उत्तर प्रदेशमा दारी पाल्ने मुसलमान प्रहरी निलम्बित, निर्णय साम्प्रदायिक भएको भन्दै विरोध
भारतको उत्तर प्रदेशस्थित बागपतमा एक मुसलमान सब-इन्स्पेक्टरलाई विनाअनुमति दारी राखेर अनुशासन पालन नगरेको आरोपमा निलम्बन गरिएपछि विवाद उत्पन्न भएको छ। धेरैले उत्तर प्रदेश प्रहरीप्रति साम्प्रदायिक निर्णय गरेको आरोप लगाएका छन्।
बागपत थाना रमालाका सब-इन्स्पेक्टर इन्तेसार अली निलम्बनमा परेका हुन्। उत्तर प्रदेशका प्रहरी अधीक्षक अभिषेक सिंहले कानूनको दायरामा रहेरै कारबाही गरेको दाबी गरेका छन्। इन्तेसार अलीले अनुमति नलिइ दारी पालेर अनुशासन पालन नगरेको उनको भनाइ छ।
तर, सइ अलीले भने आफूले गएको वर्ष नोभेम्बरमा नै दारी राख्न अनुमति मागेको भए पनि नदिइएको बताएका छन्। जरुरी परे आफू अदालत पनि जान तयार रहेको उनले बताएका छन्। यता प्रहरी अधीक्षक सिंहले आफू पनि अदालतको सामना गर्न तयार रहेको प्रतिक्रिया दिएको बीबीसी हिन्दीले उल्लेख गरेको छ।
यूपी पुलिसको निर्णयप्रति धेरैले सामाजिक सञ्जालमा प्रश्न उठाएका छन्। उनीहरुले यूपी पुलिसले धर्मबाट प्रेरित भएर पक्षपात गरिरहेको आरोप लगाएका छन्। तर, प्रहरी अधीक्षक सिंहले भने यो कारबाही धर्मसँग नजोडिएको दाबी गरेका छन्। उनले भनेका छन्, “यूपी पुलिस अनुशासित फोर्स हो। कमान्डिङ अफिसर हुनुको नाताले मैले अनुशासन पालना गराएको हुँ। सइलाई दारी काट्न सूचना दिए पनि नटेरेपछि कारबाही गरिएको हो।”
पुलिस नियमानुसार सिख प्रहरीबाहेक अन्य सबैले दारी राख्नका लागि अनुमति लिनु अनिवार्य छ। त्यसकारण यो प्रहरीको आन्तरिक मामिला भएको भन्दै यूपी पुलिसले यसलाई साजिक सञ्जालमा चर्चाको विषय नबनाउन आग्रह गरेको छ।
तर, ट्विटरमा विरोध गर्नेहरुले यूपी पुलिसको धार्मिक कार्यलाई उल्लेख गरेका छन्। भीम आर्मीसँग जोडिएका हिमांशु वाल्मीकिले ट्विटरमा लेखेका छन्, “उत्तर प्रदेशका हरेक पुलिस थानामा मन्दिर छन्, मस्जिद, चर्च, गुरुद्वार किन छैनन्? भारत देश संविधानबाट चल्छ, मनुस्मृतिबाट होइन।”
पूर्व आईपीएस अफिसर विभूति नारायण रायले भने एक प्रहरीको निलम्बनलाई जबर्जस्ती साम्प्रदायिक रङ दिइएको बताए। प्रहरीले हरेक दिन दारी फाल्नुपर्ने नियम छ। उनी भन्छन्, “म आईपीएस बनेपछि दारी नकाटेको भन्दै मलाई पनि दुई तीन पटक त कारबाही गरियो। पुलिस अनुशासित बल भएकाले पुलिस अधीक्षकको कारबाही जायज छ।”
तर, प्रहरीले मुसलमान प्रहरीलाई मात्र पेल्न थालेको विरोधी मत राख्नेहरुको आरोप छ। पत्रकार रोहिणी सिंहले ट्विटरमा एक प्रहरी अधिकारीको फोटो राखेकी छिन्, जसमा ती प्रहरी यूपीका मुख्यमन्त्री योगी आदित्यनाथको अघि घुँडा टेकेर हात जोडी टीका लगाइरहेका छन्।
उनले लेखेकी छिन्, “यदी सेवा नियम दारी राख्ने अनुमति दिँदैन भने कोही राजनीतिक व्यक्तिको अगाडि झुक्ने अनुमति पनि दिँदैन। वास्तवमा यो त दारी राख्नुभन्दा बढी नराम्रो हो। यी प्रहरीलाई पनि निलम्बन गर्न आवश्यक छ।”