पेस्तोल र वन्यजन्तुका अंगबाट बनेका सामग्रीसहित एक जना पक्राउ
घरमा लुकाएर राखेको दुई थान पेस्तोल र वन्यजन्तुका अंगबाट बनेका विभिन्न सामग्रीसहित प्रहरीले तनहुँमा मंगलबार एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने बन्दीपुर गाउँपालिका–६ का ४० वर्षीय अशोक गुरुङ हुन्।
इलाका प्रहरी कार्यालय बन्दीपुर र इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट खटिएको प्रहरी टोलीले दुई थान पेस्तोलसहित उनलाई घरबाटै पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाका अनुसार गुरुङको घरबाट ९ एमएमको अटो पेस्तोल, ७.५ इन्च लम्बाई तथा ५.५ चौडाई भएको म्याग्जिन र सोही म्याग्जिनमा रहेको एक राउण्ड गोलीबरामद भएको छ।
त्यसैगरी ७ इन्च लम्बाई र ५ इन्च चौडाई भएको म्याग्जिन सहितको एक थान पेस्तोल पनि बरामद गरिएको प्रनाउ तिमिल्सिनाले जानकारी दिए। दुईवटा सुटकेशभित्र लुकाइछिपाइ राखेको अवस्थामा पाँचवटा विभिन्न वन्यजन्तु सामग्री पनि बरामद भएको छ। विभिन्न आकारका लम्बाइ, चौडाइ भएका छालाजस्तो देखिने वस्तु र पानको पात आकारमा बिचमा ॐ लेखेको ५.५ इन्च लम्बाइ चार इन्च चौडाइ भएको एक थान वस्तु बरामद भएको छ।
त्यस्तै जङ्गली जनावरको छालाजस्तो देखिने छ इन्च लम्बाइ, २.५ इन्च गोलाइको वस्तु एक थान र जङ्गली जनावरको छालाजस्तो देखिने सात इन्च लम्बाइ र १.५ इन्च गोलाइ भएको वस्तु एक थान पनि बरामद गरेको छ। जङ्गली जनावरको छालाजस्तो देखिने १० इन्च लम्बाइ २.५ इन्च गोलाइ भएको वस्तु थान एक र जङ्गली जनावरको छालाजस्तो देखिने ‘भी’ आकारको वस्तु एक थान तथा जङ्गली जनावरको सिङजस्तो देखिने एक फिट लम्बाइ, फेद गोलाइ ४.५ इन्च र टुप्पाको गोलाइ एक इन्च भएको वस्तु एक थान लगायत वस्तु बरामद भएको प्रहरीले जनाएको छ।
उनले अवैध हतियार राखेर सर्वसाधारणलाई त्रसित र आङ्तकित पार्दै हिँड्ने गरेको प्रहरीको भनाइ छ।