क्लिन फिड लागू भएपछि १२० च्यानल बन्द, एक वर्षसम्म किन भएन तयारी ?
सरकारले आजबाट विदेशी टेलिभिजन च्यानललाई विज्ञापनरहित (क्लिन फिड) गराएपछि नेपालबाट यसअघि हेर्न पाइने १२० च्यानल बन्द भएका छन्। समयमा नै व्यवसायी र ती च्यानलले पर्याप्त तयारी नगर्दा दर्शकले हेर्न नपाउने भएका हुन्।
सरकारले विदेशी च्यानल विज्ञापनरहित बनाउन व्यवसायीहरुलाई यसअघि नै एक वर्षको समय दिएको थियो। तर, आवश्यक तयारी नगरेपछि गए रातिबाट अनिवार्य रुपमा ‘क्लिन फिड’ नीति लागू हुँदा धेरै च्यानल बन्द भएका छन्।
विदेशी ब्रोडकाष्टरहरुले तत्काल क्लिन फिड च्यानलहरु दिन नसकेको भन्दै उपलब्ध नहुन्जेलसम्मका लागि ती च्यानल बन्द भएको सूचना टेलिभिजन स्किनमा राखिएको छ। नेपाल केवल टेलिभिजन व्यवसायी महासंघका अनुसार परीक्षणमा रहेका केही अमेरिकी च्यानल एक साताका लागि विज्ञापनसहित आउन सक्ने भए पनि क्लिन फिड लागू गर्न नसकेका १०० भन्दा बढी विदेशी च्यानल बन्दै हुने छन्।
महासंघ अध्यक्ष ध्रुव शर्माका अनुसार विदेशी च्यानलले क्लिन फिड उपलब्ध गराउन सक्ने अवस्थामा करीब १० दिनपछि केही टेलिभिजन हेर्न पाइनेछ। उनी भन्छन्, “क्लिन फिडका लागि तयारी गरेका केही विदेशी च्यालन परीक्षणमा छन्। केही दिनमा आउने गरी तयारी भइरहेको हुनसक्छ।”
सुबिसु केबल नेटवर्कका अध्यक्ष सुधीर पराजुलीका अनुासार भारतीय टेलिभिजन नेटवर्क ’जी’ र ’सोनी’को प्याकेजअन्तर्गतका च्यानलहरु मात्र विज्ञापनरहित कन्टेन्टमा आएका छन्। जी नेटवर्कअन्तर्गत जी टिभी, जी न्यूज, जी सिनेमा, ७ पिक्चर्स, जीङ, जी क्याफे, जी क्लासिक, जी एक्सन लगायत च्यानल छन्। सोनीको प्याकेजमा सोनी इन्टरटेनमेन्ट, सोनी सब, सोनी म्याक्स, सोनी सिक्स, सोनी टेन लगायत छन्।
क्लिन फिड नभएर नआएका कारण स्टार, डिस्कभरी, बीबीसी, सीएनएन, कलर्सलगायत चर्चित च्यानलहरु बन्द भएका छन्। कलर्स, स्टार स्पोर्टस्, स्टार प्लसलगायत च्यानल पनि क्लिन फिड पालना नगरेका कारण बन्द भएको केवल टेलिभिजन महासंघले जनाएको छ। स्टार स्पोर्टस्, स्टार स्पोर्ट सेलेक्ट लगायतका च्यानलसमेत प्रसारण नभएका कारण नेपाली दर्शकहरु इंग्लिस प्रिमियर लिग, इन्डियन प्रिमियर लिग (आईपीएल) लगायत फुटबल तथा क्रिकेटका चर्चित लिगहरु आजैबाट हेर्न बन्चित भएका छन्।
विदेशी च्यानलमा टेलिसिरियल हेर्ने, केटाकेटी भुलाउने र मनोरञ्जनका लागि खेलकूद च्यालन हेर्ने गरेकी धोविघाटकी गृहणी पुतली तामाङ अब के गरेर बस्ने भन्ने चिन्तामा छिन्। मनोरञ्जनका च्यालन नहुँदा दिन बिताउन मुस्किल हुने उनी बताउँछिन्।
नेपाल वायुसेवा निगमका पूर्व महाप्रवन्धक सुगतरत्न कंसाकारले सरकारले आवश्यक तयारी नगरी दशैं र कोरोना महारमारीले फूर्सद रहेको बेला धेरै टिभी हेरिने समयमा दर्शकलाई विदेशी च्यानल हेर्नबाट बञ्चित गराएको बताउँछन्। उनी भन्छन्, “तयारीका लागि दुई चार दिन मात्रै नआउने हो भने ठिकै होला, बन्दै गराउँदा त सूचनाको हकबाटै बञ्चित गराइयो।”
किन एक वर्षसम्म भएन तयारी ?
सरकारले क्लिन फिड लागू गराउन एक वर्षको समय दिएको थियो। तर, व्यवसायीले कोभिड–१९ महामारीका कारण समय नपुगेको भन्दै ६ महीना थप गर्न भन्दै सञ्चार मन्त्रालयसमक्ष लिखित निवेदन नै पेश गरेका थिए।
इन्डियन ब्रोडकास्टर्स फोरम, डिस्कभरी नेटवर्क, बीबीसी न्यूज, नेपाल केवल टेलिभिजन महासंघ लगायतका संघ संस्थाबाट विज्ञापनरहित प्रसारणको समय थप गर्न आग्रहसहित मन्त्रालयमा निवेदन परेको थियो। तर, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गएको २८ असोजमा सरोकारवाला व्यवसायीलाई क्लिन फिड तोकिएकै समयमा अनिवार्य कार्यान्वनय गर्न निर्देशन दिएको थियो।
विज्ञापन (नियमन गर्ने) ऐन २०७६ को दफा ६ (१) अनुसार नेपालमा नेपालमा विदेशी च्यानलसँग डाउनलिंक गरी प्रसारण गर्न सम्झौता गरेका संस्थाहरूले विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित प्रसारण गर्नुपर्छ। सरकारले अनिवार्य कार्यान्वयन गराउने अवस्थामा पुगिसक्दा पनि व्यवसायीले तयारी नगर्दा सेवाग्राहीले विदेशी च्यानल हेर्न नपाउने अवस्था आएको हो। विज्ञापनरहित (क्लिन फिड) नीति २०७३ मै तय भए पनि चार वर्षपछि लागू गर्न खोज्दा पनि व्यवसायी तयार नभएका हुन्।
नेपाल केवल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुली कोरोनाभाइरस महामारीले सामान नआइपुगेको बताउँछन। आवश्यक तयारी गर्दागर्दै महामारी आएको हुँदा तयारी गर्ने समय नै नपुगेकाले कम्तिमा ६ महीनाको थप समय मागेको उनी बताउँछन्। “सरकारले अनिवार्र्य भनेर के गर्नु? हामीले आवश्यक सामान ल्याउन नसकेको कारण तयारी नै हुन पाएको छैन। सम्बन्धित टेलिभिजन प्रसारकले तयारी गर्नुपर्ने हुन्छ। त्यो तयारी हामी नेपाली व्यवसायीको हातमा नहुने भएकोले पनि अहिले सेवाग्राहीलाई क्लिनफिड च्यानल उपलब्ध हुन सकेन”, उनी भन्छन्।
क्लिन फिड लागू भएपनि तत्काल टेलिभिजन हेर्ने ग्राहकको लागि शुल्क बढ्दैन्। तर, नेपालमा सेवा दिने सेवाप्रदायकले विदेशी च्यानलसँग गरेको सम्झौता अनुसार विभिन्न समयमा नवीरकण गर्ने हुँदा सो अनुसार शुल्क पनि बढ्दै जाने हुन सक्छ।
क्लिनफिड लागू हुनुअगाडिसम्म विदेशी ९० वटा शुल्क तिर्नुपर्ने च्यानल थिए। अहिले ६० वटाले क्लिनफिडको तयारी गरिरहेका छन्। अमेरिकी च्यानल एचबीओ, सिनेम्याक्सहित पाँच वटा भने क्लिन फिड नै छन्।
यसकारण क्लिन फिड आवश्यक
अहिले नेपालमा प्रसारित विदेशी टेलिभिजन च्यानलहरूले ग्राहकबाट टेलिभिजन हेरिदिएवापत पैसा लिने गरेका छन्। ती च्यानलले विज्ञापन पनि बजाएर दोहोरो फाइदा लिइरहेका थिए। अब भने विदेशी टेलिभिजन च्यानलहरूलाई कार्यक्रमबाहेक कुनै पनि प्रकारको विज्ञापन, लोगो, प्रोमो वा प्रमोसनहरू प्रसारण गर्न नदिने नीति सरकारले लिएको छ।
सरकारले केबल टेलिभिजनलाई क्लिन फिड बनाए पनि इन्टरनेटमा आधारित आईपी टीभीको भने नियमन चुनौतीपूर्ण छ। प्रसारण अनुमति नलिएका विदेशी च्यानल र भिडियो तथा सेन्सर नभएका वा भएका चलचित्र सहजै इन्टरनेटमार्फत प्रसारण हुने गरेका छन्।
आईपी टीभीले हाल प्रयोग गरिरहेको एन्ड्रोइड आईपीटीभी बक्समा सहजै अनधिकृत टीभी तथा श्रव्य दृश्य सामग्रीसमेत उपलब्ध हुन्छ। यसलाई सरकारले बन्द नै गर्नुपर्ने नेपाल केबल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष ध्रुव शर्मा बताउँछन्। महासंघले ‘डाउन लिंक’ अनुमति लिएका भन्दाबाहेकका अन्य सामग्रीको प्रसारण गर्न नपाउने व्यवस्था गर्न माग गरेको छ।