अन्तिम सत्य- आन्तरिक पर्यटक
कोभिड–१९ महामारीबाट सबैभन्दा बढी मारमा परेको पर्यटन क्षेत्रको बुझाइ छ– विदेशी पर्यटकमा भर परेर महामारी जस्तो संकटसँग जुध्न नसकिने रहेछ, भरोसाको टेको त आन्तरिक पर्यटक नै रहेछन् !
कोभिड–१९ महामारीको संकटसँगै नेपालको पर्यटन क्षेत्र पनि अस्तव्यस्त भएको छ। गएको ७ महीनादेखि पर्यटकीय गतिविधि ठप्प छ। पर्यटकीय क्षेत्र सुनसान छन्।
१ कात्तिकदेखि सरकारले पर्यटन क्षेत्र विदेशी पर्यटकका लागि खुला गरेको घोषणा गरेको छ। तर, राजधानीसहितका शहरी क्षेत्रमा संक्रमण बढिरहेका कारण जोखिम झनै बढेको छ। सरकारले स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने शर्तमा पर्यटक आगमन खुला गरेको भए पनि जोखिम बहन गरेर पर्यटक नआउने नेपाल पर्यटन बोर्डका निर्देशक तथा प्रवक्ता मणिराज लामिछाने बताउँछन्।
नेपाल भित्रिएका पर्यटकले एक साता अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्ने, पीसीआर रिपोर्ट ‘नेगेटिभ’ देखाएपछि मात्र भ्रमणको अनुमति दिने भएका कारण आन्तरिक÷बाह्य दुवै पर्यटकका लागि घुमफिर असहज बनेको छ। लामिछानेको भनाइमा, कोरोना महामारीले प्याकेज पर्यटन प्रवर्द्धन, नयाँ गन्तव्य पहिचान र आन्तरिक पर्यटनमा जोड दिनुपर्ने अवस्था उत्पन्न गराएको छ।
महामारीकै समयमा आएको चालु आर्थिक वर्ष २०७७/७८ को बजेट भाषणमा सरकारले ‘देशदर्शन’ कार्यक्रमलाई प्राथमिकतामा राखेको छ। आन्तरिक पर्यटन प्रवर्द्धनका लागि अघि सारिएको यो कार्यक्रम सफल पार्न सरकारले ‘पर्यटन पुनरुत्थान कार्यदल’ पनि गठन गरेको छ।
कोरोनाले थलिएको पर्यटन पुनरुत्थान अभियानको थालनी स्वरुप संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले १० असोजमा ‘देशदर्शन’ कार्यक्रम सावर्जनिक गरेका छन्। आन्तरिक पर्यटन प्रवर्द्धनका लागि चालु बजेट वक्तव्यमै समावेश यो कार्यक्रम सफल पार्न सरकारले ‘पर्यटन पुनरुत्थान कार्यदल’ पनि गठन गरेको छ।
यो कार्यक्रम प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्डले कर तिरेका आधारमा सबै प्रकारका कर्मचारी तथा श्रमिकलाई अधिकतम रु.५० हजारसम्म अनुदान उपलब्ध गराउने प्रस्ताव गरेको छ। तर, अर्थ मन्त्रालयमा प्रस्तावित यो अनुदान रकम दुई महीना बितिसक्दा पनि स्वीकृत हुनसकेको छैन।
पर्यटन बोर्डका प्रवक्ता लामिछाने महामारीले ‘पहिले देश अनि विदेश भ्रमण’को पाठ सिकाएको बताउँछन्। उनका अनुसार, यो अवधारणा अन्तर्गत बोर्डले सातै प्रदेशसँगको सहकार्यमा १०० भन्दा बढी प्याकेज सार्वजनिक गर्ने गृहकार्य गरिरहेको छ।
बोर्डले एउटा प्रदेशमा कम्तीमा १० वटा गन्तव्य पहिचान गरेर प्याकेजको तयारी गरिरहेको छ।
आवश्यक आपतकालीन कोष
महामारी, विपत जुनसुकै बेला पनि आउन सक्ने भएकाले यसको सामना गर्न आपतकालीन कोष स्थापनाको आवश्यकता देखिएको छ। पर्यटन मजदूरहरूको भनाइमा यस्तो कोषलाई ‘मजदूर कल्याणकारी कोष’ पनि भन्न सकिन्छ। नेपाल ट्रेकिङ, ट्राभल, एअरलाइन्स, कार्गो तथा संस्कृति पुरातत्व पर्यटन मजदूर युनियन (युनिट्राभ) का अध्यक्ष सुमन पराजुली कोरोनाले आपतमा खर्च गर्ने तथा मजदूरलाई तत्काल राहत प्रदान गर्न विभिन्न कोष स्थापना गर्ने शिक्षा सिकाएको बताउँछन्।
युनिट्राभमा देशभरका ४५ हजार मजदूर आबद्ध छन्। पराजुलीका अनुसार तीमध्ये ६० प्रतिशतले महामारीका कारण रोजगारी गुमाइसकेका छन्। रोजगारी बँचेका पनि ३० देखि ५० प्रतिशतले मात्र तलब पाइरहेका छन्।
होटल क्षेत्रका मजदूरले पनि १५ पुससम्मका लागि रु.४ हजार ३०० देखि १० हजारसम्म मात्रै तलब पाउने होटल संघ नेपाल (हान)सँग सहमति गरेका छन्। तर, साना होटलका मजदूर भने यो न्यूनतम तलबबाट समेत बञ्चित छन्। उनीहरूमध्ये अधिकांश बेतलबी विदामा राखिएका छन्, कति निकालिएका छन्।
हानका प्रथम उपाध्यक्ष विनायक शाह महामारीले जोखिम व्यवस्थापनमा रहेको कमजोरी उदांगो पारेको बताउँछन्। “महामारीले हामीलाई जोखिम व्यवस्थापनमा ध्यान दिनुपर्ने पाठ सिकाएको छ”, उनी भन्छन्। महामारीको प्रभावले अर्थतन्त्र तत्काल चलायमान हुन नसक्ने भएकाले सुरक्षाका मापदण्ड अपनाएर कोरोनासँगै बाँच्ने रणनीति बनाउनुपर्ने शाहको सुझाव छ।
“कोभिड–१९ लामो समयसम्म रहने भएकाले अहिले नै दीर्घकालीन रणनीति बनाउनुपर्ने देखिन्छ, अहिले टिक्न जति गाह्रो भइरहेको छ, भोलि योभन्दा गाह्रो अवस्था पनि आउन सक्छ भनेर तयारी गर्नुपर्ने भएको छ।” - अनोज रिमाल, सीईओ, यती एअरलाइन्स
कोभिड–१९ महामारीले सबैभन्दा बढी असर पारेको उद्योगमध्येको हो, हवाई उड्डयन क्षेत्र। महामारीले उड्डयन क्षेत्र अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको व्यवसायीको भनाइ छ।
यस्तो अवस्थामा विकल्प के त ? वायुसेवा सञ्चालक संघका उपाध्यक्ष तथा यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनोज रिमाल महामारीले वायुसेवा कम्पनीलाई आन्तरिक पर्यटकमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता बोध गराएको बताउँछन्।
“अहिले टिक्ने भनेकै आन्तरिक पर्यटकबाट हो, त्यसका लागि विशेष प्याकेज ल्याउनुको विकल्प छैन” रिमाल भन्छन्, “अन्तर्राष्ट्रिय पर्यटकमा मात्र भर पर्दा यस्तो विपत्मा पर्ने संकट हामीले भोगिरहेका छौं, त्यसैले अब चेत्नुपर्छ।”
“संकटसँग जुँध्न मितव्ययिता अपनाउने, टिक्ने र बाँच्ने आधार खोजेर भविष्यको योजनामा लाग्नुपर्ने देखिन्छ” उनी भन्छन्, “सरकारले अनुदान नभई सहुलियत दिनुपर्छ।”
वायुसेवा सञ्चालक संघका महासचिव तथा समिट एअरका प्रबन्ध निर्देशक मनोज कार्की महामारीले उड्डयन व्यवसायमा अकल्पनीय क्षति भएको बताउँछन्। “संकटसँग जुँध्न मितव्ययिता अपनाउने, टिक्ने र बाँच्ने आधार खोजेर भविष्यको योजनामा लाग्नुपर्ने देखिन्छ” उनी भन्छन्, “सरकारले अनुदान नभई सहुलियत दिनुपर्छ।”
कार्की यो बेला व्यवसायीले असहज अवस्थामा कसरी काम गर्नुपर्ने रहेछ भन्ने सिकेका छन्। भन्छन्, “अहिले टिक्न जति गाह्रो भइरहेको छ, भोलि योभन्दा गाह्रो अवस्था पनि आउन सक्छ भनेर तयारी गर्नुपर्ने भएको छ।”
संकटको तयारी
नेपालको पर्यटन क्षेत्रका लागि कोभिड–१९ जस्तो महामारीको प्रहार नयाँ भए पनि संकट भने नयाँ होइन। दशवर्षे सशस्त्र हिंसा, २०७२ सालको भूकम्प, भारतको अमानवीय नाकाबन्दीले पर्यटन उद्योगलाई पटकपटक बिथोलिरह्यो।
नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीको अनुभवमा यस्ता सानाठूला संकटको सामना गर्न हरदम तयार भएर बस्नु नै अहिलेको महामारीको मुख्य पाठ हो। “देशभित्रका र विश्वव्यापी संकटको सामना गर्न हामीसँग भिन्दाभिन्दै योजना हुन आवश्यक छ, कोभिड–१९ यसका लागि दह्रो चेतावनी बनेर आएको छ”, उनी भन्छन्।
“पर्यटक नआएको महामारीको यो अवसरमा सरकार र निजी क्षेत्र दुवैसँग नयाँ पर्यटकीय क्षेत्रको पहिचान, विकास, विस्तार र प्रवर्द्धन गर्ने समय पनि छ।” - दीपकराज जाेशी, पूर्व सीईओ, नेपाल पर्यटन बोर्ड
जोशीको भनाइमा धेरैजसो ‘आइसोलेसन’मै हुने पदयात्रा, पर्वतारोहण, जंगल सफारी, प्रकृतिमा आधारित पर्यटनलाई यतिबेला प्रवर्द्धन गर्न सकिन्छ। ती क्षेत्रको दिगो विकास र प्रवर्द्धनको रणनीति निर्माणमा सरकार गम्भीर हुनुुपर्छ।
“पर्यटक नआएको महामारीको यो अवसरमा सरकार र निजी क्षेत्र दुवैसँग नयाँ पर्यटकीय क्षेत्रको पहिचान, विकास, विस्तार र प्रवर्द्धन गर्ने समय पनि छ”, जोशी भन्छन्।
नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईं पनि महामारीले डलरमा मात्रै भर पर्ने अवस्थाको विकल्प खोज्न सुझाएको बताउँछन्। “यो महामारीले आन्तरिक पर्यटक नै हाम्रो जीवन हो भन्ने पाठ पढाएको छ”, उनी भन्छन्।
यसका अलावा महामारीले व्यापार प्रवर्द्धन, विकास र बजार व्यवस्थापन, वस्तु तथा सेवा बिक्रीमा डिजिटल प्रणालीलाई अनिवार्य बनाएको उनको अनुभव छ। “डिजिटल कारोबार बढाउँदै भविष्यको संकट सामना गर्ने तयारी नै आजको आवश्यकता हो”, गुरागाईंको भनाइ छ।