एक तस्वीर, तीन काल
७० वर्षअघि खिचिएको यो तस्वीरले यस्तो कथा भन्छ जसले नेपाली राजनीतिका भूत, वर्तमान र भविष्य तिनै काललाई व्याख्या गर्ने क्षमता राख्दछ।
हालसालै आमा कल्पना घिमिरे र सानिमा चेतना कौशिक शर्मासँग हामीले एउटा तस्वीर बारे छलफल गर्यौं !
मलाई सम्झना भएदेखि नै त्यो तस्वीर पारिवारिक सङ्कलनमा थियो। म बालिका छँदा उक्त तस्वीरमा २७–२८ वर्षका उमेरका विशाल अग्लो हजुरबुबा बालचन्द्र शर्मा र उनका राजनीतिक सहकर्मीहरूको बनारसमा खिचिएको एक सामान्य तस्वीर मात्र देख्थें।
यो तस्वीर मेरो लागि सधैं उत्सुकताको विषय बनिरह्यो र किन हो किन यसलाई सार्वजनिक गरिनुपर्दछ भनी जोड गर्न थाले।
यो लेखनीका क्रममा मैले पुनः तस्वीरलाई गौरपूर्वक केलाएँ र बल्ल बुझें– यो तस्वीर त इतिहासको सशक्त र साँचो गवाही पो रहेछ ! अझै भन्ने हो भने तस्वीरले ऐतिहासिक महत्व मात्र नबोकी अहिलेको राजनीतिक परिस्थितिसँग एकदमै सान्दर्भिक र भविष्यको लागि पनि सन्देश दिन खोजिरहेको रहेछ।
एउटा खोक्रो आकृति भित्र क्रमशः अर्को स–सानो खोक्रो आकृति हुँदै अन्त्यमा मूल ठोस आकृति भएको प्रख्यात रूसी मात्रियोश्का पुतली झैं, यो तस्वीर पनि पत्रपत्र गरी विभिन्न कोणहरूबाट विश्लेषण गर्न तथा बुझ्न सकिने रहेछ।
तस्वीरका यी युवा पुरुषहरूमध्ये केहीसित हामी परिचित छौं भने केही अनुहार अपरिचित। तर यीमध्ये अधिकांशले भविष्यमा देशको ऐतिहासिक, राजनीतिक र प्राज्ञिक क्षेत्रमा छाप छोड्नेवाला थिए।
यो तस्वीर खिचिएको बेला उनीहरू बनारसमा अध्ययन गरिरहेका थिए र सँगसँगै नेपाली राष्ट्रिय कांग्रेस पार्टीका महत्वपूर्ण सदस्य थिए। स्वतन्त्र भारत आन्दोलनमा सामेल भई उनीहरू बेलायती राज विरुद्धमा आएको क्रान्तिकारी विचारधारा र गतिविधिहरूको लहरले प्रभावित हुन पुगेका थिए। देशभक्तिको झुकाव रहेका यी युवाहरूले आफ्नो जीवन राणाशासन विरुद्धको लडाइँ र देशको सामाजिक–राजनीतिक परिवर्तनका लागि समर्पण गर्ने अठोट गरेका थिए।
स्टुडियोमा खिचिएका तस्वीरहरू त्यो बेला कुनै विशेष अवसरलाई कैद गर्न मात्र लिइन्थ्यो। पारिवारिक अभिलेख अनुसार यो तस्वीर मेरो हजुरबुवा एवं अन्य व्यक्तिहरू मार्च १९४७ को विराटनगर जुट मिलको श्रमिक हड्तालमा सक्रिय रूपमा सहभागी भए पश्चात धनकुटा जेलबाट रिहा भएको केही समयपछि अक्टोबर १९४७ तिर खिचिएको हो। उक्त आन्दोलन राणाशासनले सेनाको आडमा दबायो, कामदारहरूमाथि क्रूर रूपमा दमन गरियो, नेताहरूलाई पक्राउ गरी जेल हालियो। प्रारम्भिक चरणमा हड्ताल श्रमिकहरूको हकहितको लागि व्यवस्थापन विरुद्ध छेडिएको आन्दोलन भए तापनि कालान्तरमा राणाशासन विरोधी राष्ट्रव्यापी आन्दोलन आह्वान हुन पुगेको थियो।
युवा र नेतृत्व
सर्वप्रथम यो तस्वीरले युवा नेतृत्वप्रति ध्यान आकृष्ट गर्दछ, जुन वर्तमान राजनीतिमा खडेरी नै परेको छ।
नेपाली कांग्रेसलगायत अन्य राजनीतिक संस्था युवा नेतृत्वलाई बेवास्ता मात्र होइन निरुत्साह नै गरेका छन्। आक्कलझुक्कल ‘युवा शक्ति’ भन्ने नारा जपे पनि राज्य सत्ता वा राजनीतिक नेतृत्व ६० देखि ७० उमेर समूहका व्यक्तिले समातेर बसेका छन्। युवाको बाहुल्य भएको हाम्रो मुलुकमा, युवा ज्येष्ठ नागरिक बनिसकेका नेताहरूको निर्देशन मान्न, सहन र ट्वाल्ल परेर हेर्न बाध्य छ।
यो तस्वीरमा भएका हिजोका युवा होनहार, गतिशील र दृढ थिए, आजका तन्नेरीमा पनि ती गुणहरू जति पनि पाइन्छ। तर उनीहरूलाई पुरानो सामाजिक संस्कार र राजनीतिक मान्यताहरूमा हुर्केका वृद्धहरूको समूह तगारो बनेको छ।
दुःख र अनौठो लाग्दो कुरा त युवाहरूले स्थापना गरेकै नेपाली कांग्रेस पार्टीले पनि आफूलाई परिमार्जन गरी नयाँ पुस्तालाई मार्गप्रशस्त गर्न अस्वीकार गरिरहेको छ। विशेषगरी केही शक्तिशाली पश्चिमी देशहरूमा, भर्भराउँदो तन्नेरीहरू राष्ट्राध्यक्ष रहेको हामीले आफ्नै आँखाले देखिरहेका छौं। तर, हाम्रो मुलुकमा चाहिं किन युवालाई नेतृत्व दिन आनाकानी ? प्रश्न स्वाभाविक हुनआउँछ।
यो तस्वीरमा भएका हिजोका युवा होनहार, गतिशील र दृढ थिए, आजका तन्नेरीमा पनि ती गुणहरू जति पनि पाइन्छ। तर उनीहरूलाई पुरानो सामाजिक संस्कार र राजनीतिक मान्यताहरूमा हुर्केका वृद्धहरूको समूह तगारो बनेको छ।
तस्वीरका युवाहरूले नेपालको इतिहासको मार्ग नै परिवर्तन गरी मुलुकमा प्रजातान्त्रिक व्यवस्था ल्याए। उनीहरूमा दूरदर्शिता, आउने दिनहरूको पूर्वानुमान र आत्मसात् गरी अनुकूल मार्ग बनाउने क्षमता थियो। तर आजको हाम्रो राजनीतिक नेतृत्वले न युवाको मनसाय बुझ्छन्, न चिन्ता नै सम्बोधन गर्छन्। नेपालीको सामूहिक आकांक्षा भन्दा नेतृत्व निकै पछाडि छन्। जनता र राजनीतिक नेतृत्वको बीच ठूलो अन्तर छ। यी कटु वास्तविकताले युवाहरूमा निराशा थपिरहेको छ।
जातीय प्रतिनिधित्व
यो तस्वीरको अर्को पत्र हो— नेपालका विभिन्न जातीय समूहको प्रतिनिधित्व। राजनीतिमा यस्तो प्रतिनिधित्व हामीले हिजोआज कुनै पनि मूलधार राजनीतिक पार्टीको नेतृत्व वर्गमा प्रष्ट देख्न सक्दैनौं। उथलपुथल र द्रुतगतिमा परिवर्तनशील आजको राजनीतिक परिवेशले प्रगतिशील र समावेशी प्रतिनिधित्वको माग गर्छ, तर हामी भने अन्तै कतै रुमल्लिरहेका छौं।
हो, यो तस्वीरमा महिलाको प्रतिनिधित्व शून्य छ, तर यो तस्वीर २००७ सालको परिवर्तन अगाडिको हो। त्यसबेला राजनीतिमा लैङ्गिक प्रतिनिधित्वको माग र मुद्दा स्पष्ट रूपमा उठेकै थिएन।
बायाँ छेउमा उभिएको व्यक्तिको परिचय बहसको विषय बनेको छ। तस्वीरको पछाडि उक्त व्यक्तिलाई लाक्पा छिरिङ शेर्पा भनी चिनाइएको छ र कसैकसैले भने उक्त व्यक्ति निर्मल लामा रहेको जिकिर गरेका छन्, यी दुवै व्यक्ति नेपाली कांग्रेसको प्रारम्भिक दिनहरूमा सक्रिय कार्यकर्ता थिए।
पोज र पहिरन
यो तस्वीर साथीहरूलाई देखाउँदा एउटा प्रश्न दोहोरिरह्यो; किन कुनै पनि नेपाली युवा ढाका टोपी र दौरा सुरुवालमा ठाँटिएका छैनन् ? त्यो क्रान्तिकारी जमानामा व्यक्तिले लगाउने पहिरनले उसको राजनीतिक, वैचारिक, सांस्कृतिक र सामाजिक झुकाव दर्शाउँथ्यो।
तस्वीरमा हामी तीन प्रकारका पोशाक देख्छौं— पश्चिमी, नेपाली सामान्य र भारतीय पहिरन प्रेरित। यसबाट एउटा कुरा भने प्रष्ट झल्कन्छ— यी क्रान्तिकारी युवा आंशिक रूपमा आधुनिक संसारलाई प्रतिनिधित्व गर्ने पश्चिमी जगत र आंशिक रूपमा गान्धी–नेहरू क्रान्तिकारी संघर्षबाट प्रेरित थिए।
लाक्पा शेर्पा पश्चिमी शैलीको शर्ट र ज्याकेटमा छन् भने गणेशमान सिंहको सम्पन्न परिवार पृष्ठभूमि पोशाकमै देखिन्छ। महेन्द्रनारायण निधि साधारण मानिसको सुरुवाल, कमिज र साधारण खादीको ओढ्नीमा छन्।
नेपाल राणाशासनबाट मुक्त भइसकेपछि २००७ सालमा गौचर विमानस्थलमा ओर्लिने क्रममा राजा त्रिभुवनले हात हल्लाइरहेको तस्वीरमा उनी दौरा सुरुवालमा देखिन्छन्। त्यस तस्वीरपछि मात्र यो पहिरनले प्रजातान्त्रिक लालमोहर प्राप्त गरेको हो।
बालचन्द्र शर्माको कुर्ता–सुरुवाल र सामान्य ‘बन्दी’ भेस्ट भारतका पुरुषहरूका अनौपचारिक र त्यहाँका राजनीतिक वर्गमा लोकप्रिय पोशाक थियो भने मातृका र बीपी कोइरालाको पण्डित नेहरू शैलीको शेरवानी चुरिदार सुरुवाल।
आज हामी सबैको चिरपरिचित दौरा सुरुवाल परम्परागत नेवा तपलनको रूपान्तर हो। राणाशासनले यसलाई राष्ट्रिय पोशाक घोषणा गरी सबै नेपाली पुरुषले औपचारिक अवसरहरूमा लगाउनुपर्ने आदेश जारी ग¥यो। त्यसैले क्रान्तिकारीहरूका लागि दौरा–सुरुवाल राणाहरूको लवज थियो, दमनको बिम्ब थियो। यी युवाहरूलाई यस्तो छविबाट टाढा देखाउन पनि पहिरन मार्फत ‘नयाँ’ नेपालको चित्रण गर्नु थियो।
नेपाल राणाशासनबाट मुक्त भइसकेपछि २००७ सालमा गौचर विमानस्थलमा ओर्लिने क्रममा राजा त्रिभुवनले हात हल्लाइरहेको तस्वीरमा उनी दौरा सुरुवालमा देखिन्छन्। त्यस तस्वीरपछि मात्र यो पहिरनले प्रजातान्त्रिक लालमोहर प्राप्त गरेको हो।
आपसी कलह र विभाजनको अभिशाप
जसरी मात्रियोश्का पुतलीको केन्द्रमा एक अन्तिम ठोस पुतली हुन्छ, त्यसै गरी यस तस्वीरले पनि नेपाली राजनीतिमा विद्यमान प्रमुख समस्यालाई औंल्याएको छ।
हामीले यी महान् व्यक्तिहरूको गुणगान मात्र गाउने होइन, कमी–कमजोरीलाई पनि केलाउनुपर्दछ। उनीहरूको अनुहारमा संकल्प र दृढताका साथ विराटनगर जुट मिल हड्तालको कारण कठोर जेल सजाय भोगेकाले थकान पनि देखिन्छ। हामीले तस्वीरमा उनीहरूको एकता, मित्रभाव र उद्देश्यप्रति समर्पण पनि देख्न सक्छौं।
यद्यपि इतिहासलाई फर्केर हेर्दा, यो एकता झिनो लाग्दछ। किनभने, यो एकतामा लगत्तै आन्तरिक असमझदारी, मतभेद, आपसी टकराव, विश्वासघात, गुटबन्दी देखापरेको थियो।
२००७ सालमा, राणाशासन विरुद्ध लड्न गठन गरिएको नेपाली कांग्रेसको मुक्ति सेनाको त्रिपक्षीय दिल्ली सम्झौतालाई लिएर बीपीसँग मतभेद भएर केही कार्यकर्ता साथीहरू पृथक् भए।
प्रजातान्त्रिक आन्दोलनका दुई प्रमुख हस्ती बीपी र दाइ मातृका बीच तनाव बढ्दै जाँदा फाटो उत्पन्न भई २०१२ सालपछि मातृकाको राजनीतिक जीवन नै लगभग समाप्त हुन पुग्यो।
विश्वका धेरै मुलुकमा समर्पित देशभक्त नेताहरूले छोटो समयमा नै देशको मुहार बदलेको हामीले देखिरहेकै छौं। तर हामी भने कुर्सीको खेल, आपसी झैझगडा, गुटबन्दी र मतभेदकै खेलमै अल्झिरहेका छौं। आखिर कति दिन हो हामीले यो अभिशाप भोग्नुपर्ने ?
तस्वीरमा देखिएका नेताहरूले समूहमै बसेर समान लक्ष्यका लागि काम गर्न नसक्नु दुर्भाग्य साबित भयो र यही विमतिको बलमा राजा महेन्द्रले २०१७ सालमा ‘कु’ गर्ने हिम्मत गरे।
आन्तरिक द्वन्द्व, विभाजन र विच्छेदन नेपाली राजनीतिक नेतृत्वको श्राप जस्तो देखिन्छ। स्यालहरूले सिनोको लागि एकअर्कासँग लडे जस्तो हाम्रा नेताहरू एकअर्कासँग लडिरहन्छन्।
आखिर हिजो हुन् या आज, हाम्रा नेताहरू आदर्श, देशप्रेम, जनताको हितकै लागि राजनीतिको मैदानमा उत्रेका हुन्। हिजोको जस्तै आजका नेताहरूले पनि ठूलो संघर्ष र बलिदान पश्चात् नेतृत्वको हैसियत प्राप्त गरेका हुन्, तर नेपाली राजनीतिमा आदर्शवान समर्पित कार्यकर्तालाई भ्रष्ट पारिदिने के त्यस्तो कमजोरी, तत्व वा पात्र रहेछ ? बेलाबेला आशंका उब्जन्छ।
विश्वका धेरै मुलुकमा समर्पित देशभक्त नेताहरूले छोटो समयमा नै देशको मुहार बदलेको हामीले देखिरहेकै छौं। तर हामी भने कुर्सीको खेल, आपसी झैझगडा, गुटबन्दी र मतभेदकै खेलमै अल्झिरहेका छौं। आखिर कति दिन हो हामीले यो अभिशाप भोग्नुपर्ने ?
यो तस्वीर खिचिएको करीब ७० वर्षपछि पनि हामी नेपाली यही प्रश्नको जवाफ खोजिरहेका छौं। त्यसकारण पनि यो तस्वीर आजसम्म जीवन्त बनिरहेको छ।
(कल्पना घिमिरेको सहयोगमा )