चेन्नाईलाई हराउँदै मुम्बई फेरि आईपीएलको शीर्षस्थानमा
इन्डियन प्रिमियर लिग अन्तर्गत अंकतालिकाको पुछारमा रहेको चेन्नाई सुपर किङ्सलाई पराजित गर्दै मुम्बई इन्डियन्स शीर्षस्थानमा उक्लिएको छ। हिजो राति भएको खेलमा मुम्बई १० विकेटले विजयी भयो।
चेन्नाईले दिएको ११५ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बईका इशान किसानले ६८ र क्विन्टन डी कोकले ४६ रन बनाएका थिए। यसअघि टस जितेर ब्याटिङ गरेको चेन्नाईले २० ओभर खेल्दै नौ विकेट क्षतिमा ११४ रन मात्र बनाउन सक्यो।
चेन्नाईका लागि साम कुरानले ४७ बलमा ५२ रन बनाए। तर, उनलाई कसैले लामो साथ दिएनन्। महेन्द्र सिंह धोनीको १६ रन दोस्रो ठूलो व्यक्तिगत रन हो। मुम्बईका लागि ट्रेन्ड बोल्ट एक्लैले चार विकेट लिए।
जितसँगै मुम्बई अंक तालिकामा १४ अंकसहित शीर्ष स्थानमा पुगेको छ। समान १० खेलबाट मुम्बई, दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर बेङ्लोर तीनै टीमको १४ अंक भए पनि रनरेटको आधारमा मुम्बईपछि दिल्ली छ। चेन्नाई ६ अंकसहित सबैभन्दा पुछारमा छ।