प्रदेश १ का कानून मन्त्रीलाई कोरोना संक्रमण
प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीलाई कोरोनाभाइरसको संक्रमण भएको छ।
विराटनगरमा उद्योगीहरुद्वारा स्थापित प्रयोगशालाको ६ कात्तिकमा उद्घाटन गरेलगत्तै परीक्षणका लागि स्वाब दिएका मन्त्री कार्कीको शुक्रबार पोजिटिभ रिपोर्ट आएको हो। उनले फेसबूक स्टाटस लेख्दै आÏनो सम्पर्कमा आएकाहरुलाई सावधानी अपनाउन आग्रह गरेका छन्।
विराटनगरस्थित निवासमै आइसोलेसनमा बसेका कार्कीले स्वास्थ्य अवस्था सामान्य रहेको जनाएका छन्।
मन्त्री कार्कीलाई ३० असोज यता सामान्य रुघाखोकी लाग्दै आएको थियो। उनका प्रमुख स्वकीय सचिव रवि खनाल पनि संक्रमित छन्।
“मलाई संक्रमण पुष्टि भएपछि मन्त्रीज्यूको परीक्षण गर्दा उहाँमा पनि कोरोना पाइएको हो”, खनालले भने।
आजबाट स्वाब संकलन स्थगन
यसैबीच, विराटनगरमा शुक्रबारदेखि पीसीआर परीक्षणका लागि स्वाब संकलन बन्द भएको छ। दशैं बिदा र प्राविधिकमा कोरोना संक्रमणका कारण शुक्रबारदेखि एक सातासम्म स्वाब संकलन स्थगन गरिएको जनाइएको छ। प्रदेश प्रयोगशालाका प्रमुख डा. जयवेन्द्र यादव नै कोरोना संक्रमित भएर आइसोलेसनमा छन्।
कोशी अस्पताल र प्रदेश प्रयोगशालाले पहिले संकलन गरिएको नमुना मात्रै परीक्षण हुने जनाएका छन्।
बिहीबारसम्म प्रदेश १ मा १६ हजार ८ जना कोरोना संक्रमित भइसकेका छन्।