कोरोना खोप लिएका ब्राजिलका स्वयमसेवकको मृत्युपछि अक्सफोर्डको दाबी- सुरक्षा चिन्ता छैन
कारोनाभाइरसको खोप लिएका एक स्वयमसेवक चिकित्सकको ब्राजिलमा मृत्यु भए पनि सुरक्षा चिन्ता नभएको अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाको दाबी छ। उक्त घटनाको समीक्षा गरेर तेस्रो चरणको परीक्षण जारी राखिने अक्सफोर्डले जनाएको छ।
ब्राजिलका स्वास्थ्य अधिकारीले गोपनियता सम्बन्धी प्रावधानका कारण ती चिकित्सकबारे विस्तृत विवरण सार्वजनिक गरेका छैनन्। उनको गएको सोमबार मृत्यु भएको थियो।
ती चिकित्सकको मृत्यु खोप सुरक्षासँग सम्बन्धित नभएको अक्सफोर्डले जनाएको छ। बीबीसीले ती स्वयमसेवकले कोरोनाको खोप नलिएको दाबी गरेको छ। “बीबीसीले जानकारी लिएको छ कि ती स्वयमसेवकको खोपका कारण मृत्यु भएको थिएन”, समाचारमा भनिएको छ।
बीबीसीका अनुसार परीक्षणमा सहभागी आधा स्वयमसेवकलाई मात्र अक्सफोर्डको खोप दिइन्छ। बाँकी आधालाई मेनिन्जाइटिसको इजाजत प्राप्त खोप दिइन्छ। तर, स्वयमसेवक र उनीहरुका परिवारलाई कुन चाहिँ खोप दिइएको हो भन्ने जानकारी दिइँदैन।
अनुसन्धानकर्ताहरुले यी दुवै समूहमा पर्ने असर र परिणाम हेरेर खोपको मूल्याङ्कन गर्छन्। अस्ट्राजेनेकाले एउटा विज्ञप्ति जारी गरी व्यक्तिगत घटनामा कुनै प्रतिक्रिया नदिने तर, पुनर्मूल्याङ्कनका सबै प्रक्रिया पूरा गर्ने जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, “सबै महत्वपूर्ण घटनाको अनुसन्धानकर्ताहरु, स्वतन्त्र सुरक्षा अनुगमत समिति तथा नियामक अधिकारीहरुद्वारा जाँच हुनेछ। यी जाँचहरुले जारी अध्ययनको निरन्तरतामा कुनै चिन्ता निम्त्याएको छैन।” अक्सफोर्ड र अस्ट्राजेनेकाको खोप बजारमा सबैभन्दा पहिले उपलब्ध हुने आशा गरिएको बीबीसीले जनाएको छ।
यो खोपको तेस्रो चरणको परीक्षण बेलायत, ब्राजिल र भारतमा भइरहेको छ। गएको महीना बेलायतमा एक स्वयमसेवीमा समस्या आएको आशंकामा खोप परीक्षण केही दिन रोकिएको थियो।
ब्राजिलियन सञ्चारमाध्यमहरुका अनुसार २८ वर्षीय ती चिकित्सकको कोरोनाभाइरसको जटिलताका कारण मृत्यु भएको थियो। उनी संक्रमितहरुको उपचारमा संलग्न थिए।
अक्सफोर्ड विश्वविद्यालयले ती चिकित्सक कोरोनाको वा अर्को खोप दिएको समूहमा थिए भन्ने स्वतन्त्र जाँच भएको दाबी गरेको छ। “स्वतन्त्र मूल्याङ्कनकर्ता र ब्राजिलियन नियामकले खोप परीक्षणलाई निरन्तरता दिन सुझाव दिएका छन्”, अक्सफोर्डको विज्ञप्तिमा उल्लेख छ। यो खोप प्रमाणित भएपछि ब्राजिलले ठूलो मात्रामा खरिद गर्ने योजना बनाएको छ।