साइकलमा ललितपुर महानगरको हरियो ‘क्रान्ति’, धमाधम रंग्याउँदै साइकल लेन
गत वर्षदेखि ललितपुर महानगरपालिकाले कुपण्डोलदेखि लगनखेलसम्म, लगनखेलदेखि मङ्गलबजार, पुलचोकदेखि मङ्गलबजार क्षेत्रमा साइकल लेन बनाउन काम गरिरहेको छ। त्यस अन्तर्गत महानगरले सडकमा लाइन तान्ने, साइकलको संकेत बनाउने, ट्राफिक चिह्न राख्ने र सवारी साधनलाई यसबारे जानकारी दिने काम गरेको थियो।
अहिले भने महानगरले यही कोरिएको लाइनमा प्रष्ट रुपमा साइकल लेन चिनाउने गरी हरियो रङ लगाइरहेको छ।
गत वर्षको चैत्रभित्रमै रङ लगाइसक्ने महानगरको योजना थियो। तर, रङ नपाइनु र त्यसपछि कोरोनाभाइरस संक्रमण रोकथामका लागि बन्दाबन्दी शुरु भएकाले ढिलाइ भएको ठेकेदार सुशील श्रेष्ठले बताए।११ दिनदेखि दैनिक १४ घण्टा काम गरिरहेको र दशैंभित्र रङ लगाएर सक्ने योजना रहेको उनले जानकारी दिए।
“पहिला विविध कारणले ढिला भयो। काममा कुनै अवरोध नआए थपिएको समयभित्र सक्ने तयारीमा छौं”, श्रेष्ठले भने।
अहिले १० किलोमिटर क्षेत्रमा साइकल मार्ग बनाएको महानगरले यही कार्यक्रमलाई निरन्तरता दिंदै यो वर्ष थप २२ किलोमिटरमा साइकल लेन बनाउने तयारी गरिरहेको छ।
दिउँसो गाडीहरुको चापका कारण काम गर्न अवरोध भएकाले अहिले रातको समयमा काम भइरहेको उनले बताए। उनका अनुसार, रङ लगाउन र साइकलको चिह्न बनाउन अब केही ठाउँमा मात्र बाँकीे छ।
साइकलप्रेमी भन्छन्– सराहनीय काम
ललितपुर महानगरले साइकल सिटी बनाउन गरेको यो काम सानो भए पनि महत्वपूर्ण भएको नेपाल साइकल सोसाइटीका रत्न श्रेष्ठले बताए। उनले भने, “साइकल सिटी बनाउन चौडा बाटो नै हुनुपर्छ भन्ने छैन। भएको सडकमा पनि व्यवस्थापन गर्न सकिने देखेर ललितपुरले काम थालेको छ, यो ठूलो कुरा हो।” साइकल लेन छुट्याउने गरी हरियो रङ लगाउने कार्यले साइकल प्रयोगकर्ताहरुलाई हौस्याएको उनले बताए।
गत वर्षको १४ मंसीरमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ‘साइकल सिटी कार्यक्रम’ को उद्घाटन गर्दै ललितपुरलाई साइकल सिटी बनाउने घोषणा गरेका थिए। मेयर महर्जनको सोही घोषणा अनुरुप महानगरले काम गरिरहेको छ।
अहिले १० किलोमिटर क्षेत्रमा साइकल लेन बनाइएको छ। यही कार्यक्रमलाई निरन्तरता दिंदै यो वर्ष महानगरले थप २२ किलोमिटरमा साइकल लेन बनाउने तयारी गरिरहेको छ। दशैंपछिदेखि सानेपा, भनीमण्डल लगायत क्षेत्रमा काम गर्ने महानगरका सूचना अधिकारी रुद्र गौतमले बताए।
उनले भने “रिङरोड क्षेत्रभित्रका विभिन्न स्थानमा २२ किलोमिटरमा काम हुनेछ। दशैं लगत्तै यी क्षेत्रमा लाइन कोर्ने, साइकल चिह्न बनाउने र हरियो रङ लगाउने महानगरको तयारी छ।”
साइकल प्रयोगकर्ताहरुले हरियो रङ पोतेर लेन छुट्याइएको सडकमा साइकलसहितको फोटो सामाजिक सञ्जालहरुमा राख्दै ललितपुर महानगरको यो कामको चर्चा गरिरहेका छन्।