कोरोनाभाइरसको ‘यल्लो कार्ड’
हाम्रो सोचाइ, शासनशैली, व्यवहार, चरित्र सबैलाई कोभिड—१९ को यो महामारीले ‘यल्लो कार्ड’ देखाइदिएको छ। बाँकी समय संयमित भएर जाने–सकेसम्म गल्ती नै नगरी बाँच्ने वा आफ्नो लहडमा खेलेर स्वयंको सान्दर्र्भिकता गुमाउने, यो सबै हाम्रो जिम्मामा छ।
‘स्कूल कलेजले पहिले पाठ पढाउँछन् र पछि परीक्षा लिन्छन्
जीवनले पहिले परीक्षा लिन्छ र पछि पाठ पढाउँछ।’
–अज्ञात
समयले अहिले हामीलाई बलजफ्तीसित कोभिड–१९ नामक परीक्षामा बसाएको छ। थाहा छैन यसको पाठ कहिले र कसरी पढिने हो, के सिकिने हो !
सँगै प्रश्न उठ्छ, हामी सिक्न त सिक्छौं? यसअघि विभिन्न तहमा भोगेका घटना–दुर्घटनाहरूबाट हामीले के के सिक्यौं? के हामी आफूले सिके–जाने अनुसारको जीवन बाँच्न स्वतन्त्र छौं? स्वतन्त्र छौं भने त्यसको हद र सीमा कहाँसम्म छ र कहाँदेखि त्यसमा अर्काको हस्तक्षेप शुरू हुन्छ? हाम्रा जीवनका विभिन्न वृत्तहरूमा हाम्रै सिकाइ र जानकारी निर्णायक हुन्छ त? हुँदैन भने किन?
पाठ र निर्णय गर्नेहरू अलग हुन्छन्
अघिल्लो शताब्दीका विश्वयुद्ध, अन्तर्देशीय युद्ध र गृहयुद्धहरूबाट आम मान्छेले युद्ध खराब हो भन्ने जाने, शङ्कै नहुने गरी जाने। युद्धबाट जनधनको क्षति हुनेहरूले त युद्धको संहार आँसु र रगतमा मुछिएर, कहिल्यै नबिर्सिने गरी बुझे। सबै विधा र विषयका विद्वान्हरूले लडाइँका अँध्यारा पक्षहरूलाई आआफ्नै विधा र विशेषज्ञता अनुसार बुझे। तर दुर्भाग्य, लडाइँ गर्ने कि नगर्ने भन्ने बारे तिनीहरूको बुझाइ कहिल्यै पनि निर्णायक भएन। संसारभर नै सत्ता, शक्ति र पैसाका भोकाहरूले युद्धका पक्षमा जनमत बनाइरहे, यो वा त्यो निहुँमा मान्छेभित्रको आदिम युयुत्सा भड्काइरहे र अनेक बहानामा सर्वसाधारणलाई युद्धमा होमिरहे।
त्यसैले त बीसौं शताब्दीको दोस्रो दशकमै पहिलो विश्वयुद्धमा करोडौं मान्छेको रगत र आँसुमा मुछेल भएको विश्व बीस वर्ष नबित्दै दोस्रो विश्वयुद्धका लागि फेरि सुरियो। अणुबम पड्क्यो, महाविनाश भयो। तर त्यसपछि पनि संसार युद्धबाट एक दिन पनि बिसाएन, अहिलेसम्म पनि बिसाउन पाएको छैन।
समयले पाठ त पढाइरहेकै हुन्छ। तर संसार फेरि पनि शक्तिशालीहरूको स्वार्थ अनुसार नै चल्छ, चलाइन्छ। युद्धका छोटेबडे सरदारहरूले, शक्तिका भोका शासकहरूले, सेनापतिहरूले, राष्ट्र र धर्मका नाममा मान्छेको बुद्धि भुट्नेहरूले, शक्तिशाली राष्ट्रहरूले र हतियार उद्योगका मालिक र दलालहरूले लडाइँ भनेको भयङ्कर नाफा हुने कुरा हो भन्ने बुझेका छन् र त्यसको निरन्तर अभ्यास गरिरहेका छन्।
पहिलो विश्वयुद्धमा करोडौं मान्छेको रगत र आँसुमा मुछेल भएको विश्व बीस वर्ष नबित्दै दोस्रो विश्वयुद्धका लागि फेरि सुरियो। अणुबम पड्क्यो, महाविनाश भयो। तर त्यसपछि पनि संसार युद्धबाट एक दिन पनि बिसाएन, अहिलेसम्म पनि बिसाउन पाएको छैन।
संसारका सबैजसो युद्ध अन्यायको सामना गर्ने निहुँमा भएका हुन्छन् र तिनमा झन् ठूला अन्याय र युद्ध अपराधहरू भइरहेका हुन्छन्।
अपवादलाई छाड्दा जसले युद्धको चोट भोग्छ, त्यसले कहिल्यै निर्णय गर्न सक्दैन। जसले निर्णय गर्छ, त्यो प्रायः युद्धको चोटबाट जोगिन्छ।
युद्ध त हाम्रो सिकाइको राजनीतिको कुरा थाल्ने मेलो हो, दृष्टान्त हो। यस पटक कुरा महामारीको, महाव्याधिको !
अनपेक्षित, तर अज्ञात होइन
अहिले सिङ्गो विश्व सृष्टिका सबभन्दा साना मध्येको, अजीवको विषाणुसितको लडाइँमा मग्न छ। यो बन्दूक र बम पड्काएर गरिने युद्ध होइन। तर यसमा पनि युद्धकै जस्तो दोषारोपणको खेलले, अर्को जाति र अर्को मान्छेप्रतिको घृणाले, वैध–अवैध व्यापारले, सत्तासीनहरूका स्वार्थ र अहङ्कारले काम गरिरहेको छ। र, यसमा पनि अत्यन्त कष्टकर रोगसित भिडेर वा प्रियजनहरू गुमाएर पाठ पढ्नेहरू र निर्णय गर्नेहरू अलग छन्।
संसारमा मान्छेले नचिताएका, अनपेक्षित कुरा नै भइरहेका हुन्छन्। मरौंला भन्ने डर पटक्क नभएका मान्छे फ्याट्ट मर्छन्। आफू मात्र होइन, सन्तान समेत सधैं शासनमै रहन्छन् भन्ने सोचेका महाबली सम्राटहरू आफ्नै राजमुकुट शोकेसभित्र राखिएको देख्ने अवस्थामा पुग्छन्। चुनाव जितेर अझ बलवान् हुनका लागि करोडौं मूल्यको कालो धन थुपार्नेहरूको जमानत जफत भएको पनि नदेखिएको होइन। नियमित आकस्मिकता संसारको नियम नै हो।
यस वर्षको दशैं यस्तो निरस र निराश होला भन्ने कसले चिताएको थियो? दशैं त एउटा समयको थोप्लो मात्र हो, संसारभरका मान्छेको स्वतन्त्रता यति नराम्रोसित कुण्ठित होला भन्ने कसलाई लागेको थियो र?
अमूक पार्टी र तिनका सेनामेनाले दुई दिन ‘नेपाल बन्द’ गर्दा समेत भित्रदेखि आक्रोशित हुने हामी महीनौं लामो बन्दाबन्दी भोग्न सकौंला भन्ने कसलाई अनुमान थियो र? आफ्ना गतिविधि, आवतजावत र उपभोगमा यस्तो कटौती गर्न सकिएला भन्ने कसलाई थाहा थियो र?
अन्तरिक्षसम्म पखेटा फिंजाएको, सृष्टिको सबभन्दा शक्तिशाली मानवजाति एउटा भाइरसका अगाडि यति निरीह, कमजोर र काँतर सावित होला भन्ने कसले सोचेको थियो र?
तर यसो भन्ने छूट ‘सर्वसाधारण’ लाई मात्र छ। सम्बन्धित विधाका डाक्टर एवं वैज्ञानिक, राजनीतिज्ञ, नीति निर्माताहरूलाई भने यस्ता कुरा गर्ने सुविधा छैन। महामारी, तिनको सम्भावना र तयारी बारे तिनले कुरा बुझेकै हुनुपर्छ। ‘एपिडेमियोलोजी’ नाममा सरुवा रोगहरू बारे पढाइ हुने र स्वास्थ्य मन्त्रालय अन्तर्गत सरुवा रोग हेर्ने निकाय नै हुने भएकाले नेतृत्व तहमा हुनेहरूका सामु सधैं पद अनुसारका दायित्वहरू हुन्छन्। सरकारहरूले अन्तर्राष्ट्रिय मान्यता अनुसार महाव्याधिहरूको सामना गर्न सधैं तत्पर रहनुपर्छ। सरुवा रोग नियन्त्रणका प्रयत्नहरू बर्ड फ्लूका नाममा पोल्ट्री फार्महरूमा छापा मारेर कुखुरा गाड्नेमा सीमित रहनु हुन्न।
यस पटक स्थिति अलि फरक रह्यो। कोरोनाभाइरसले राम्रै तयारी हुनेहरूलाई समेत जिल्याइदियो र कुनै पनि प्रकारका महाव्याधिको सामना गर्न आधारभूत तयारी नभएका अकर्मण्य सरकारहरूले पनि एक हदसम्म त्यो आकस्मिकताको लाभ पाए। तर त्यो लाभ शुरूका केही महीनाका लागि मात्र थियो। धेरै देशहरूले त्यसै बीचमा आफूलाई सैद्धान्तिक र व्यावहारिक रूपमा बलिया बनाए र यो महामारीको कुशलतापूर्वक सामना गर्न थाले।
तर दुर्भाग्य, इतिहासै सबभन्दा शक्तिशाली हाम्रो सरकार दिन प्रतिदिन गलत निर्णय तथा अनुत्तरदायी बोलीवचनसित प्रस्तुत हुन थाल्यो। सरकारहरू बलिया भएर मात्र हुँदैन, सरकारको प्रभावकारिता सरकारप्रमुखहरूको विवेकमा मात्र भर पर्दोरहेछ भन्ने कुरा पश्चिमी गोलाद्र्धको सर्वशक्तिशाली अमेरिका र पूर्वी गोलाद्र्धको महाशक्तिशाली भारतले बनाएको सबैभन्दा धेरै रोग फैलिएका देशहरूको परिचयले देखायो। अनेक रोगको पीडा आफैं बेहोरेका हाम्रा प्रधानमन्त्रीका सामु एउटा करुणामय छवि निर्माण गर्ने राम्रो अवसर थियो, तर उनी पनि बेसार पानी खाने र हाच्छिउँ गरेर उडाइदिने निर्देशन दिने बेसारे छविमै रमाए। अनि नेपाली जनताले आफ्ना सामु असुरक्षाको कहालिलाग्दो खाडल मात्र देख्नु कुन नौलो कुरा भयो र?
कोभिडको पानीढलो
कोभिड–१९ ले विश्वयुद्धहरूले भन्दा धेरै बढी मानिसलाई प्रभावित गरेको छ। विश्वको अर्थतन्त्रलाई, यति धेरै मान्छेको स्वतन्त्रतालाई आजसम्म कुनै पनि कुराले अवरुद्ध गराएको थिएन। त्यसैले भोलि यसभन्दा ठूलो महाव्याधि आए पनि त्यसलाई यसैसित तुलना गरेर हेरिनेछ। त्यस अर्थमा कोभिड–१९ आधुनिक मानव सभ्यताका लागि एउटा पानीढलोका रूपमा लामो समयसम्म सम्झिइने घटना भइसकेको छ।
अहिले हामी यो रोगबाट सङ्क्रमित नहुन, भइसकेको भए यसबाट बाँच्न र आफ्ना प्रियजनहरूलाई जोगाउन–बचाउन प्रयत्नरत छौं। तर सचेत नागरिकका रूपमा आफ्नो समयलाई प्रभावित गर्न चाहनेहरूले बाँचेर मात्र पुग्दैन। यो पानीढलोलाई हामीले मानव समाज हिंडिसकेका गोरेटाहरूलाई नियाल्ने ठाउँ र अब हिंड्ने बाटाहरूलाई सकेसम्म निरापद बनाउने अवसर बनाउने प्रयत्न पनि गर्नसक्छौं। यो ज्यानमारा व्याधिबाट जति पनि पाठ सिकिन्छ, तिनलाई युद्धले सिकाएको पाठ जस्तो निरर्थक हुनबाट जोगाउन सक्छौं। यसबाट पाएका मन्त्रहरूबाट अविवेकी शासक र तिनीहरूसितको मिलेमतोबाट राज्यको डाडुपन्युँ चलाउने मौका पाएका बिचौलियाहरूका स्वार्थहरूबाट आफूलाई जोगाउन सक्छौं।
सुनौलो घेरा र कालो बादल
कोभिड–१९ को कालो बादलमा पनि सुनौला घेरा भने नदेखिएका होइनन्। चैते दशैंभन्दा अघिदेखि बन्द स्कूलहरू बडादशैं सकिएपछि पनि खुल्ने छाँट छैन। गाउँमा, अधिकांश कम शिक्षित अभिभावकका छोराछोरीहरूका सान्निध्यमा रहेको व्यक्तिको नाताले मैले देखेको कुरा हो, ‘पढाइ’ रोकिएकै अवस्थामा पनि बालबालिकाको ‘सिकाइ’ मा उति ठूलो असर परेको छैन। धेरैले पहिलेको तुलनामा राम्रोसित घरव्यवहारका काम, व्यावहारिक सीप, हस्तकला जस्ता विभिन्न कुरा सिकेका छन्। अर्धशहरी र बजार क्षेत्रका बाबुहरूले ‘चिया खाजा’ मा बिताउने समयको राम्रै अंश घरमा बिताउन थालेका छन्। आफन्तहरूबीच पहिलेभन्दा धेरै कुराकानी हुन थालेको छ।
गाडी चढ्ने काम स्वाट्टै घटेको छ र पहिलेको तुलनामा निकै कम आवतजावतले पनि झण्डै उत्तिकै राम्रोसित व्यवहार चल्दो रहेछ भन्ने बुझ्न थालिएको छ। अटोमोबाइल (गाडी) को साटो मोबाइल (फोन) को चलन बढेको छ। लेखपढ, ब्याङ्किङ, भेटघाट सबै कुरामा कम्प्युटर र मोबाइल फोनको प्रयोग बढेको छ। इन्टरनेटका कारण सस्तोमा व्यापक जानकारीको भण्डारमा धेरैको पहुँच बढेको छ।
किनमेल घटेको छ। गाउँका साप्ताहिक हाटबजारहरू अति आवश्यक किनमेलका लागि सीमित भएका छन्। रक्सीको खपत निकै घटेको देखिन्छ। थोरै भए पनि खेतीपाती बढेको छ।
अर्कातिर, आफू चाहिं भीडभाडमै पनि नाकमुन्तिर मास्क झुण्ड्याएर हिंड्ने र अर्को कसैलाई ज्वरो आयो भनेको मात्र सुन्दा पनि ‘कोरोना सर्छ है’ भनेर अत्याउने निकै देखिन्छन्। शुरूदेखि नै फोन, रेडियो, टेलिभिजन लगायतका माध्यमहरूबाट दिइएका सावधानीका आधारभूत उपायहरू बेवास्ता गर्दा निकै डरलाग्दो अवस्था उत्पन्न भएको छ। युट्युबमा लोकप्रिय हास्य कार्यक्रम र ‘अन्तर्वार्ताहरू’ हेर्दा हाम्रो मूल्यप्रणाली, हास्यचेत र नकारात्मकतालाई सृजनशील हस्तक्षेपको ठूलो खाँचो देखिन थालेको छ।
ज्ञान ‘हाम्रो’ विज्ञान ‘उनीहरूको’
हिरोसिमा र नागासाकीमा अणुबम विस्फोट भएपछि बालकृष्ण समले ‘ज्ञान मर्दछ हाँसेर रोई विज्ञान मर्दछ’ के लेखेका थिए, हाम्रा परम्परावादी पढैयाहरूले ‘विज्ञान’ सित वैरभाव शुरु गरिहाले। छोराछोरीलाई विज्ञान पढाउँदासम्म विज्ञान ठीक, कुनै रोगको शल्यक्रिया गर्नलाई पनि वैज्ञानिक ज्ञानमा आधारित चिकित्सापद्धति ठीक, बाँकी सबै कुरामा पश्चिम अनुशासनहीन, षड्यन्त्र र धर्मप्रचार देख्नेहरूले कोरोनाभाइरसलाई पनि चीनले बनाएको, अमेरिकाले बनाएको, बिल गेट्सले बनाएको, विश्व स्वास्थ्य सङ्गठनले फैलाएको जस्ता अनर्गल कुरा फैलाउन थाले।
हामीसित ज्ञान र जानकारीहरूको समृद्ध भण्डार नभएको होइन, तर तिनलाई आस्थाको मन्दिरमा मात्र राख्ने कि प्रयोगशालामा पनि जाँच्ने भन्ने बारे सधैं नै अलमल भएकै हो। प्रयोग, प्रमाण र सिद्धान्तमा आधारित ज्ञानलाई ‘पश्चिमा’ भन्नु र आफ्ना परम्परागत जानकारीहरूलाई सर्वस्वीकार्य ‘विज्ञान’ बनाउन नसक्नु हाम्रो पहिलो कमजोरी हो र त्यो कमजोरी स्वीकार्न नसक्नु अर्को कमजोरी।
लोभमा डुबेको मान्छेका लागि नीति अनीति, पापधर्म केही पनि नहुने रहेछ। उसलाई ठेक्का चाहिन्छ, सम्पत्ति चाहिन्छ र चाहिन्छन् आफ्नो सम्पत्ति थन्क्याइदिने र आउने चुनावमा खर्च गरिदिने महामित्रहरू। शक्तिशाली मान्छेहरूले विवेकको प्रयोग गर्छन् भन्ने नसोचे पो सुखी भइने रहेछ। जस्तो कि सरकार स्वयंले गरीब जनतालाई अन्ततः ‘आफ्नो उपचार आफैं गर’ भन्यो नै !
फलतः हामीले ठूलो आडभरोसा पाउनसक्ने परम्परागत ज्ञान अधपिल्टो भएको छ। रोएर मर्ने विज्ञानलाई गाली गर्दै खाएको बेसार र गुर्जोले काम नदिएपछि ब्ल्याकमा भए पनि महामहँगो रेमडेसिभिर खोज्नु (काम लाग्दैन भन्ने सुन्दा सुन्दै) हाम्रो सैद्धान्तिक असफलता सिद्ध भएको छ।
आफैं भर पर्न नसक्ने कुराको गफ दिनु हाम्रो साझा चरित्र हो र पीपल र तुलसीले सबभन्दा धेरै अक्सिजन दिन्छ भन्ने कुरा गरेर नथाक्नेहरूले समेत न्युमोनिया हुँदा अक्सिजन सिलिन्डर वा कन्सन्ट्रेटरकै भरमा पर्नु हाम्रो पूर्वीय अहङ्कारको स्खलनको प्रमाण हो। आफूसित संसारको सर्वश्रेष्ठ ज्ञानहरूको भण्डार छ र आफ्ना विरुद्धमा संसारभरका सबैले सधैं षड्यन्त्र मात्र गर्छन् भन्ने मानसिकताबाट निस्कनुको विकल्प छैन, यो कुरा अब पनि नसिके हामी आफैंलाई ढिलो हुन्छ।
विभिन्न स्वामीजी, त्रिकालदर्शी गुरु र ज्योतिषीहरूले भविष्यवाणी गर्न सक्छन् र विभिन्न धर्मका प्रार्थना र अनुष्ठानहरूले दशा पन्छाउँछन् भन्ने कुराले यसपटक पनि फेल खायो। जगतका सृष्टि, पालन र संहार गर्न सक्ने ईश्वरलाई खुशी पार्ने र पारिराख्ने खुद्रा उद्यमहरूको असफलता यो समयको अर्को पाठ हो।
सौभाग्यवश ‘रोएरै मर्ने’ भए पनि विज्ञान पढेका विविध विषयका विज्ञहरू देशमा छन्। व्यक्तिले जे गरे पनि राज्यका सामु विज्ञलाई विश्वास गर्नुको विकल्प छैन। हो, विज्ञहरूका बीचमा पनि सैद्धान्तिक र व्यावहारिक विमति हुनसक्छन्। त्यस्तो भयो भने ती विज्ञहरूको ‘ट्रयाक रिकर्ड’ र कामका आधारमा विश्वसनीयता हेरेर भरपर्दा विज्ञको कुरा मान्नुपर्छ भन्ने अर्को पाठ हो।
सबभन्दा अप्ठ्यारो कुरा यहीं आउँछ। योग्यताका भरमा बसे–बाँचेका, सरकारसित नजिकिने र प्रभावशाली व्यक्तिहरूलाई खुशी पार्ने स्वार्थ र स्वभाव नभएका विज्ञहरू अलि ‘अप्ठ्यारा’ हुन्छन्। उनीहरू खोक्रो ‘सिस्टम’ र तिनका अकर्मण्य अगुवाहरूको आलोचना गर्ने सामथ्र्य राख्छन्। र, स्वाभाविक हो उनीहरू सरकारका लागि प्रिय हुँदैनन्।
दुर्भाग्यवश यो यस्तो ‘पाठ’ हो, जसमा सर्वसाधारणको कुनै नियन्त्रण हुँदैन। तर घटनाक्रमहरूप्रति चनाखो र सुसूचित रहन एवं आफ्नो विज्ञता नभएका विषयमा जान्ने पल्टेर निर्णय लिने व्यक्तिहरू चिन्न भने सचेत नागरिकलाई कसैले छेक्दैन। यो पनि एउटा पाठ नै हो।
लोभको अन्त्य छैन
केही पाठहरू प्रयोग गर्न मिल्ने खालका हुन्छन्, केही भने समाज र संसार बुझ्न मात्र काम लाग्ने खालका हुन्छन्। यस पटकको एउटा ठूलो पाठ हो, कस्तै अवस्थामा पनि, मृत्युकै मुखमा पुगेका बेला पनि मान्छेको लोभ र नाफाखोर प्रवृत्ति कम नहुने रहेछ। लोभमा डुबेको मान्छेका लागि नीति अनीति, पापधर्म केही पनि नहुने रहेछ। उसलाई ठेक्का चाहिन्छ, सम्पत्ति चाहिन्छ र चाहिन्छन् आफ्नो सम्पत्ति थन्क्याइदिने र आउने चुनावमा खर्च गरिदिने महामित्रहरू। शक्तिशाली मान्छेहरूले विवेकको प्रयोग गर्छन् भन्ने नसोचे पो सुखी भइने रहेछ। जस्तो कि सरकार स्वयंले गरीब जनतालाई अन्ततः ‘आफ्नो उपचार आफैं गर’ भन्यो नै !
यो अप्रिय समयमा नेपाली जनताले सबभन्दा नमीठा अप्रिय वचनहरू सुन्नुपर्यो र प्रायः त्यस्तो सुनाउनेहरू विभिन्न निकायका प्रवक्ताहरू नै भए। लोभ र अहङ्कारले एकै पटक छोपेका मान्छेहरूबाट जस्तै दुःखका बेला पनि मीठो बचन पाइँदैन, उनीहरू धिक्कारकै खेतीमा रमाउँछन्, यो पनि देखियो।
बाँच्नका लागि बाचा गर्न पाइने भए?
यो भाइरसबाट मुक्ति पाउन सजिलो छैन। संसारभरबाट निख्रिएपछि मात्र हामीले पनि यसबाट मुक्ति पाउने हौं। हामी अनिश्चित भविष्य बेहोर्न अभिशप्त छौं। दुर्भाग्यवश, हामी सरकारले पटक्कै साथ नदिएका अभागी नागरिकमध्येका भएका छौं। अहिले हाम्रो साझा दायित्व हो, सावधानी अपनाउनु र हेरचाह गर्नु– आफ्नो, आफ्नाको र सकेसम्म अरूको पनि।
हामीसित विकल्प छ, अर्को यल्लो कार्ड पाएपछि प्याभिलियनमा गएर आफ्ना गल्तीहरू बारे पछुताउने कि अहिल्यै सम्हालिएर खेल्ने?
हामीले गर्न सक्ने अर्को कुरा हो आफ्ना व्यवहार र विचारहरूको निर्मम आत्मसमीक्षा र मूल्याङ्कन। एउटा रोचक प्रश्न— यदि कुनै बाचा वा भाकल गरेर कोरोनाभाइरसको डर, कष्ट र मृत्युबाट मुक्ति पाइने भए हामी के के बाचा गर्न तयार हुँदा हौं? ‘अबको जीवन’ कस्तो बाँच्न रोज्दा हौं?
वा, अम्पायरका हातबाट भर्खरै पहेलो कार्ड देखेको फूटबल खेलाडी त्यो कार्ड फिर्ता हुने शर्तमा केकस्तासम्म बाचा गर्न तयार हुँदो हो?
हामी खेल मैदानमा छौं। प्रकृति, समाज, स्रोत र अवसरको वितरण, शिक्षा, स्वास्थ्य, सुरक्षा जस्ता अनेक कुराको नीति र व्यवस्थापनमा हाम्रो खेल निकै घन्चमन्च सहितको, निकै धाँधलीपूर्ण भइरहेको अनुभव भएको दशकौं भयो। जसरी पनि जित्नका लागि खेलिएको खेलमा खेलभावना कम र जिताइँ बढी भइरहेको छ। वातावरण विनाश, जलवायु परिवर्तन, खराब शासकहरूको चयन, अल्पसंख्यकहरूप्रतिको हेला, स्वार्थपूर्ण मौन जस्ता खराब खेलहरूमा मग्न हामीलाई समयले यो पहेंलो कोरोना कार्ड देखाइदिएको छ।
हामीसित अझै पनि विकल्प छ, जित्नका लागि होइन, रमाउन र टिक्नका लागि खेल्ने। तर फेरि पनि प्रकृतिप्रतिको पेलान चलिनै रह्यो, सीमा नाघेर घन्चमन्च भइनै रह्यो भने समय नामक अम्पायरले अर्को यल्लो कार्ड देखाइदिनेछ। यसको अर्थ खेलाडीले मैदानबाट बाहिरनुपर्नेछ।
हामीसित विकल्प छ, अर्को यल्लो कार्ड पाएपछि प्याभिलियनमा गएर आफ्ना गल्तीहरू बारे पछुताउने कि अहिल्यै सम्हालिएर खेल्ने?