नेकपा कर्णालीको विवाद नयाँ मोडमा, मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव बहुमतले अस्वीकृत
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कर्णाली प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्ताव बहुमतले अस्विकृत गरेको छ।
संसदीय दलका नेता शाहीको निर्देशनमा नवनियुक्त प्रमुख सचेतक सीता नेपालीले बोलाएको बैठकले अविश्वास प्रस्ताव बहुमतले अस्विकृत गरेको हो। नेकपा संसदीय दलको कार्यालय सुर्खेतमा सम्पन्न बैठकमा उपस्थित १८ सांसद शाहीको पक्षमा उभिएपछि उक्त प्रस्ताव अस्वीकृत भएको मुगुका प्रदेशसभा सांसद चन्द्रबहादुर शाहीले हिमालखबरलाई जानकारी दिए।
बैठकमा सहभागि भएका सबै जना सांसदले प्रस्तावको विपक्षमा आप्mनो मत जाहेर गरेको उनले बताए। ३३ जना सांसद भएको नेकपा संसदीय दलको शुक्रबार बोलाइएको बैठकमा पूर्वमाओवादीका १० र पुर्वएमालेका आठ सांसद उपस्थित थिए। बैठकमा उपस्थित हुने पूर्व एमालेका सांसद सबै वरिष्ठ नेता माधवकुमार नेपाल समूहका भएको एक सांसदले हिमालखबरलाई जानकारी दिए।
दुई मन्त्री नै अनुपस्थित
मुख्यमन्त्री शाहीविरुद्ध संसदीय दलमा दर्ता भएको अविश्वास प्रस्तावको टुंगो लगाउन बोलाइएको बैठकमा उनकै सरकारमा सहभागी दुई मन्त्री अनुपस्थित भएका छन्। बैठकमा पूर्व एमालेको तर्फबाट प्रदेश सरकारमा सहभागी सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा अनुपस्थित भएका हुन्।
अविश्वासको प्रस्तावले नेकपा कर्णाली प्रदेशमा प्रष्ट धुब्रीकरण भएको छ। त्यहीकारण दुई मन्त्री बैठकमा अनुपस्थित भएका हुन्। अविश्वासको प्रस्तावको नेतृत्व गरेका नेकपा कर्णाली प्रदेश कमिटीका सहइन्चार्ज यामलाल कँडेल पक्षीय सांसद अनुपस्थित भएकाले उनकै समूहका दुई मन्त्री पनि बैठकमा नआएका हुन्।
गएको २५ असोजमा नेकपाका १८ प्रदेश सभा सदस्यले शाहीविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गरेका थिए।