नेकपाको सपथ कार्यक्रममा झडप हुँदा गाउँपालिका कमिटी सचिवको मृत्यु
पर्साको विन्दवासिनी गाउँपालिकामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गाउँ कमिटीको सपथ कार्यक्रम चलिरहेका बेला भएको झडपमा एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा नेकपाको गाउँपालिका कमिटीका सचिव मुकेश चौरसिया छन्। पार्टीकै एउटा समूहले सपथ कार्यक्रममा आक्रमण गरेपछि घाइते भएका चौरसियाको उपचारका क्रममा निधन भएको हो।
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले 'पार्टीको कार्यक्रममा योजनाबद्ध आक्रमण गरी आफ्नै कमरेडको हत्या गरेको' भन्दै दोषीमाथि कडा कारवाहीको माग गरेका छन्।
जिल्ला कमिटीलाई पठाएको शोक सन्देशमा नेपालले आक्रमण गर्ने र गराउनेहरु जुनसुकै आवरणमा बसेको भए पनि क्षमा दिन नमिल्ने बताएका छन्।
पर्साका नेकपा नेता अरविन्द सिंहले पार्टीमै संरक्षित आपराधिक समूहले आक्रमण गरेको बताए।