इन्द्रबहादुर राईः के हुन् के होइनन्?
सिर्जनशीलता र प्राज्ञिकतालाई मिलन गराउने क्षमता रहेका इन्द्रबहादुर राईको साहित्यमा पूर्वीय मन र पश्चिमी मस्तिष्कको अन्तरघुलन भेटिन्छ।
साहित्यकार इन्द्रबहादुर (आईबी) राई (१७ माघ १९८४–२२ फागुन २०७४) को साहित्यिक जीवनमा विरोधाभास देखिन्छ। एकथरी नेपालीहरु उनलाई पश्चिमी सिद्धान्त र प्रविधिमा लेख्ने लेखक मान्छन्, अर्काथरी भने प्रवासी जनजीवन (विशेष गरेर दार्जीलिङ) लाई वैश्विक लेप दिएर चित्रण गर्ने लेखक भन्छन्। यो विपरीत हेराइ प्रसिद्ध बंगाली चलचित्रकार सत्यजीत रेको सन्दर्भको पनि मेल खान्छ। उनलाई भारतीयहरू पश्चिमी चलचित्रकार मान्थे भने पश्चिमाहरु भारतीय चलचित्रकार।
आईबी राई सरल लेखक होइनन्। कथा, उपन्यास, समालोचना, निबन्ध र पत्रपत्रिकामा टिप्पणीहरु लेखेका राईको साहित्यिक यात्रा तीन चरणमा बाँडिएको छ। पहिलो यथार्थवादी, दोस्रो आयामेली र तेस्रो लीला लेखनवादी।
अंग्रेजी साहित्यमा एमए गरेका राईलाई पश्चिमेली चिन्तन परम्परा, शैली र विधिसँग अभ्यस्त हुन मद्दत पुगेको देखिन्छ। दार्जीलिङको परिवेशमा रहेर जीवनभर साहित्य सिर्जना गरेका उनले पूर्वीय विशेष गरेर बौद्ध, जैन, हिन्दु, चीनको ताओ र जापानको जेनबौद्ध परम्पराबाट आफूले लीला लेखन तयार गरेको बताएका छन्। यसर्थ उनको साहित्यमा पूर्वीय मन र पश्चिमी मस्तिष्क सक्रिय रहेको भन्न सकिन्छ।
राईले तेस्रो आयाम साहित्यिक आन्दोलन मार्फत नेपाली साहित्यको आधुनिकीकरणमा महत्त्वपूर्ण योगदान दिएका छन्। तेस्रो आयाम सन् १९६० को दशकमा दार्जीलिङमा शुरु हुँदा उनलाई वैरागी काइँला र ईश्वर बल्लभले साथ दिएका थिए। यो आन्दोलनका क्रममा काइँला र बल्लभले कविता क्षेत्रमा विशेष योगदान दिए। राई भने चिन्तन विधि मार्फत समालोचना र अन्य वैचारिक पाटोमा जोड दिए।
तेस्रो आयाम विशेष गरेर भावुक र सतही नेपाली साहित्यको विरुद्ध शुरु गरिएको थियो। यो बुद्धिवादी आन्दोलनमा चित्रकला, मनोविज्ञान, भौतिक विज्ञान, दर्शन र मिथकीय चिन्तनको समिश्रण थियो। जीवनको लम्बाइ र चौडाइ होइन, गहिराइलाई लेख्ने दाबी गरिएको आयामिक आन्दोलनले मान्छेको सम्पूर्णतालाई समात्ने घोषणा गरियो। अन्ततः यसले त्यसपछिका दशकहरुमा नेपाली साहित्य जगतमा राम्रो प्रभाव देखायो। त्यो बेलाको आधुनिक कविता लेखनमा यसको छाप देखिन्छ।
जीवन देखिए जस्तो मात्र नहुने लागेर राई आयामिक बने। आयाममा वस्तुता अगोचर हो भन्ने जर्मन दार्शनिक इमानुएल कान्टको भनाइमा आधारित भएर उनले कथा लेखेका छन्। उनी यी कथाहरुमा धर्म, विज्ञान, चित्रकला र विचित्रको भाषा प्रयोग गर्छन्।
आयामिक लेखनपछि राईले बुद्धिमा त्यति भरोसा गर्न नसकेपछि २०३४ सालमा ‘रुपरेखा’ पत्रिका मार्फत लीला लेखनको घोषणा गरे। लीला लेखन मार्फत राईले साहित्यलाई अध्यात्मिकीकरण, मनोवैज्ञानिकीकरण र झन् रहस्यमय बनाए। त्यो कुरो पूर्वीय चिन्तनमा पहिलेदेखि नै थियो। तर, पछि गएर दोस्रो विश्वयुद्धताका विकसित भएको प्रमात्रा भौतिकीसँग राईले त्यसको मेल भएको ठम्याए। यी दुवै कुराको बलमा उनले आदि शंकराचार्यको लीला अवधारणालाई विभिन्न साहित्य सिद्धान्त र दर्शनले पुष्टि गर्न थाले।
लीला लेखन पूर्व र पश्चिमको फ्युजन थियो। यसमा राईले आफ्नो लेखकीय आत्माको बोध गर्न थाले। प्रसिद्ध अमेरिकी अध्यात्म वैज्ञानिक केन विल्वरले जीवन र जगतलाई बुझ्न मानिससँग तीन वटा आँखा भएको बताएका छन्। पहिलो आँखा भौतिक, दोस्रो मस्तिष्क र तेस्रो ध्यानस्थ आँखाहरु छन्। राईमा ध्यानस्थ आँखा प्रबल देखिन्छ।
राईको निधन भएको करीब तीन वर्ष पुग्न लागेको छ। यसै क्रममा उनको स्मृतिमा इन्द्राख्यानः स्मृति विम्बमा इन्द्रबहादुर राई नामक ८८८ पेजको ग्रन्थ रत्नमणि नेपालको सम्पादनमा प्रकाशन भएको छ। यस ग्रन्थमा विभिन्न खण्डमा राईको लेखन, चिन्तन र जीवनमाथि करीब ९० जनाका लेखहरु र राईकै प्रतिनिधि रचनाहरु छापिएका छन्।
यहाँ ‘इन्द्राख्यान’ ग्रन्थको सेरोफेरोमा रहेर राईको साहित्यिक बोधको चर्चा गरिनेछ।
कथाकार र उपन्यासकार राई
राईको पहिलो कथासंग्रह सन् १९६१ मा ‘विपना कतिपय’ प्रकाशित भएको थियो भने त्यसपछि कथास्था (१९६२) र ‘कठपुतलीको मन’ (१९२९) प्रकाशित छ।
फ्रान्सेली साहित्यकार समरसेट ममको कथासंग्रह पढेपछि कथा लेख्न थालेका राईको पहिलो चरणका कथाहरु सामाजिक यथार्थवादी छन्, जसमा जनजीवनको चित्र सर्लक्कै उतारिएको छ। ‘चपरासी’ र ‘रातभरि हुरी चल्यो’ जस्ता कथाहरूमा दार्जीलिङको निम्न वर्गको मनोविज्ञान, सामाजिकता र जिउनुलाई उनले उत्खनन गरेका छन्।
‘जयमाया आफू मात्र लिखापानी आइपुगी’ कथामा राईले वर्माबाट युद्धका कारण भागेका प्रवासी नेपालीहरुको जीवन संघर्षलाई उतारेका छन्। आफूले चाहेजस्तो जीवन नहुने विसंगतिलाई राई कथामा अभिव्यक्त गरेका छन्।
दोस्रो कथासंग्रह ‘कथास्था’मा आयामेली चिन्तनप्रधान कथाहरु छन। सम्पूर्ण जीवनलाई लेख्ने उनले नमिलेको जीवनलाई ‘खीर’ कथामा उतारेका छन्। परम्परामाथिको प्रश्नमा ‘एउटा विचारको यात्रा पथ’ र सामान्य वस्तुमा अल्झेको मनोविज्ञानमा ‘काजु, बदाम छोरा’ जस्ता कथाहरु लेखेका छन्।
जीवन देखिए जस्तो मात्र नहुने लागेर राई आयामिक बने। आयाममा वस्तुता अगोचर हो भन्ने जर्मन दार्शनिक इमानुएल कान्टको भनाइमा आधारित भएर उनले कथा लेखेका छन्। उनी यी कथाहरुमा धर्म, विज्ञान, चित्रकला र विचित्रको भाषा प्रयोग गर्छन्। मान्छेको मन उनको खोजको विषय हो। मान्छेको विषयमा राई भन्छन् “ऊ दुई नाङ्ला आँखा एक चिम्टी गिदी, दुई चिम्टे खुट्टाको व्यक्ति बनेको छ।” मान्छेले सोचेको भोगेको र अनुभूति गरेको यही जीवनमा लीला देखे।
‘कठपुतलीको मन’ कथासंग्रहमा सबैभन्दा चर्चित शीर्षकथा नै हो, जुन गुरुप्रसाद मैनालीको लोग्ने–स्वास्नीको झगडामा आधारित कथा ‘परालको आगो’ को विनिर्माण हो। परालको आगोलाई मिथक मानेका उनले फ्रान्सेली चिन्तक ज्याक डेरिडाको विनिर्माणवादी विधि मार्फत कथाको संरचना तयार गरेका छन्। यस कथामा उपन्यास, समालोचना, कविता र दर्शनको तत्वहरु पाइन्छन्।
आईबी राईको जस्तो भाषाको पकड विरलै लेखकहरूमा पाइन्छ। उनको कथामा प्रयोग भएको शब्द शिल्पले नयाँ र अमूर्त अर्थ प्रदान गर्छन्। जस्तै, ‘तीतो करायो’, ‘तीतो दुख्यो’, ‘पहेलो क्षण’, ‘चिसो उज्यालो’, ‘गोलो उज्यालो’, ‘नीलो डाँडा’, ‘फुस्रो ध्वनि’, ‘बूढो डर’।
आधुनिक जीवनमा परालको आगो मिथकलाई विद्या भञ्जन गरी देखिएको साहित्यले उनलाई डेरिडीय बनायो। जीवनलाई बाँच्ने खेल ठानेका राई मान्छेका वैचारिकीहरु सबै भ्रम हुन् र यथार्थ वास्तवमा अगोचर छ भन्दै रहस्यमय बनाउँछन्। कठपुतलीको मन जस्तै नाच्ने पात्रहरुको चयन गरेर मानिसलाई जीवनको विचार र घटनाले छमछमी नचाइरहेको निष्कर्षमा पुग्छन्। यथार्थवादी उनी अब विनिर्माणवादी बन्न पुगे।
सन् १९६४ मा प्रकाशित उनको एकमात्र उपन्यास ‘आज रमिता छ’ नेपाली साहित्यमा कोसेढुङ्गा मानिन्छ। मञ्जुश्री थापाद्वारा अंग्रेजीमा अनुवाद समेत भएको यस उपन्यासलाई आञ्चलिक उपन्यास पनि भनिन्छ। भारतको स्वतन्त्रता संग्रामको कालखण्डको वरिपरि घुमेको उपन्यासमा दार्जीलिङ र त्यस वरिपरिका मानिसहरुको विडम्बनापूर्ण जीवनलाई रमितासँग जोडेका छन्।
भाषा आन्दोलन र राजनीतिमा राई
सन् १९०७ देखि नै दार्जीलिङलाई छुट्टै प्रशासनिक इकाइको माग राखी आन्दोलन उठेको हो। जुन आन्दोलनसँग राई पनि जोडिएका छन्। भारतीय नेपालीहरूको अस्मिताका लागि लड्ने उनी प्रारम्भिक कालमा कांग्रेस आई पार्टीसँग पनि जोडिएका थिए। सन् १९८० मा उनले प्रान्त परिषद् नामको राजनीतिक दल गठन गरेका थिए भने दार्जीलिङ नगरको उपाध्यक्ष समेत भएका थिए।
नेपाली भाषाप्रति उनको समर्पण कस्तो थियो भने, आफूले पाएको भारतीय साहित्य एकेडेमी पुरस्कार उनले भारतीय प्रधानमन्त्री मुरारजी देसाईले नेपाली भाषालाई विदेशी भाषा भनेपछि फिर्ता गरेका थिए। भाषा आन्दोलनमा विभिन्न कालखण्डमा सरकारसँग वार्ता र पत्राचार गरेका उनी गोर्खा परिचयका लागि मरिमेट्ने राजनीतिक रूपमा सचेत प्राणी थिए।
पछि पी.वी. नरसिंहराव भारतका प्रधानमन्त्री बनेका बखत नेपाली भाषा भारतीय संविधानको आठौं अनुसूचीमा समावेश भयो। जसको नेतृत्व सिक्किमका तत्कालीन मुख्यमन्त्री नरबहादुर भण्डारीले गरेका थिए। यही भाषा आन्दोलनलाई उनको साहित्यिक लेखनले पनि सघायो। यही क्रममा उनले भारतीय नेपालीहरु रहेको विभिन्न स्थानमा भ्रमण पनि गरे।
जीवनका शुरूका दिनहरुमा इलामको करफोकमा शिक्षण पेशामा संलग्न राई पछिसम्म शिक्षण पेशामा रहे।
शब्दबोधमा राई
आईबी राईको साहित्यको गुण उनले प्रयोग गरेको भाषा पनि हो। उनी मूर्त र अमूर्त दुवै भाषाको प्रयोग गर्छन्। भाषा विज्ञानको क्षेत्रमा पनि उनले काम गरेका थिए। जसमा उनका लेखहरु ‘नेपाली भाषामा राजस्थानी साहित्य’, ‘भारतीय नेपाली भाषातिर’ र ‘लेखनमा ड र ढ’ जस्ता प्रमुख छन्।
राईको जस्तो भाषाको पकड विरलै लेखकहरूमा पाइन्छ। उनको कथामा प्रयोग भएको शब्द शिल्पले नयाँ र अमूर्त अर्थ प्रदान गर्छन्। जस्तै, ‘तीतो करायो’, ‘तीतो दुख्यो’, ‘पहेलो क्षण’, ‘चिसो उज्यालो’, ‘गोलो उज्यालो’, ‘नीलो डाँडा’, ‘फुस्रो ध्वनि’, ‘बूढो डर’।
दार्जीलिङको स्थानीय लवजलाई लेख्ने राईले चलचित्रको मोन्टाजलाई पनि आफ्ना कथाहरुमा प्रयोग गरेका छन्। चित्रकला र संगीतको ज्ञान भएका कारण परम्परागत पाठकहरुलाई राईको भाषाले अनौठोपनतिर लैजान्छ। राई भाषाका नवीन अन्वेषक हुन्, जसले पाठकलाई अमूर्तताको समेत बोध गराउँछ।
आत्मबोधमा राई
राईको आत्मबोधमा पूर्व र पश्चिमको समिश्रण पाइन्छ। बौद्धिक रुप उनको समालोचनाहरुबाट प्रष्ट हुन्छ। अध्यात्मिक रुपमा भन्नुपर्दा उनीलाई अज्ञेयवादी साहित्यकार पनि भन्न सकिन्छ। लीला लेखन चिन्तन र सिर्जनाको उँचाइ हो, जहाँ कमै पुगेका छन्।
उनी रूपवादी पनि हुन्। ‘झ्याल’ कथामा विषय छैन, रुपै रुप छ। साहित्य सौन्दर्यका हिसाबले राई कलैकला पनि लेख्छन्। उनका समालोचनामा पूर्वीय र पश्चिमी सौन्दर्यशास्त्रको तुलनात्मक अध्ययन पाइन्छ। विशेष गरेर उनी विनिर्माणवादीहरुसँग प्रभावित छन्। उनी विनिर्माणवादीहरुको चिन्तनलाई शताब्दीको बौद्ध दार्शनिक नागार्जुनसँग मिल्दोजुल्दो पाउँछन्।
राईको आत्मबोधमा पूर्व र पश्चिमको समिश्रण पाइन्छ। बौद्धिक रुप उनको समालोचनाहरुबाट प्रष्ट हुन्छ। अध्यात्मिक रुपमा भन्नुपर्दा उनीलाई अज्ञेयवादी साहित्यकार पनि भन्न सकिन्छ। लीला लेखन चिन्तन र सिर्जनाको उँचाइ हो, जहाँ कमै पुगेका छन्।
शंकराचार्यको अद्वैत वेदान्तको तत्व मीमांसाप्रति पनि उनी चाख राख्छन्। चिन्तन गर्ने क्रममा माक्र्सवादको सिद्धान्तसँग पनि साइनो गाँस्न पुग्छन्। मनोविज्ञानलाई पनि छाड्दैनन। यस्तो लाग्छ, उनको आत्मबोधले एक सार्वभौम साहित्यिक दर्शन तयार गर्न खोजेको देखिन्छ। उनले वैश्विक ज्ञानलाई स्थानीय र स्थानीय परिवेशलाई वैश्विक बनाए।
राईमा जीवनको रहस्य बुझ्ने उत्कट आकांक्षा छ। उनी बुद्धिबाटै जीवनलाई बुझ्न खोज्छन्। उनको मस्तिष्क जोगीको झोला जस्तो छ, जहाँ विभिन्न थरीका जीवनदर्शनरूपी चामल पाइन्छन्। नेपाली जीवनको साहित्य लेख्न उनले जुन अध्ययन गरे, त्यो अथाह छ। किनकि, बुद्धिले आजलाई बुझ्ने हो र भोलिको संकेत गर्ने हो। यसर्थ उनको साहित्यिक धरातल भविष्यमा आउने ज्ञानले कति सोच्ने हो कति भत्काउने हो, त्यो भने हेर्न बाँकी छ।
समालोचनाको क्षेत्रमा उनको बुद्धि पहिलो पल्ट लेखिएको ‘नेपाली उपन्यासका आधारहरू’ मा देखिएको हो। पछिबाट ‘साहित्यको अपहरण मार्क्सवादीक प्रतिबद्धता’, ‘अर्थहरुको पछिल्तिर’, ‘पृष्ठ पृष्ठ’ र ‘सम्पूरक’ मा देखिएकै हो। उनको व्यक्तित्वमा चिन्तन सिर्जनशीलता र अभियन्ताको गठजोड पाइन्छ।
नेपाल जस्तो पश्चिमसँग खासै अन्तरङ्ग नभएको जातिको लेखक भएर अध्ययन मार्फत पश्चिमी चेतना ल्याउनमा उनी सफल व्यक्तित्व हुन्। तर खट्किने कुरा के छ भने, भारतमै जन्मिएर हुर्किएर लेखक बनेका उनले भारतको आधुनिक बौद्धिकताको इतिहासबारे खासै लेखेनन्। उनी आधुनिक र उत्तरआधुनिक दुवै थिए। भारतीयहरुले १९औं शताब्दीबाट पश्चिमेली आधुनिकताको ज्ञान पाएका थिए। त्यो ज्ञान नेपाल आइपुग्न बीसौं शताब्दीसम्म नेपालले कुर्नुपर्यो। त्यसका संवाहक थिए, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम र बीपी कोइराला। त्यस्तै संवाहक पारिबाट इन्द्रबहादुर राई बने।
नेपाली रैथाने मानिसहरुका कथा उनले अन्य कलात्मकतासहित लेखे। राईको यो आत्मबोधले नेपाली साहित्यमा पछिसम्म प्रभाव पार्नेछ। आगामी पुस्तालाई उनी प्रेरणादायी बन्नेछन्। लीला लेखनका धेरै अभियन्ता तयार भैसकेका छन्।
प्रश्नमा लीला लेखन
‘इन्द्राख्यान’ मा एक भाग लीला लेखन र तेस्रो आयामलाई दिइएको छ। तेस्रो आयामका विचारहरु अपुरो लागेपछि लीला लेखन शुरु गरिएको थियो। तर, आज एक्काइसौं शताब्दीको दोस्रो दशक पूरा हुन लाग्दा लीला लेखनमा प्रश्न उभिएको छ र यसका सीमितताहरू छन्।
उत्तर मानव भाष्यका चिन्तक रोवर्ट पीपीरेल बीसौं शताब्दीको अन्त्यतिर लेखेको ‘दि पोष्ट ह्युमन कन्डिसन’ पुस्तकले कृषि युग र त्यसपछिको औद्योगिक युगका मान्यताहरूमाथि प्रश्न उठाउँदै अब मानव समाज उत्तरमानव युगमा प्रवेश गरेको घोषाणा गरेको थियो। यसले उत्तर आधुनिकतावादलाई समेत प्रश्न खडा गर्यो। पिपीरेलको त्यो घोषणले कृषि युगमा तयार भएको शंकराचार्य र नागार्जनको तत्वमीमांसा माथि स्वतः प्रश्न उठछ।
उत्तर मानववादले डेरिडा जस्ता उत्तर आधुनिकताका संवाहकहरुको विनिर्माण भन्दा गम्भीर चिन्तनहरु अगाडि सारेको छ। उत्तर मानववादले विशेष गरेर कृत्रिम बुद्धि, औषधि विज्ञान सूचना–प्रविधि र स्नायु विज्ञानमा आएको क्रान्तिलाई समेट्छ। मस्तिष्क कृत्रिम रुपमा बनाउन सकिन्छ, शरीरको जैविक रसायन परिवर्तन गर्न सकिन्छ, रोबोटले कविता लेख्न र संगीत सिर्जना गर्न सक्छ, मेशिनले मानिसको मनको कुरा थाहा पाउँछ आदि जस्ता आविष्कारले परम्परित चेतनामाथि प्रश्न उठ्छ।
यसले पारम्परिक रूपमा मानिसले गर्दै आएको सिर्जनशीलतामाथि प्रश्न उठाएकाले लीला लेखनको विधिमाथि प्रश्न उठाउँछ। तर, लीला लेखन र उत्तरमानव ज्ञानले जीवन र जगतलाई रहस्यकै रुपमा भने हेर्छन्। प्रविधिको आक्रमणबाट आज पारम्परिक शब्दको अस्तित्वमाथि प्रश्न उठेको छ। उत्तर मानवादले भन्छ, तत्व मीमांसीय प्रश्नहरूको उत्तर छैन। सबै प्रक्रियामा जति बुझ्यो त्यति अँध्यारो क्षितिजतर्फ लैजाने प्रवृत्ति निहित हुन्छ।
राईमा प्राज्ञिकता र सिर्जनशीलता दुवैलाई मिलन गराउने क्षमता थियो। दार्जीलिङलाई केन्द्रमा राखेर प्रवासी नेपाली जीवन मूल्यको अन्वेषण गर्ने जातीय बोधको प्रतीक हुन् उनी। यही जातीय बोध उनको नेपालीत्व त हो, तर उनी पूर्वीय चेतनाका संवाहक पनि थिए।
उत्तरमानव ज्ञानले मान्छे अमर हुने विधि आविष्कार हुने बताउँछ। अहिलेसम्मको साहित्य मान्छेको आयु हने विश्वासमा जन्मेको छ। मानव चेतनाको यो खेलवाडपछि हामीले अत्याधुनिक मान्दै आएको लीला लेखनको दार्शनिक धरातल संकुचित पार्छ। राई लीला लेखनमा प्रमात्रा भौतिकीसम्म त पुगेका छन्, तर अणुहरुको रहस्यमय चरित्रहरुलाई लिएर। उनले त्यसलाई साहित्यमा लेखेका छन्। उत्तरमानव सिद्धान्त ब्रह्माण्ड विज्ञानसम्म पुग्छ। यसरी साहित्यको चिन्तन क्षितिजलाई यसले सिर्जनशीलतामा प्रश्न उठाएर अझ फराकिलो पार्छ। यसर्थ भविष्यको विज्ञानले लीला लेखनलाई असान्दर्भिक नबनाउँला भन्न सकिंदैन।
आईबी राईले करीब ९० वर्षको जीवन बाँचे। ७० वर्ष लामो साहित्यिक लेखनमा सफलता प्राप्त गरे। साहित्य सिर्जनाका साथै महत्वपूर्ण ग्रन्थमा पनि उनले काम गरे। दार्जीलिङमा नेपाली नाटककोे इतिहासमाथि खोजपरक ‘दार्जीलिङमा नेपाली नाटकको अर्धशताब्दी’ कृति र नेपाली साहित्यका आदिकवि भानुभक्तको कृति अध्ययन सम्बन्धी ग्रन्थको सम्पादन गरेका छन्। त्रिभुवन विश्वविद्यालयले सन् २०१७ मा उनलाई महाविद्यावारिधिको उपाधि दिएको थियो।
राईमा प्राज्ञिकता र सिर्जनशीलता दुवैलाई मिलन गराउने क्षमता थियो। दार्जीलिङलाई केन्द्रमा राखेर प्रवासी नेपाली जीवन मूल्यको अन्वेषण गर्ने जातीय बोधको प्रतीक हुन् उनी। यही जातीय बोध उनको नेपालीत्व त हो, तर उनी पूर्वीय चेतनाका संवाहक पनि थिए।