संरक्षण नायकहरूको सम्झनामा
१५ वर्षअघि ताप्लेजुङको घुन्सामा भएको हेलिकोप्टर दुर्घटनामा नेपालले संरक्षणका ख्यातिप्राप्त नायकहरू गुमायो । आज उनीहरूले नै देखाएको बाटो पछ्याएर, प्रेरणा लिएर नयाँ पुस्ताका संरक्षणकर्मीहरूले गर्विला उपलब्धिहरू हासिल गरिरहेका छन् ।
६ असोजको त्यस साँझ हामीले ताप्लेजुङ सदरमुकामको फुङलिङ बजारमा रमाइलो गर्दै सोह्रवर्षे उमेरमा मै पनि झिल्के हुँदो हुँ भन्ने गीत गायौं, नाच्यौं । यो मेरा संरक्षण गुरु डा. चन्द्र गुरुङको असाध्यै मनपर्ने गीत थियो । उहाँ यो गीत अक्सर गाइराख्नुहुन्थ्यो ।
हामीले रमाइलो त गर्यौं तर यो रमाइलो धेरै समय टिकेन ।
फुङलिङमा विशेष कार्यक्रम सकेपछि भोलिपल्ट हामी काठमाडौं फर्कने कार्यक्रम थियो ।
त्यसअघि संरक्षणकर्मीहरू केहीछिन ताप्लेजुङकै घुन्सा गएर त्यहाँका स्थानीयसँग छलफल गर्ने योजना थियो । योजना अनुसार नै बिहान डा.चन्द्र गुरुङ, डा. हर्क गुरुङलगायतको टोली एमआई–८ हेलिकोप्टरमा घुन्सा उड्यो । जानु त मैले पनि थियो । तर, उँचाइमा हेलिकोप्टरले बढी मान्छे बोक्न नसक्ने भएकाले म थप कामका लागि फुङलिङमै रोकिएँ ।
घुन्साबाट उहाँहरू फुङलिङ आउने, त्यहाँ केही स्थानीयलाई ओराल्ने र मसहित तीनजना हेलिकोप्टरमा चढेर काठमाडौं फर्कने । योजना यही थियो ।
तर, बिहान घुन्साका लागि उडेको हेलिकोप्टर निर्धारित समयमा फर्किएर आएन । हामी किन आउन ढिला भयो भनी घडी हेर्न थाल्यौं । चिन्ता के शुरू भएथ्यो, एकाएक खबर आयो, हेलिकोप्टर त बादलमै हरायो !
यस्तो कसरी हुनसक्छ ? नेपालका एकसेएक शीर्ष संरक्षणकर्मी बोकेको हेलिकोप्टर यसरी कसरी एकाएक हराउन सक्छ ? मलाई पत्यार नै लागेन ।
संरक्षणकर्मीहरूका लागि २०६३ सालमा कञ्चनजङ्घा संरक्षण क्षेत्र हस्तान्तरण एउटा महत्वपूर्ण कोसेढुङ्गा थियो । तर, त्यसको १२ घण्टापछि घुन्साबाट तुरुन्तै उडेपछि नेपालका शीर्ष संरक्षणकर्मीहरू बोकेको हेलिकोप्टर बादलले ढाकेको चट्टानमा ठोक्किन पुग्यो ।
जसै समाचार सुन्यौं, आङफुरी शेर्पा र एक उद्धार टोलीका साथ म दुर्घटनास्थल पत्ता लगाउन खटियौं । तर, खराब मौसमका कारण हेलिकोप्टर ग्याब्लामा उत्रन बाध्य भयो । हामी पूरै रात हिंडेरै घुन्सा पुग्यौं ।
घुन्सामा हामीले कहिल्यै नचिताएको दृश्य देख्यौं । बादलले ढाकेको घुन्साको चट्टानमा हेलिकोप्टर ठोक्किएछ । यसरी हामीले ७ असोज (२३ सेप्टेम्बर) २०६३ मा असमयमै नेपालका संरक्षण नायकहरू गुमायौं । १२ घण्टा अघि मात्र गीत गाउँदै, तोङ्बा खाँदै नाँचेका संरक्षणविद्हरू अब कहिल्यै नफर्कने गरी टाढा भए ।
त्यो घुन्सा हेलिकोप्टर दुर्घटनामा नेपालले धेरै कुरा गुमायो । प्रख्यात भूगोलविद् तथा योजनाकार डा. हर्क गुरुङ, डा. चन्द्र गुरुङ, जसले पर्यटनको आम्दानी संरक्षणमा प्रयोग गर्ने नमूनाको रूपरेखा बनाएका थिए । मिङ्मा नोर्बु शेर्पा– जसले अन्नपूर्ण संरक्षण क्षेत्र र डब्लुडब्लुएफ नेपाल स्थापनामा मद्दत गरे; तीर्थमान मास्के– जसले मानिस र निकुञ्जहरूको सहअस्तित्वका लागि मार्गप्रशस्त गरे ।
हामीले त्यस दुर्घटनामा वनमन्त्री गोपाल राई, सचिव दामोदर पराजुली र महानिर्देशकहरू शरदकुमार राई र नारायणप्रसाद पौडेललाई पनि गुमायौं । कञ्चनजङ्घा संरक्षण क्षेत्रका व्यवस्थापन समितिका प्रथम अध्यक्ष दावा छिरिङ शेर्पा पनि हेलिकोप्टरमै थिए ।
संरक्षणमा संशय
यति धेरै संरक्षणका हस्तीको एकसाथ निधनले संरक्षणकर्मी माझ एउटा गम्भीर प्रश्न खडा ग¥यो ः के यो भयावह दुर्घटनाले संरक्षणको क्षेत्रमा हासिल गरिएका नेपालका उपलब्धिहरूलाई जोखिममा पार्नेछ ? विश्वकै लागि उदाहरणीय समुदायमा आधारित सहभागितामूलक संरक्षण कार्यको नमूनालाई निरन्तरता दिन सकिनेछ ?
दूरद्रष्टा संरक्षणकर्मीको अचानकको अनुपस्थितिमा यी संशय वास्तवमै स्वाभाविक थिए । सहकर्मी संरक्षणकर्मीको हैसियतले म स्वयंमा पनि सन्देह नभएको भने होइन ।
तर, आज १५ वर्षपछि नियाल्दा लाग्छ– संरक्षण अभियानमा बाटो देखाउने ती सबैलाई हामीले निराश बनाएका छैनौं । अझ कतिपय सन्दर्भमा त हामीले गर्वलायक उपलब्धि हासिल गरेका छौं, जसलाई उहाँहरूले नै पथप्रदर्शन गर्नुभएको थियो ।
यो डेढ दशकमा हामीले नेपालको संरक्षणका विभिन्न पक्षमा उल्लेखनीय परिवर्तन देखेका छौं । केही प्रजातिको पुनस्र्थापनादेखि संरक्षित क्षेत्र प्रणालीको विस्तारसम्म सबै क्षेत्रका स्थानीयको चासो मात्र होइन सक्रिय सहभागिता बढ्दो छ । स्वामित्व बढ्दो छ ।
जस्तो कि, सन् २००९ मा नेपालमा बाघको संख्या १२१ थियो, आज २३५ नाघेको छ । गैंडाको संख्या सन् २००८ मा ४३५ थियो, पाँच वर्षअघि नै ६४५ पुगेको छ । गैंडाको शून्य चोरीशिकार भएको छ । १२ वटा हिमचितुवा पाइने देशहरूमध्ये उक्त प्रजातिको संख्याका हिसाबले नेपाल अहिले पाँचौं स्थानमा छ ।
नाउर, थार, गौर र घडियाललगायत प्रजातिहरूमा पनि यस्तै गर्विला सफलता हासिल भएका छन् । गैंडा, कृष्णसार, अर्ना प्रजातिको पुरानो वासस्थान क्षेत्रहरूमा पुनप्र्राप्ति हुनु हाम्रा संरक्षणसम्बन्धी प्रयासका महत्वपूर्ण कोसेढुंगाहरू हुन् ।
कञ्चनजङ्घा संरक्षण क्षेत्रपछि नेपालले कैलाश र चितवन–अन्नपूर्ण भूपरिधिभित्र ४ हजार ६३२ वर्ग किलोमिटर ओगट्ने गरी थप तीन संरक्षित क्षेत्रहरूः गौरीशंकर संरक्षण क्षेत्र, अपि नाम्पा संरक्षण क्षेत्र तथा बाँके राष्ट्रिय निकुञ्ज स्थापना गरेको छ ।
संरक्षणसम्बन्धी यी पहलहरूले मानव–वन्यजन्तुबीच सामञ्जस्यपूर्ण अस्तित्वलाई बढावा दिने समुदायहरूलाई समान फाइदाको सुनिश्चिततामा जोड दिएका छन् । समुदायमा आधारित संरक्षणका कार्यक्रमहरूले प्रजातिको संरक्षणका साथै संरक्षित क्षेत्र र आसपास बसोबास गर्ने स्थानीयको दिगो भविष्य निश्चित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
यति धेरै संरक्षणका नायकहरू अचानक गुमाउनु पर्दा नेपालको वातावरणीय अभियानमा अपूरणीय क्षति पुगे तापनि ती व्यक्तिहरूद्वारा नै प्रशिक्षित र मार्गनिर्देशित नयाँ पुस्तामा उनीहरूको विरासतले निरन्तरता पाएको छ ।
युवा संरक्षणकर्मीको यो नयाँ पुस्ताले १५ वर्षअघि दिवङ्गत भएका पथप्रदर्शकहरूको सम्झनामा स्थापित छात्रवृत्ति पाएका छन् । उनीहरूले अनुकरणीय काम गरेका छन् । संरक्षण प्रयासहरूलाई मार्गदर्शन गर्न प्रमुख निर्णायक पदहरूमा पनि पुगेका छन् ।
कञ्चनजङ्घा सफलता
कञ्चनजङ्घा संरक्षण क्षेत्र स्वयं पनि समुदायमा आधारित सहभागितामूलक संरक्षणमा उदाहरणीय बनेको छ, नेपालमा मात्र होइन पूरै एशियामै । सहभागितामूलक संरक्षणको यो अवधारणा मिङ्मा शेर्पा र चन्द्र गुरुङले पहिलो पटक सन् १९८० को दशकको मध्यदेखि अन्नपूर्ण संरक्षण क्षेत्र र त्यसपछि मनास्लु संरक्षण क्षेत्रमा शुरू गरेका थिए ।
स्थानीयको जीविकोपार्जनसँगै जैविक विविधता संरक्षण सम्बोधन गर्न सन् १९९८ मार्चमा नेपाल सरकारले विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालसँगको साझेदारीमा कञ्चनजङ्घा संरक्षण क्षेत्र परियोजना शुरू गरेको थियो ।
सन् २००६ मा संरक्षित क्षेत्रलाई स्थानीयमा हस्तान्तरण गर्ने क्रममा संरक्षण क्षेत्र व्यवस्थापन नियम र योजनाहरू लगायत कतिपय कानूनी र नीतिगत दस्तावेज ल्याइए । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् गठन गरियो र सँगै यस क्षेत्रको प्राकृतिक स्रोतहरूको रेखदेखको अधिकारसँगै पनि दिइयो । समुदायमा आधारित महिला समूह पनि गठन गरियो, जसबाट अहिले परिषद्मा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व रहेको छ ।
३५ वटा आमा समूहले जेहेनदार तर आर्थिक अवस्था कमजोर २०६ बालिकाहरूलाई छात्रवृत्ति प्रदान गरेका छन् ।
यही छात्रवृत्ति पाएर अहिले पोखराको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रमा रेन्जर बनेकी चुङ्गला शेर्पा भन्छिन्, “मिङ्मा नोर्बु शेर्पा स्मृति छात्रवृत्तिले मेरो भविष्य निर्माण गर्यो । आशा छ म यसलाई सम्भव बनाउने संरक्षक महानायकहरूका पाइला पछ्याउनमा सक्षम हुनेछु । र, कुनै दिन यो गुण तिर्न सक्नेछु ।”
सत्य हो, हामीले ७ असोजको त्यो अशुभ दिनमा हाम्रा आदर्श व्यक्तिहरूलाई गुमायौं, तर उनीहरूको कामलाई अहिले नयाँ पुस्ताले अगाडि बढाइरहेका छन् ।
हाम्रा पुर्खाहरूले हामीलाई सम्पदा संरक्षणका ज्ञान हस्तान्तरण गरेजस्तै हामीले पनि यो जिम्मेवारी अर्को पुस्तामा हस्तान्तरण गर्नुपर्दछ । हामीले गुमाएका अग्रजहरूप्रति हाम्रो साँचो सम्झना र श्रद्धा यही हुनेछ ।
(विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेटवर्कका हिमचितुवा च्याम्पियन समेत रहेका डा.गुरुङ डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि हुन् । यो लेख उनको निजी विचार हो ।)