अविश्वाश प्रस्तावबारे टुंगो लगाउन कर्णालीमा नेकपा संसदीय दलको बैठक बस्दै
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्तावबारे टुंगो लगाउन नेकपाको संसदीय दलको बैठक शुक्रबार बस्दै छ।
आफूविरुद्ध अविश्वासको प्रस्ताव आएपछि शाहीले पहिलो पटक बैठक बोलाएको दलकी प्रमुख सचेतक सिता नेपालीले बताइन्। अविश्वास प्रस्ताव आएपछि शाहीले दलका प्रमुख सचेतक गुलाब जंग शाहलाई हटाएर नेपालीलाई प्रमुख सचेतक नियुक्त गरेका थिए।
बैठक बस्ने सूचना दलको कार्यालयबाट सबै माननीयज्यूहरुलाई जानकारी गराइएको छ नेपालीले बताइन्। शाही विरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरुमध्ये केहीले पुनः शाहीलाई साथ दिएका छन् भने केही मौन छन्।
अविश्वास प्रस्तावको नेतृत्व गरेका नेकपा कर्णाली प्रदेशका सहइन्चार्ज यामलाल कँडेललगायत नेकपा अध्यक्ष केपी शर्मा ओलीनिकट सांसदहरुले भने आजको बैठकमा उपस्थित नहुने संकेत गरेका छन्। अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालको सहमतिमा बैठक बोलाइएको भन्दै ओलीनिकट एक सांसदले आफूहरु सहभागी नहुने बताए।
अविश्वास प्रस्तावलाई टुंगोमा पु¥याउन बैठक बोलाइएको सांसद चन्द्रबहादुर शाहीले जानकारी दिए। “दलको नेतामाथि अविश्वास दर्ता भएपछि कि विश्वासको मत छ भनेर प्रमाणित गर्नुपर्छ, हैन भने दलको नेताबाट हट्नु पर्छ। त्यही निर्णय गर्न बैठक बोलाइएको हो”, वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसद शाहीले भने, “दलमा दर्ता भएको अविश्वास प्रस्तावबाहेक अन्य कुनै विषयले बैठकमा प्रवेश पाउँदैन।”
शुरुमा दलमा दर्ता भएको प्रस्तावमा हस्ताक्षर गरेका शाहीले आफूलगायत आठ सांसदले हस्ताक्षर फिर्ता लिएको बताए। पार्टी एकतामा ठेस लाग्ने भएकाले कार्यकारी अध्यक्ष दाहालको आग्रहमा आफूलगायत आठसांसदले अविश्वास प्रस्तावलाई साथ नदिएको उनको भनाइ छ।
तीन दिनअघि कर्णाली विवाद समाधानको जिम्मा प्रदेश कमिटी र संसदीय दललाई दिने समझदारी ओली र दाहालबीच भएको सूचना दाहालको सचिवालयबाट सार्वजनिक भएको थियो। तर, अविश्वासको प्रस्तावपछि गुलावजंग शाहले गुमाएको पद र अविश्वासको प्रस्ताव दुवै फिर्ता हुने सहमति भएको सूचना बालुवाटारबाट ओलीको सचिवालयले जारी गरेको थियो।
गएको २५ असोजमा ओली पक्षका आठ, नेपाल पक्षका सात र दाहाल पक्षका तीन गरी नेकपाका १८ सांसदले मुख्यमन्त्री शाहीबिरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए।