्छ ?”, नाम्चेका एक स्थानीय भन्छन्, “अहिले गाउँमा कोरोनाभाइरस देखिएको छ, यो कसको लापरवाही हो ? जिम्मा कसले लिन्छ ?”