जैविक सामग्रीको मात्र प्रयोग गरी ताप्लेजुङमा बन्दैछ रेडपाण्डा अनुसन्धान भवन
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ पाथीभरा क्षेत्रस्थित देउराली सामुदायिक वनमा बन्दै गरेको रेडपाण्डा अध्ययन तथा अनुसन्धान केन्द्रको भवन वातावरणमैत्री हुने भएकाले जैविक सामग्री मात्र प्रयोग गरिएको छ।
काठमाडौस्थित एसएनपी निर्माण व्यवसायीले निर्माण गरिरहेको भवनमा प्रयोग भएका सबै कच्चा पदार्थ वातावरणमैत्री र स्थानीय उत्पादनका सामग्री राखिएको साइट सुभरभाइजर अमृत भट्टराईले जानकारी दिए। उनका अनुसार त्यहाँ गोवर, खरानी, अण्डाको खोल, शुद्ध तोरीको तेल, चूना, माटो, परालको टुक्रालाई मुछेर भवन बनाइँदैछ।
उल्लेखित सामग्रीको मिलानले संरचना वातावरणमैत्री बन्नुका साथै बलियो, टिकाउ र मौसम अनुकुलित प्रकृतिको हुने उनले बताए। उनी भन्छन्, “नेपालमा यस्ता कमै संरचना छन्। त्यो तहको संरचना हिमाली जिल्ला ताप्लेजुङमा पनि बन्न लागेकोमा यो पूर्वी नेपालकै लागि गौरवको विषय हो।”
गएको मङ्सिरदेखि भवनको निर्माण शुरु भएको हो। गत असार मसान्तमा सम्पन्न हुनुपर्नेमा कोरोना महामारीका कारण लामो समयको बन्दाबन्दीका कारण तोकिएको समयमा पूरा गर्न नसकिएको साइट सुभरभाइजर भट्टराईले बताए। भवन निर्माणको ६५ प्रतिशत सम्पन्न भएको र आगामी १८ माघसम्ममा निमार्ण सम्पन्न गर्ने गरी तीव्ररुपमा काम भइरहेको उनको भनाइ छ ।
हिमाली संरक्षण मञ्चको सहजीकरण तथा रेडपाण्डा नेटवर्कको आर्थिक सहयोगमा सो केन्द्रको भवन निर्माण हुँदै गरेको मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए। जैविक विविधता तथा वन्यजन्तुको अध्ययन र अनुसन्धान गर्ने उद्देश्यले निर्माण हुन लागेको केन्द्रको भवनको कूल लागत रु.१ करोड ५७ लाख छ।