४४ हजार नाघे सक्रिय संक्रमित, २९ हजार ८०० जना होम आइसोलेसनमै
देशभर पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका ५ हजार ७४३ जना नयाँ संक्रमित थपिंदा सक्रिय संक्रमितको संख्या ४४ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, अहिले देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ छ।
यी सक्रिय संक्रमितमध्ये अधिकांश बिरामी आफ्नै घरमा बसिरहेका छन्। संस्थागत आइसोलेसन अर्थात् सरकारले व्यवस्था गरेका आइसोलेसनमा बस्नेको संख्या १४ हजार ६७६ छ भने होम आइसोलेसन अर्थात् आफ्नै घरमा बस्नेहरु २९ हजार ८०० छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार, बुधबार थपिएका संक्रमितसँगै कुल संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ। त्यस्तै, संक्रमणमुक्त हुनेको कुल संख्या ९९ हजार ६०५ पुगेको छ। बुधबार २ हजार ९९६ जना संक्रमणमुक्त भएका छन्।
संक्रमणमुक्त हुने दर ६८.७ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।