मौसम : सोमबारदेखि आंशिक सुधार
पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही दिनदेखि प्रभावित मौसम सोमबारदेखि क्रमिक रूपमा सुधार हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उक्त वायुको प्रभावले आइतबार देशभरि नै आंशिकदेखि सामान्य बदली रही देशका पूर्वी तथा मध्य भू–भागका एक दुई स्थानमा हावाहुरी र मेघ गर्जनसहित वर्षा हुने वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए ।
उनका अनुसार सोमबार पश्चिमी क्षेत्रबाट क्रमिक सुधार हँुदै जाने छ । मध्य र पूर्वी क्षेत्रको मौसम भने एक÷दुई दिन प्रभावित नै हुने मौसमविद् पौडेलले बताए । काठमाडौं उपत्यकामा सोमबारबाट मौसम सुधार हुँदै जाने बताइएको छ ।
पश्चिमी क्षेत्रमा पश्चिमी वायु, पूर्वी क्षेत्रमा बनेको न्यूनचापीय रेखा, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको सम्मिश्रणको प्रभावले देशैभरको मौसम प्रभावित भएको महाशाखाले जनाएको छ ।
आइतबार राति देशभरि नै आंशिकदेखि सामान्य बदली रही पश्चिमी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । सोमबार देशका पूर्वी भू–भागमा आंशिकदेखि पूर्ण बदली रही पश्चिमी पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।
मंगलबार देशको पूर्वी र मध्य भू–भागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरण अनुसार आइतबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम १७ दशमलव ८ डिग्री सेल्सियस रहेको छ ।