दशैं लगत्तै संसद् बैठक बोलाउन कांग्रेस-जसपाको माग, एक चौथाइ सदस्यको हस्ताक्षरबाट विशेष अधिवेशन माग गर्ने तयारी
विपक्षी दलहरुले दशैं लगत्तै संघीय संसद् बैठक बोलाउन माग गरेका छन्। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र अर्को विपक्षी दल जनता समाजवादी पार्टी (जसपा) ले संसद् सञ्चालन नभए संविधानको प्रावधान अनुसार विधिवत् रुपमै संसद्को अधिवेशन वा बैठक माग गर्ने तयारी समेत गरेका छन्।
कोरोनाभाइरस संक्रमण महामारीका बेला नागरिकको बेहाल भएको र सरकार त्यसमा बेपरवाह बनेको भन्दै यो अवस्थामा जनप्रतिनिधि (सांसद) हरु ‘सुतेर बसेको’ आरोप लाग्न थालेकाले दशैंलगत्तै संसद् बैठक बोलाउने माग गर्ने उनीहरुको तयारी छ। बैठक नबोलाइए संविधानको व्यवस्था अनुसार एक चौथाइ सांसदहरुको हस्ताक्षरबाट संसद्को बैठक वा अधिवेशन बोलाउन पहल गर्ने अनौपचारिक छलफल समेत उनीहरुले शुरु गरेका छन्।
१९ असोजमा बस्ने भनिएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको एक प्रमुख अजेण्डा ‘कोभिड महामारी र संसद् बैठक’ थियो। तर, त्यो बैठक स्थगित भएकाले पार्टीको आधिकारिक निर्णय नहुँदा संसद् बैठकबारे निर्णय गर्न ढिलाई भएको कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँणले बताए।
कोरोनाभाइरस संक्रमण महामारीका बेला नागरिकको बेहाल भएको र सरकार त्यसमा बेपरवाह बनेको भन्दै यो अवस्थामा जनप्रतिनिधि (सांसद) हरु ‘सुतेर बसेको’ आरोप लाग्न थालेकाले दशैंलगत्तै संसद् बैठक बोलाउने माग गर्ने उनीहरुको तयारी छ।
केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि पीसीआर परीक्षण गर्दा केही केन्द्रीय सदस्यहमा कोरोना संक्रमण पुष्टि भएपछि कांग्रेसले बैठक स्थगन गरेको थियो। खाँणले हिमालखबरसँग भने, “त्यो बैठक बसेको भए तत्काल संसद् बैठक आह्वान गर्नुपर्छ भनेर पार्टीले निर्णय गर्थ्यो र संसदीय दलको बैठक राखेर दलले पनि निर्णय गरेर अघि बढ्थ्यौं। तर, अब पार्टीको बैठक दशैंपछि बस्छ होला, त्यो बैठकले संसद् बैठकको माग गर्छ।”
उनले दशैंपछि पनि सरकारले संसद बैठक बोलाउनेमा आशंका व्यक्त गर्दै भने, “त्यसो भयो भने हामी संविधान अनुसार एक चौथाइ सांसदहरुले हस्ताक्षर गरेर विशेष अधिवेशन माग गर्ने तयारीमा छौं।”
उनले एक चौथाइ सदस्यका लागि कांग्रेसको मात्र संख्या केही अपुग हुने भएकाले अन्य दलसँग छलफल शुरु गरिएको बताए। त्यस क्रममा जसपाका नेताहरुसँग सामान्य छलफल शुरु भएको, कांग्रेसको केन्द्रीय कार्यसमिति र संसदीय दलबाट यसबारे निर्णय भएपछि औपचारिक छलफल गरिने उल्लेख गरे।
जसपाका नेता एवं प्रतिनिधि सभामा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का मुख्य सचेतक रहेका लक्ष्मणलाल कर्णले पनि कांग्रेसबाट त्यस्तो प्रस्ताव आएमा आफूहरु सकारात्मक रहेको बताए। उनले भने, “म पार्टीकै काममा व्यस्त भएकाले कांग्रेससँग यो विषयमा छलफल भएको त छैन, तर प्रस्ताव आयो भने हामी सकारात्मक छौं। हाम्रो पार्टीका अरु नेताहरुले अनौपचारिक छलफल गर्नुभएको होला।”
जसपाकै सांसद प्रदीप यादवले पनि संसद बैठक बस्न जरुरी भएकाले आफ्नो पार्टीले बैठक तत्काल बोलाउन सरकारलाई माग गर्ने बताए। उनले भने, “संसद् बैठक नभएकै कारण एकातिर महामारीको बेला सांसदहरु सुतेर बसे भन्ने आरोप लागिरहेको छ, अर्कोतिर सरकारले जनताको स्वास्थ्यमा खेलवाड गर्ने गम्भीर निर्णय गरिरहेको छ। हामीले संसद बैठक बोलाउन सरकारलाई भनिरहेका छौं, अब संविधानलाई टेकेर विशेष बैठक वा अधिवेशन माग गर्छौं।”
यादवका अनुसार यसबारे दुई पार्टीको विभिन्न तहमा अनौपचारिक छलफल भइसकेको छ।
संसद् अधिवेशन चालु नरहेको अवस्थामा एक चौथाइ सांसदले प्रतिनिधिसभाको बैठक वा अधिवेशन बोलाउन माग गर्न सकिने संवैधानिक व्यवस्था छ। संविधानको धारा ९३ (३) उल्लेख छ, ‘राष्ट्रपतिले प्रतिनिधिसभाको अधिवेशन चालु नरहेको वा बैठक स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रतिनिधि सभाको सम्पूर्ण संख्याको एक चौथाइ सदस्यहरुले लिखित अनुरोध गरेमा त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्नेछ ।’
वरिष्ठ अधिवक्ता एवं राष्ट्रिय सभाका सदस्य राधेश्याम अधिकारीले विश्वको कुैन पनि देशमा कोभिडकै कारण नेपालको जसरी लामो समय संसद बन्द नभएको बताए। उनले भने, “यदि दशैं लगत्तै पनि संसद चालु गर्ने सरकारको तयारी भएन भने प्रतिनिधि सभाका एक चौथाइ सदस्यहरुले संविधान अनुसार बैठक वा अधिवेशनको माग गर्नुहुन्छ। यसमा जसपा पनि सकारात्मक रहेकाले यो संभव छ।”
प्रतिनिधि सभामा कांग्रेसका ६३ र जसपाका ३४ जना सदस्य छन्।