काठमाडौं उपत्यकामा १ हजार ५५२ जनामा कोरोना पुष्टि
काठमाडौं उपत्यकामा बिहीबार १ हजार ५५२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा १ हजार २८३, ललितपुरमा १५७ र भक्तपुरमा ११२ जना नयाँ संक्रमित भेटिएका हुन्।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १५ हजार २५५ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६३७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार, देशभर २९० जना करोना संक्रमितको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ भने ७७ जनाको भेन्टिलेटरको सहारामा उपचाररत छन्।