प्रधानमन्त्रीको दाबी- 'कोरोना संक्रमण रोक्न सरकारले सम्पूर्ण प्रयास गरेको छ' [भिडिओसहित]
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरस संक्रमणको विस्तार रोक्न सरकारले सम्भव भएजति सबै प्रयास गरेको दाबी गरेका छन्।
देशवासीका नाममा शुक्रबार अपराह्न गरेको सम्बोधनमा प्रधानमन्त्रीले यस्तो दाबी गरेका हुन्।
"दशैंको मुखमा यस महामारीको संक्रमण अहिलेसम्मकै उच्च देखिएको छ, अहिले राजधानी काठमाडौं उपत्यका यस संक्रमणको केन्द्रजस्तै बन्न पुगेको छ, यस महामारीको संक्रमणको वेग थामिन केही समय लाग्न सक्छ", प्रधानमन्त्रीले सम्बोधनमा भने, "यसलाई रोक्न, नियन्त्रण गर्न र संक्रमितको उपचारमा सरकारले आफ्ना सम्पूर्ण प्रयासहरु केन्द्रित गरेको छ।"
प्रधानमन्त्री ओलीले कोभिड–१९ बाट संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध सरकारले गर्नेसमेत बताए। "पहिचान, परीक्षण र उपचारमा मात्रै होइन, यस महामारी विरुद्धको खोपमा नेपाली जनताको सहज पहुँचका लागि समेत सरकार क्रियाशील रहन्छ", उनले भने।
सरकारले केही दिनअघि कोरोना परीक्षण र संक्रमितको उपचार सरकारले निःशुल्क गर्न नसक्ने भन्दै अति विपन्न बाहेक अरुको परीक्षण र उपचारमा शुल्क लाग्ने निर्णय गरेको थियो। यो निर्णयले सरकारको तीव्र आलोचना भएको थियो।
प्रधानमन्त्रीले त्यो निर्णयको बचाउ गर्ने प्रयास पनि गरे। "सरकारले संक्रमितको पहिचान, परीक्षण र उपचारमा सबैको उत्तिकै पहुँच हुने प्रबन्ध गरिरहेको छ", उनले भने, "सम्बन्धित अस्पताल विकास समिति, संक्रमित व्यक्ति वा परिवारले सक्दिनँ भन्ने स्वघोषणा गरेको अवस्थामा निःशुल्क उपचारको व्यवस्था निरन्तर जारी छ।"