महामारीका कारण यसपाली सेनाको फूलपाती बढाइँ प्रतीकात्मक हुने
नेपाली सेनाले बडादशैं अन्तर्गत नवरात्रिको सातौं दिन शुक्रबार अपराह्न सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गर्दैछ। यस वर्षको फूलपाती बढाइँ कोरोना संक्रमण महामारीको असहज अवस्थाका कारण परम्परालाई निरन्तरता दिने उद्देश्यले सांकेतिक रूपमा मात्र आयोजना गरिने भएको छ।
विगतका वर्षमा सेनाले भव्य समारोह आयोजना गरी फूलपाती बढाइँ हर्षोल्लासका साथ मनाउँदै आएको थियो।
बढाइँ समारोहमा राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रुपमा सरिक हुनेछिन्।
नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले यस पटक महामारीका कारण संस्कृति र परम्परालाई जीवन्तता दिन प्रतीकात्मक रूपमा मात्र फूलपाती बढाइँ गरिने बताए। उनका अनुसार, यस वर्षको बढाइँ थोरै कार्यक्रम सामेल गरिएकाले करीब आधा घण्टाको हुनेछ।
कोरोना जोखिमका कारण समारोहमा पाहुनाको संख्या कटौती गरी १०० जनामा सीमित गरिनेछ। सबै पाहुनालाई मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गरिएको छ।
इतिहाकार एवं प्राज्ञ दिनेशराज पन्तका अनुसार दुर्गापूजा एवं विजयोत्सवसँग जोडिएको फूलपाती बढाइँको लामो इतिहास रहे पनि टुँडिखेलको हालको फूलपाती बढाइँ पृथ्वीनारायण शाहको समयदेखि हुँदै आएको छ।