छुट्टाछुट्टै घटनामा २ को मृत्यु
बाटो खन्ने क्रममा माथिबाट झरेको ढुंगा र माटोले पुरिएर स्काभेटर चालकको मृत्यु भएको छ ।
ताप्लेजुङको श्रीजंगा गाउँपालिका–५ पेदाङमा आइतबार बाटो खन्ने क्रममा माथिबाट झरेको ढुंगा र माटोले पुरिएर स्काभेटर चालकको मृत्यु भएको हाे।
खरबारीबाट राष्ट्रिय माध्यमिक विद्यालय पेदाङ जोड्ने बाटो खन्दै गरेको स्काभेटरलाई बाटो माथिबाट झरेको ढुंगा र माटोले पुरेको थियो । पुरिएर सिन्धुलीको कमलामाई नगरपालिका १ बेल्टारका वीरबहादुर तामाङ (२१) को घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले माटो खनेर तामाङको शव निकाली पोष्टमार्टमका लागि तेल्लोक स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगेको छ । पुरिएको स्काभेटर निकाल्ने प्रयास भइरहेको प्रहरीले बताएको छ ।
स्काभेटर पुरिएकाले विद्यालय जोड्ने बाटो बनाउने काम अवरुद्ध भएको छ । यस्तै उदयपुरको बेलका नगरपालिका ७ डाकामालुङमा घाँस काट्ने क्रममा भीरबाट खसेको ढुङ्गा लागेर आइतबार एक महिलाको मृत्यु भएको छ ।
घरनजिकै घाँस काट्दै गरेकी वरुणकुमारी राईलाई ढुङ्गाले लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।