ढल्केबर-मुजफरपुर प्रसारण लाइनबाट अब पूर्ण क्षमतामा विद्युत आयात निर्यात गर्न सकिने
भारतसँग विद्युत आयात निर्यातमा महत्वपूर्ण मानिएको ढल्केबर-मुजफरपुर लाइनको ढल्केबरस्थित सब स्टेशन ४०० केभी 'नो लोड'मा चार्ज भएको छ। अब यो प्रसारण लाइनबाट पूर्ण क्षमतामा विद्युत आयात निर्यात गर्न सकिने छ।
विद्युत विकास विभागका अनुसार यो सब स्टेशनको क्षमता ९४५ एमभीए छ। नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ्गले नेपाल भारतबीचको ढल्केबर मुजफरपुर लाइन ४०० केभीको लागि तयार भए पनि सब स्टेशनको कारणले सुरुमा १३२, त्यसपछि २२० र त्यसपछि ४०० केभी नो लोडमा चार्ज गरिएको बताएका छन्।
२२० केभीमा चार्ज हुँदा ४०० मेगावाट विद्युत आदान प्रदान हुने गरेको थियो। अब भने यो प्रसारण लाइनबाट एक हजार २०० मेगावाट विद्युत भारत पठाउन र उताबाट ल्याउन सकिन्छ।
गत असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिए पनि ‘हाइ भोल्टेज टेस्टिङ मेसिन’ केरुङ नाकाबाट करीब तीन महीनासम्म छुट्न नसक्दा समयमा नै सब स्टेशसन चार्ज हुन सकेको थिएन। उपल्लो तामाकोशीबाट उत्पादन भएको विद्युत नेपालमा पूरै खपत नभए भारत निर्यातका लागि यो प्रसारण लाइन महत्वपूर्ण हुने छ।
प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक २०७२ सालमा प्रधानमन्त्री हुँदा भारसँग गरेको विद्युत आदान प्रदानको सम्झौता अनुसार यो प्रसारण लाइन बिस्तार भएको हो।