विराटनगर महानगरमा बिहीबारदेखि एक साता स्वाब संकलन बन्द
विराटनगर महानगरपालिकाले बिहीबारदेखि एक सातासम्म कोरोनाभाइरस परीक्षणका लागि गर्दै आएको स्वाब संकलन बन्द गर्ने भएको छ।
महानगरले जैन भवन र मोबाइल भ्यानबाट स्वाब संकलन गर्दै आएको छ। संकलित स्वाब परीक्षण परीक्षणका लागि कोशी अञ्चल अस्पताल पठाउने गरिएकोमा उक्त अस्पतालमा बडादशैंको बिदा अवधि महानवमीदेखि एकादशीसम्म परीक्षण नगरिने भएकाले बिहीबारदेखि नै स्वाब संकलन स्थगन गर्नुपरेको महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले जनाएको छ।
बुधबारसम्म संकलित स्वाब महानवमी अगावै परीक्षण गर्नुपर्ने भएकाले थप स्वाब लिन सक्ने अवस्था नरहेको जनस्वास्थ्य महाशाखाका संयोजक दिलीपकुमार यादवद्वारा विज्ञप्तिमा जनाइएको छ।