क्यान्सरलाई जिते सञ्जय दत्तले, फिल्मको काममा छिटै फर्किने
बलिउड अभिनेता सञ्जय दत्तले क्यान्सरलाई जितेका छन्। उनले ट्विटर मार्फत यसको जानकारी दिएका हुन्।
६१ वर्षीय अभिनेताले पछिल्लो केही साता आफू र आफ्नो परिवारको लागि कष्टप्रद रहेको भन्दै ईश्वरले सर्वाधिक कठिन लडाइँमा सधैं सबैभन्दा बलियो सिपाहीलाई जिताए जस्तै आफूले रोग विरुद्ध जित हासिल गरेको लेखेका छन्।
दुई दिनअघि नै सञ्जय निको भएको खबर आए पनि उनले आफ्ना जम्ल्याहा छोराछोरी इकरा र शहरानको १० औं जन्मोत्सवका दिन पारेर ट्वीटरको पोस्टमा लेखेका छन्, "आज मेरा बच्चाहरुको जन्मदिनमा यो कुरामा खुशी छ, मैले यो लडाइँ जितेको छु।"
दुई महीनाअघि उनलाई फोक्सोको तेस्रो चरणको क्यान्सर भएको पत्ता लागेको थियो। केही सातायता उनको मुम्बईस्थित कोकिलाबेन अस्पतालमा उपचार भइरहेको थियो।
सञ्जयले सबैको भरोसा र साथ विना आफू निको हुन सम्भव नरहेको भन्दै परिवार, साथीभाइ र प्रशंसकलाई मनैदेखि आभार व्यक्त गरेका छन्।
यसअघि सञ्जयले आफूलाई क्यान्सर भएको पुष्टि गरेका थिए। उनले स्वास्थ्य उपचारका लागि आफूले कामबाट केही समय छुट्टी लिने सामाजिक सञ्जाल मार्फत जानकारी गराएका थिए।
केही समयअघि सञ्जयको एक भिडिओ उनका हेयर स्टाइलिस्ट आलिम हकिमले इन्स्टाग्राममा पोस्ट गरेका थिए। भिडियोमा सञ्जयले आफूले क्यान्सरलाई पराजित गर्ने बताएका थिए।
सञ्जयले १५० भन्दा बढी फिल्ममा काम गरेका छन्। स्वास्थ्य लाभ गरेसँगै अब नोभेम्बरदेखि फिल्मको काम शुरु गर्ने उनले बताएका छन्।