१० महीनापछि उड्यो सौर्य एअर, दशैंमा दैनिक ३ उडान
निजी क्षेत्रको वायुसेवा कम्पनी सौर्य एअरलाइन्सले १० महीनापछि ५ कात्तिकबाट नियमित सेवा शुरु गरेको छ। कोरोनाको जोखिम कम गर्न सरकारले चैतदेखि गरेको बन्दाबन्दी भन्दा तीन महीना अगाडि अर्थात् पुसदेखि नै सौर्यको जहाज प्राविधिक कारणले थन्किएका थिए।
बन्दाबन्दीको ६ महीनापछि ५ असोजबाट आन्तरिक उडानमा सबै वायुसेवा सञ्चालनमा आए पनि सौर्यका जहाज भने प्राविधिक समस्याकै कारण थन्किइरहे। अरु वायुसेवाले उडान शुरु गरेको एक महीनापछि यो वायुसेवाले नियमित सेवा सञ्चालन गरेको हो।
सौर्यका सीआरजे २०० नामक ५० सिट क्षमतका ३ वटा जहाज भएपनि अर्को दुई वटा अझै उडानका लागि तयार भएका छैनन्। दुई वटा जहाजको मर्मत चलिरहेकोले आवश्यक तयारी पूरा गरेर तिहारमा उडान गर्ने भएकाे छ।
सौर्य एअरलाइन्सका प्रबन्ध निर्देशक गोपाल भट्टराईका अनुसार, सौर्य एयरले साढे दुई महीना अगाडि बन्दाबन्दीको समयमा नै एउटा नयाँ जहाज थप गरेको थियाे । आवश्यक तयारी पूरा गरेर सोही जहाजले आजबाट उडान शुरु गरेको हो।
सौर्यका सीआरजे २०० नामक ५० सिट क्षमतका तीन वटा जहाज भए पनि अर्को दुई वटा अझै उडानका लागि तयार भएका छैनन्। दुई वटा जहाजको आवश्यक मर्मत चलिरहेकाले तिहारमा मात्रै उडान गर्ने जानकारी भट्टराईले दिए।
यो वायुसेवाले भैरहवा, विराटनगर र भद्रपुर एक-एक उडान शुरु गरेको छ। यो वायुसेवाले तीन वटा जहाजले दैनिक चार वटा उडान गर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणलबाट उडान तालिका स्वीकृत गराएको भए पनि सबै जहाज तयार नभएका कारण एउटा जहाजबाट मात्रै उडान शुरु गरेको हो। अर्को जहाज दशैं लगत्तै तयार हुने पनि सौर्य एअरलाइन्सले जनाएको छ।