कोरोना महामारी, त्यसमै थपिंदैछ हिउँदमा वायु प्रदूषणको डरलाग्दो जोखिम
जाडो महीनामा हुने वायु प्रदूषणले नेपाल र भारतको कोरोना महामारी विरुद्धको संघर्षलाई थप जटिल बनाउन सक्छ ।
पछिल्ला आठ महीनामा कोभिड–१९ महामारीका कारण नेपालमा मृत्यु हुनेको संख्या ८०० नाघेको छ। सन् २०१९ भरमा वायु प्रदूषणले प्रत्यक्ष रुपमा देशभर ४२ हजार १०० जनाको ज्यान लियो।
शहरी क्षेत्रको वायु प्रदूषण तथा भान्छाबाट निस्कने घरभित्रको धुवाँका कारण कोरोनाभाइरस महामारीभन्दा कैयौं गुणा धेरैको ज्यान गइरहेको छ। अनुसन्धानकर्ताहरु चिसो मौसम शुरु हुन लागेका कारण कोभिड–१९ को थप विस्तार तथा वायुको गुणस्तर खस्किएर दोहोरो मार पर्ने भयमा छन्।
कोरोनाभाइरस संक्रमणको महामारी निम्तिनु भन्दा अगाडि पनि विश्व स्वास्थ्य संगठनले भारतको गंगा नदीको तटको मैदान (जसमा नेपालको तराईको एक क्षेत्र पनि पर्छ) को वायुको कमसल गुणस्तरका कारण लाखौं मानिसको आयु औसत जीवनकालको ३.७ वर्षले घटिरहेको चेतावनी दिएको थियो।
बुधबार सार्वजनिक गरिएको स्टेट अफ ग्लोबल एअर २०२० प्रतिवेदनले भनेको छ, “लामो समयसम्म प्रदूषित वायुसँगको सम्पर्कले निम्त्याउने स्वास्थ्य अवस्था, मधुमेह तथा मुटु र श्वासप्रश्वाससँग सम्बन्धित रोगको जोखिम कोभिड–१९ महामारीसँग जोडिंदा थप जटिल हुन्छ।”
यो प्रतिवेदनले वायु प्रदूषण यस क्षेत्रमा सबै प्रमुख मृत्युदरका लागि चौथो सबैभन्दा ठूलो जोखिम कारक भएको देखाएको छ। उच्च रक्तचाप, चुरोट, सूर्ती सेवन तथा न्यून पोषण यो क्षेत्रका मानिसहरुको उच्च मृत्युदरका लागि मुख्य तीन कारक हुन्।
वायु प्रदूषणका कारण विश्वभरिमा वार्षिक ६७ लाख मानिसको ज्यान जाने गरेको र त्यसमध्ये २१ लाख दक्षिणएशियामा रहेको प्रतिवेदनले औंल्याएको छ। नेपालमा ४२ हजार १०० जनाको ज्यान गएको प्रतिवेदनमा उल्लेख छ । नेपाल संसारका सबैभन्दा धेरै आँखाले देख्न नसकिने मसिना धुलाका कण (पीएम २.५– हावामा रहने २.५ माइक्रोनभन्दा साना हानिकारक कण) प्रदूषण भएको देशमध्ये एक हो। दक्षिणएशियाका भारत, बांग्लादेश र पाकिस्तान पनि हावामा सबैभन्दा धेरै पीएम २.५ रहेका १० देशको सूचीमा छन्।
यो प्रतिवेदनले भारतका शतप्रतिशत मानिसले विश्व स्वास्थ्य संगठनले तोकेको वायुको गुणस्तरको मापदण्डभन्दा धेरै पीएम २.५ भएको वायुमा श्वास फेरिरहेको उल्लेख गरेको छ। नेपालका ९८ प्रतिशत मानिस बस्ने क्षेत्रमा पनि संगठनले तोकेको मापदण्डका तुलनामा प्रदूषित वायु छ।
अमेरिकाको बोस्टनस्थित हेल्थ इफेक्ट्स इन्स्टिच्युट र इन्स्टिच्युट फर हेल्थ मेल्ट्रिक्स एण्ड इभालुएसनले संयुक्त रुपमा यो अध्ययन प्रतिवेदन प्रकाशित गरेका हुन्। वायु प्रदूषण र कोभिड–१९ दुवैले मानिसको श्वास प्रश्वासको प्रणालीलाई प्रभावित गर्छ र निमोनियातर्फ लैजान्छ। पहिलेदेखि नै मुटु र फोक्सोसँग सम्बन्धित रोगीहरुलाई कोरोनाभाइरसको संक्रमणको जोखिम अधिक हुन्छ। संक्रमणको जोखिम मात्र होइन, संक्रमण भइहाले तिनको स्वास्थ्य पनि निकै जटिल बन्ने गर्छ।
बिहीबारसम्म नेपालमा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या ४५ हजार नाघेको छ भने मृतक ८०० नाघेका छन्।
नेपालमा सन् २०१९ मा क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिसअर्डर (सीओपीडी) बाट मृत्यु भएकामध्ये ६५ प्रतिशतभन्दा अधिक वायु प्रदूषणसँग जोडिएका छन्। भारतमा यो संख्या ६० प्रतिशत छ। दुवै देशमा मुटु रोगबाट भएका मृत्युमध्ये ३० प्रतिशतभन्दा धेरै वायु प्रदूषणसँग सम्बन्धित छ।
चिसोको मौसमसँगै वृद्धि हुने फ्लुका कारण आउँदा महीनाहरुमा यस्तो जोखिम अझ सघन हुनेछ। चिसो महीनामा वायु प्रदूषण पनि झन् बढ्ने र भाइरसको विस्तार तीव्र हुने अनुमान छ। भारतमा ७६ लाख मानिस कोभिड–१९ सँग जुधिरहेका छन्। नेपालमा पनि संक्रमण तीब्र बन्दा राजधानी काठमाडौंमा आईसीयू, भेन्टिलेटरसहित अन्य स्वास्थ्य सामग्रीको अभाव छ।
यद्यपि, वायु प्रदूषण र कोभिड–१९ को पूर्ण सम्बन्धबारे अहिलेसम्म प्रष्ट जानकारी छैन। तर पनि, वायु प्रदूषण तथा बढ्दो मुटु र फोक्सोसम्बन्धी रोगबीच गहिरो सम्बन्ध भएको प्रष्ट छ। पछिल्लो समयमा दक्षिणएशियाको सबैभन्दा बढी वायु प्रदूषित क्षेत्रमा कोभिड–१९ को असर निकै बढ्न सक्ने आकलन गरिएको छ।
हेल्थ इफेक्ट्स इन्स्टिच्युटकी वायुको गुणस्तरसम्बन्धी वैज्ञानिक पल्लवी पन्त भन्छिन्, “वायु प्रदूषणले व्यक्तिको प्रतिरक्षा प्रणालीमा असर गर्दै निमोनियाजस्तो श्वासप्रश्वाससँग सम्बन्धित जटिलता निम्त्याउने देखाएको छ। मुटु र फोक्सोका बिरामीहरुलाई कोरोनाभाइरसले छिटो र गम्भीर रुपमा असर पुर्याउँछ।”
अनुसन्धानकर्ताहरुका अनुसार उच्च वायु प्रदूषण भएको क्षेत्रमा बस्ने मानिसलाई कोभिड–१९ संक्रमण भएमा स्वास्थ्य निकै प्रतिकूल र जटिल बन्ने जोखिम हुन्छ। प्रतिवेदनले नेपाल र भारत दुवै देशमा वायु प्रदूषण उच्च जोखिमको कारण रहेको र यसपछि धूमपान र उच्च रक्तचापलाई जोखिमका अरु प्रमुख कारण मानेको छ।
नेपाल र भारत दुवै देशमा वायुको गुणस्तरका विषयमा पर्याप्त चिन्ता र सचेतना देखिए पनि सरकारको तर्फबाट वायु प्रदूषण रोकथाम र नियन्त्रणका लागि गम्भीर पहल भएको देखिंदैन। नेपाल–भारत दुई देशबीच वायु प्रदूषणको नियन्त्रणका लागि पनि कुनै खास निर्णय गरिएका छैनन्। उत्तरी भारतमा हिउँदका महीनाहरुमा जलाइने धानको गाँजका ठूटा तथा अन्य चिजबिजका कारण प्रदूषित वायु फैलिंदै हिमालय क्षेत्रसम्म आइपुग्छ।
प्रतिवेदनले नेपालसहितका केही देशहरुमा पछिल्ला वर्षहरुमा गरिएका केही प्रयासका कारण वायु प्रदूषणको स्तरमा केही सुधार आएको तर दक्षिणएशिया र अफ्रिकाका उच्च वायु प्रदूषण भएका अरु देशहरुमा खासै परिवर्तन नभएको पनि उल्लेख गरेको छ।
वायु प्रदूषणले विश्वव्यापी रुपमा नवजात शिशुहरुमा पारेको असरबारेको यो पहिलो बृहत विश्लेषणले बाह्य र घरभित्रको वायु प्रदूषणका कारण पाँच लाख नवजात शिशुहरुको जन्मिएको एक महीनाभित्रै ज्यान जानेगरेको उल्लेख गरेको छ। ६४ प्रतिशत शिशुको मृत्युको कारण दाउरा, गुइँठा जस्ता ठोस इन्धनका स्रोत बालेर निस्किने धुवाँ र प्रदूषणसँग सम्बन्धित छ। दक्षिणएशिया र अफ्रिकाका देशहरु यसको ठूलो मारमा छन्।
नेपालमा सबै नवजात शिशु मृत्युको २२ प्रतिशत कारण वायु प्रदूषणसँग जोडिएको छ। जसको मुख्य कारण चुल्होमा बालिने दाउराबाट निस्किने धुवाँ र प्रदूषण हो। भारतमा नवजात शिशु मृत्युको ४६ प्रतिशत घरभित्रको वायु प्रदूषणका कारण हुने गरेको अध्ययनले देखाएको छ।