धुलिखेल अस्पतालले महामारीमा खटिनेकै तलब काटेको चिकित्सकको गुनासो, अस्पताल भन्छ– आम्दानी सुक्यो
धुलिखेल अस्पतालले महामारी शुरु भए यता गएको चैतदेखि नै चिकित्सकलगायत स्वास्थ्यकर्मीहरुको तलब कटौती गरेको छ। शुरुका तीन महीना १५ प्रतिशत र त्यसपछि २५ प्रतिशत तलब कटौती गरेको हो।
अस्पतालले विनाजानकारी आफूहरुको तलब काटेको नाम नबताउने शर्तमा इमेर्जेन्सी सेवाका एक चिकित्सकले जनाए। उनका अनुसार गएको फागुनदेखि रु.८ हजार तलबवृद्धि गरिएको थियो। तर, वृद्धि गरिएको तलब दिनुको साटो उल्टै १५ प्रतिशत कटौती गरेको उनी बताउँछन्।
ती चिकित्सक भन्छन्, “जोखिम भत्ता त परको कुरा हो, पाउने तलब नै पनि दिइएको छैन। कात्तिक २ गते बल्ल भदौको तलब पाइयो। त्यो पनि २५ प्रतिशत कटौती गरिएको छ।” अस्पतालले कट्टी गरेको चैतयताको आफ्नो तलब नै रु.१ लाख पुगिसकेको उनी बताउँछन्।
उक्त अस्पतालमा कोभिड उपचार केन्द्र पनि छ। काठमाडौँ विश्वविद्यालयको शिक्षण अस्पतालसमेत रहेको अस्पतालले इमरजेन्सी सेवा र कोभिड केन्द्रमा कार्यरत लगायत विशेषज्ञ चिकित्सकको पनि तलब काटेको छ। इमर्जेन्सी सेवामा काम गर्नेहरु सबैभन्दा बढी जोखिममा रहेको ती चिकित्सक बताउँछन्।
“पहिला इमरजेन्सीमा आएपछि मात्र आशंका लागे कोभिड केन्द्र पठाउने हो। इमरजेन्सीमा श्वासप्रश्वासका बिरामीका लागि ‘रेस्पी जोन’ छ। स्वाब पनि हामीले नै लिनुपर्छ। तर, हामीलाई प्रोत्साहन गर्नुको साटो हतोत्साह गरिएको छ”, उनले भने। तलब काटेको विषयमा प्रशासनसँग जवाफ माग्दा ‘चाहिनेहरुले लेखेर माग गर्न’ भनेपछि आफूहरुले लिखितै माग गर्दा पनि बेवास्ता गरेको उनको गुनासो छ।
मेडिकल अफिसरहरुको तलब नै कम हुने हुँदा डेरामा बस्नेहरुका लागि घरभाडा तिर्न समस्या परेको उनको भनाइ छ। “कन्सल्ट्यान्टहरु क्लिनिकबाट पनि आम्दानी गर्छन्। तर, अधिकांश डेरामा बस्ने मेडिकल अफिसरहरुलाई समस्या छ। कतिपयले त जागिर छाडिसके”, उनले भने।
यता धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश मकाजु महामारी शुरु भएपछि बिरामी नआउँदा र विद्यार्थीबाट शुल्क पनि नउठ्दा अस्पतालको आम्दानी सुकेको कारण तलब कटौती गर्नुपरेको बताउँछन्। उनी भन्छन्, “अहिले आम्दानी एक करोडभन्दा तल छ। खर्च सात/आठ करोड खर्च गर्न सक्ने अवस्था छैन। अस्पताल चलाउन ऋण लिनुपर्ने अवस्था छ। बोट जोगाए मात्र फल खान पाइन्छ। संस्था जोगाउनका लागि तलब कटौती गरिएको हो।”
उनका अनुसार धुलिखेल अस्पतालमा महामारीअगाडि दैनिक करीब १४ सय बिरामी स्वास्थ्य जाँचका लागि आउँथे। अहिले २०० देखि ४०० बिरामी मात्र आउँछन्। अस्पतालले ‘सप्लायर्स’हरुलाई दिने बक्यौता नै रु.२५ करोडभन्दा बढी पुगिसकेको डा. मकाजु बताउँछन्।
शुरुमा कटौती गरेको तलब अवस्था राम्रो भएपछि दिने भनिए पनि महामारी लम्बिँदै गएकाले अनिश्चित भएको उनी बताउँछन्। जोखिम भत्ता भने सरकारले नै दिने घोषणा गरेको थियो। “जोखिम भत्ताका लागि कोभिडका बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीको नाम सरकारले मागेपछि पठाइसकेका छौँ। तर, भत्ता पठाएको छैन। पठायो भने दिने हो”, उनी भन्छन्।
धुलिखेल अस्पतालमा मेडिकल अफिसर र कन्सल्ट्यान्ट गरी १०० भन्दा बढी चिकित्सक कार्यरत छन्। कोभिड केन्द्रमा लगातार एक साता काम गर्नेलाई अर्को एक साता अस्पतालले बिदा दिने गरेको छ। चिकित्सकलाई क्वारेन्टिन वा आइसोलेसनमा राख्नु परेको अवस्थामा उक्त खर्च भने अस्पतालले नै बेहोर्ने गरेको छ।