मन्त्रालयभित्र सुर्ती निषेध
प्रदेश १ सामाजिक विकास मन्त्रालय हाताभित्र सुर्ती बोकेरसम्म प्रवेश गर्न नपाइने गरी निषेध गरिएको छ ।
विश्व स्वास्थ्य दिवसका अवसरमा २४ चैतदेखि मन्त्रालयको गेटभित्रै पस्न नपाइने गरी निषेध गरिएको मन्त्री जीवन घिमिरेले घोषणा गरे ।
एक समारोहबीच मन्त्री घिमिरेले सुर्तीजन्य बस्तु मुखमा च्यापेर समेत मन्त्रालय हाताभित्र प्रवेश गर्न नपाइने जानकारी दिंदै मन्त्रालयमा सुर्ती, चुरोट सेवन गरेको पाइए प्रचलित कानुन अनुसार कारबाही गरिने बताए ।
मन्त्रालय प्रवेश गर्ने व्यक्तिको साथमा सुर्तीजन्य वस्तु भए नभएको चेकजाँच गर्न सुरक्षा गार्डसमेत राखिएको छ ।
मन्त्रालयका प्रवक्ता गोपीप्रसाद घिमिरेका अनुसार आगामी १ वैशाखदेखि सामाजिक विकास मन्त्रालय मातहतका सबै कार्यालयमा सुर्तीजन्य बस्तु बोकेर जान रोक लगाइने भएको छ ।
सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न प्रदेश १ सरकारले कानुन निर्माणको तयारी समेत गरेको छ ।
सामाजिक विकास मन्त्रालयका सल्लाहकार कोषराज न्यौपानेका अनुसार सार्वजनिक स्थलको सय मिटर वरपरसम्म सुर्तीजन्य बस्तु बिक्री वितरण गरेको पाइए प्रमुख जिल्ला अधिकारी मार्फत कारबाही गराइने छ ।