पोखरामा उड्न थाले दैनिक २०० पाराग्लाइडिङ
पर्यटनलाई पुनर्जीवन दिन पाराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थालेपछि दैनिक २०० भन्दा बढी साहसी खेलप्रेमी आकाशमा उड्न थालेका छन्।
लामो समयको बन्दाबन्दीका कारण मनोरञ्जनलगायत गतिविधिबाट वञ्चित भएकालाई आकाशमा उड्न सस्तो कार्यक्रम ल्याइएको छ ती कम्पनीहरुले जनाएका छन्। गएको १५ असोजदेखि व्यवसायिक उडान शुरु भएको थियो।
बाह्य पर्यटकको आगमन शून्य भएका अवस्थामा आन्तरिक पर्यटकबाटै पर्यटकीय गतिविधिलाई चलायमान बनाउन नाफा नहेरी उडानलाई निरन्तरता दिइएको नेपाल हवाई खेलकूद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए। उनले भने, “हामीले पर्यटकीय गतिविधि भएको छ भन्ने सन्देश दिन मात्र खोजेका हौँ, त्यसैले घाटा नै भए पनि पाराग्लाइडिङ हौँ। अहिले पोखरा र आसपासका करीब २०० आन्तरिक पर्यटकले दैनिक उडान गर्नुभएको छ।”
अहिले पर्यटकीय मौसम भए पनि कोरोनाले ठप्प भएको अवस्थामा सस्तो कार्यक्रममार्फत आन्तरिक पर्यटकलाई जोड दिएको उनले बताए। आन्तरिक पर्यटकको चहलपहलले थौरे भए पनि व्यावसायिक उडानप्रति आशा जगाउँदै लगेको भण्डारीको भनाइ छ।
उनका अनुसार अहिले रु.३ हजारमा उडाउने गरिएको छ। पहिले रु.७ हजार ५०० लिइने गरिएको थियो। कोरोनाको उच्च जोखिमलाई ध्यान दिँदै स्वास्थ्य सतर्कतासहित उडाइरहेको उनले बताए।
हिमालय स्काइ एडभेञ्चर पाराग्लाइडिङ कम्पनीका सञ्चालक एवं पाइलट माधव तिवारीले अहिले १५ देखि ३५ वर्षसम्म उमेरका युवाले उडानमा बढी रुचि राखेको बताए। विशेष गरी कलेजका विद्यार्थी, कर्मचारी, व्यवसायीलगायत पारिवारिक रुपमा समेत उडानका लागि आउने गरेको उनको भनाइ छ।
नेपाल हवाई खेलकूद संस्थाको सचिव समेत रहेका तिवारीका अनुसार उडान गर्नेहरुमा कास्कीका ८० र आसपास जिल्लाका २० प्रतिशत छन्। यसअघि दैनिक करीब पाँच सय उडान हुने गरेको थियो।
पोखरामा हवाई खेलकूद संस्थाबाट पाराग्लाइडिङ उडान अनुमति लिएका ३३८ पारापाइलट छन्। तीमध्ये १२ जना महिला छन्। बन्दाबन्दी अगाडिसम्म १०/१२ विदेशी पारापाइलट पनि थिए। अहिले नेपाली मात्रै छन्। उनीहरु पोखराका ६० पाराग्लाइडिङ कम्पनीमा कार्यरत छन्।