आचारसंहिता विपरीत काम गर्ने गढीमाई नगरपालिकाका दुई इञ्जिनियर निलम्बित
रौतहटको गढीमाई नगरपालिकाले एक इञ्जिनियर र दुई सब–इञ्जिनियरमाथि कारबाही गरेको छ।
कर्मचारीको आचारसंहिता विपरीत कार्यालयलाई बदनाम गराउने मनसायले सामाजिक सञ्जालमा लेखेको भन्दै नगरपालिकाले सिभिल इञ्जिनियर दीपेन्द्रकुमार यादव र सिभिल सब–इन्जिनियर पप्पु यादवलाई निलम्बन गरेको छ भने सिभिल सब–इञ्जिनियर कमलेशकुमार पटेललाई स्पष्टीकरण सोधेको छ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले निलम्बित दुई कर्मचारीमाथि लगाइएको आरोपको विषयमा कार्यालयबाट अन्तिम छानबिन तथा अनुसन्धानको प्रक्रिया पूरा नहुञ्जेल निलम्बन गरिएको जानकारी दिए।
निलम्बनमा परेका र स्पष्टीकरण सोधिएका तीनै जना इञ्जिनियरले गढीमाई–५ मदनपुरमा सञ्चालित आयोजनामा उपभोक्ता समितिसँग रकम मागेको पनि आरोप छ। गत असोज २८ मा जनता समाजवादी पार्टीको नगर समितिले लिखित रुपमै नगरपालिकामा तीन कर्मचारीले रकम माग गरेको र रकम नदिए आयोजनाको भुक्तानी नहुने धम्की दिएको भन्दै ज्ञापनपत्र बुझाएर कर्मचारीहरुलाई बर्खास्त गर्नुपर्ने माग गरेको थियो।
नगरपालिकाले गुनासोको सम्बन्धमा हरिकिशोर साह, बालकिशोर राय र दीपेन्द्र श्रेष्ठ सम्मिलित तीन सदस्यीय छानबिन समिति गठन गरेर अनुसन्धान गरेको थियो।
समितिले छानबिन गरी आरोप लगाइएका तीन जना कर्मचारी दोषी देखिएको भन्दै दुई जनालाई निलम्बन र एक जनालाई स्पष्टीकरण सोध्न सिफारिश गरे अनुसार यो कदम चालेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले बताए।