तराई मधेसमा घटस्थापनादेखि नवमीसम्म नाचिने झिँझिया लोप हुँदै
रौतहटको गौर नगरपालिकाकी उपमेयर किरण ठाकुरले बालिकाहरुको समूहमा आबद्ध भएर झिँझिया नाचिन्। दियो बालेको प्वालैप्वालको घैँटो टाउको राखेर उनले नाच्दा अरुले ताली बजाएर साथ दिए।
अचेल यसरी झिँझिया नाच्ने महिला कम मात्र देख्न पाइन्छ। उपमेयर ठाकुरले झिँझिया संस्कृतिको सम्बद्र्धनमा जुट्न सबैलाई आह्वान गरेकी छिन्। झिँझिया सांस्कृतिक सम्पदा भएकोले यसलाई बचाउन उचित ठानेर बालिकाहरुसँग झिँझिया खेलेर प्रोत्साहन दिएको उनी बताउँछिन् ।
दशैंमा तराई मधेसका महिलाले मनाउने झिँझिया नाच लोपोन्मुख अवस्थामा पुगेको छ। दशैंको घटस्थापनादेखि नवमीको रातसम्म हरेक गाउँमा नाचिने यो नाच अचेल आक्कलझुक्कल मात्र देखिन्छ।
प्वालैप्वाल भएको घैँटोभित्र दियो बालेर त्यसलाई टाउको राखी गीत गाउँदै झिँझिया नाच्ने गरिन्छ। सबै उमेर समूहका महिलाले नाच्ने झिँझिया अब मुस्किलले एक दुई गाउँमा नाचिन्छ। अचेल प्रायः बालिकाहरु मात्र नाच्छन्।
तराई मधेसको प्रायः सबै भाषिक तथा जातीय समुदायमा यो नाच प्रचलनमा छ। तर, केही दशकदेखि लोप हुँदै गएकोमा स्थानीय बुढापाका र संस्कृतिप्रेमीहरुले चिन्ता व्यक्त गर्न थालेका छन्।
सहर बजारका नयाँ पुस्ताका युवाहरुले झिँझियालगायतका सांस्कृतिक सम्पदाप्रति उदासिन हुँदा संस्कृति नै लोप हुने खतरा बढेको नेपाल राष्ट्रिय शिक्षक संगठन रौतहटका सचिव सफिन्द्रप्रसाद यादव बताउँछन्। “हेर्दाहेर्दै झिँझिया लोप हुन लागेको छ। यसले चिन्ता बढाएको छ”, उनी भन्छन्।
मौलिक लोकसांस्कृतिक गीति लय, मौलिक नृत्य तथा सांस्कृतिक परम्परा रहेको यो नाच महिलाहरुको सांस्कृतिक उत्सव भएको रौतहटकी साहित्यकार रेणु गुप्ता बताउँछिन्। उनी भन्छिन्, “यस्ता मौलिक संस्कृति लोप हुँदै जानु चिन्ताको विषय हो। यसलाई जोगाउन अहिलेको पुस्तालाई प्रोत्साहन गर्नुपर्छ।”
झिँझियाजस्तो लोकसम्पदा परम्परादेखि चलिआएको हुनाले आधुनिक दृष्टिकोणले हेर्दा केही कमीकमजोरी भए हटाउनुपर्ने अर्का साहित्यकार किशुनदयाल यादव श्रीकृष्ण बताउँछन्। झिँझियालाई सन्देशमूलक र नयाँ पुस्ता अनुकूल बनाए जोगाउन सकिने उनको भनाइ छ। झिँझियालाई बचाउन ठोस योजना बनाएरै पहल गर्न उनले स्थानीय सरकारलाई सुझाव दिन्छन्।
झिँझियालाई कतिपय सांस्कृतिक संस्थाहरुले मञ्चहरुमा प्रदर्शन गरेर सम्बद्र्धनको प्रयास गरेका छन्। तर, यो प्रयासलाई स्थानीय सरकारहरुले थप बल दिनुपर्ने संस्कृतिकर्मीहरुको भनाइ छ। झिँझिया प्रवद्र्धनलाई पालिकाहरुले आफ्नो नियमित कार्यक्रममै राखेर प्रोत्साहन गर्नुपर्ने सर्लाहीको रामनगर गाउँपालिकाका शिक्षा संयोजक रामपवित्र साह बताउँछन्।