तीन महीनामै रु. १० अर्ब ६० करोडको चामल आयात
चालु आर्थिक वर्षको पहिलो तीन महीना (साउन–असोज मसान्त) मा रु. १० अर्ब ६० करोडको धान-चामल आयात भएको छ। भारत र तेस्रो देशहरुबाट यो परिमाणमा धान-चामल आयात भएको हो।
कोभिड–१९ का कारण खाद्यान्न अभाव हुनसक्ने अनुमान गर्दै चामल जगेडामा राख्ने अभ्यासका कारण देशभित्र खाद्यान्नको माग ह्वात्तै बढेको अनुमान गरिएको छ। अघिल्लो वर्षको यही अवधिका तुलनामा धान चामल आयात दोब्बरले बढेको देखिएको छ। अघिल्लो आर्थिक वर्षको असोजसम्ममा रु. ५ अर्ब ६ करोडको धान-चामल आयात भएको थियो।
भन्सार विभागको तथ्यांक अनुसार, पहिलो तीन महीनामै नेपालले रु. ७० अर्ब ५८ करोडको कृषि वस्तु आयात गरेको छ। करीब रु. २० अर्बको त अन्न मात्रै आयात भएको छ। यसमध्ये रु. ४ अर्ब ३८ करोडको मकै आयात भएको छ। कुखुराको दाना बनाउन अधिकांश मकै विदेशबाट आयात हुन्छ।
यो अवधिमा रु. ९ अर्ब ३६ करोडको तरकारी, रु. ४ अर्ब १० करोडको फलफूल, रु. २ अर्ब ७२ करोडको चिया-कफी आयात गरिएको छ।
आर्थिक क्रियाकलाप सुस्त भएका कारण आयात अघिल्लो वर्षको तुलनामा करीब १२.७४ प्रतिशतले घटेको छ। पहिलो तीन महीनामा नेपालले रु. २ खर्ब ९२ अर्बको वस्तु आयात गरेको छ। त्यस्तै, निर्यात भने १४.२८ प्रतिशतले बढेर रु. ३१ अर्ब ५ करोड पुगेको छ।
आयातको तुलनामा निर्यातको हिस्सा सानो भएका कारण नेपालको व्यापार घाटा पहिलो तीन महीनामा रु. २ खर्ब ६१ अर्ब छ।