अमेरिकी प्रतिबन्ध अन्तर्राष्ट्रिय अधिकारको उल्लंघन : भेनेजुएला
भेनेजुयला सरकारले संयुक्त राज्य अमेरिकाले एकतर्फीरूपमा भेनेजुयलामाथिको नयाँ प्रतिबन्धको कडारुपमा विरोध गरेको छ।
अमेरिकाको उक्त निर्णयको आइतबार विरोध गर्दै यसको कानूनी समाधान खोज्ने बताएको छ ।
अमेरिकी ट्रम्प प्रशासनद्वारा दक्षिण अमेरिकी मुलुक भेनेजुयलाको पेट्रोलियम उद्योगमाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्ध सम्बन्धित अन्तर्राष्ट्रिय कानूनमार्फत प्रतिरोध गर्ने भेनेजुयलाले जनाएको छ ।
“भेनेजुयलाले अमेरिकाद्वारा प्रतिबन्ध लगाउने अमेरिकी ट्रम्प सरकारको निर्णयलाई स्वार्थी तथा अपराधी निर्णय भन्दै यसबाट आफ्नो मुलुकको अन्तर्राष्ट्रिय अधिकारको उल्लंघन भएको छ,” भेनेजुयलाका विदेश मन्त्री जर्ज अरियाजाले शनिबार ट्वीटरमार्फत जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
वासिङ्टनले भेनेजुयलाको राज्य सञ्चालित पेट्रोलियम उद्योग पीडीभीएसएका तेल बोक्ने विभिन्न ३४ पानीजहाजमाथि प्रतिबन्ध लगाउने घोषणापछि भेनेजुयलाको आधिकारिक प्रतिक्रिया आएको हो ।
यो निर्णयले आफ्नो छिमेकी मित्रराष्ट्र क्युवामा तेल निर्यातका लागि समस्या परेको भेनेजुयलाको भनाइ छ ।
प्रतिबन्धले लाइवेरियास्थित बाल्लिटो सिपिङ कम्पनी, ग्रीसस्थित प्रोपर इन म्यानेजमेन्ट कम्पनी जसले क्युवाका लागि सामान ढुवानी गर्दै आएका छन् प्रतिबन्धले यी सबैलाई प्रभावित पार्ने बताइएको छ ।
“वासिङ्टनले प्रतिबन्ध लगाएर भेनेजुयला तथा क्युवाका जनतालाई मात्र सजाय दिने नभई तेलको ढुवानी गर्ने अन्तर्राष्ट्रिय कम्पनीहरू तथा व्यापार संगठनसमेतलाई प्रभावित पार्ने देखिएको छ,” विज्ञप्तिमा उल्लेख छ ।