धवनले लगातार शतकको रेकर्ड बनाएको खेलमा पञ्जाबसँग दिल्ली पराजित
शिखर धवनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दुई खेलमा शतक बनाउने रेकर्ड राखे पनि दिल्ली क्यापिटल्स पराजित भएको छ। जारी सिजन १० खेलमा दिल्लीको यो तेस्रो हार हो।
शीर्षस्थानको दिल्लीलाई अंकतालिकाको पुछारभन्दा एक स्थानमाथि रहेको किङ्स इलेभन पञ्जाबले पाँच विकेटले पराजित गरेको छ। १६५ रनको लक्ष्य पञ्जाबले १९ ओभरमा भेट्टाएको हो। उसका लागि निकोलस पुरनले सर्वाधिक ५३ रन बनाए। उनले २८ बलमा ६ चौका र तीन छक्का प्रहार गरे। त्यसैगरी ग्लेन म्याक्सवेलले ३२ रन बनाए। दिल्लीका कुनै पनि बलरले प्रभावशाली प्रदर्शन गर्न सकेनन्।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्ली क्यापिटल्सले २० ओभरमा पाँच विकेट गुमाउँदै १६४ रन बनाएको थियो। उसका लागि शिखर धवनले अविजित १०६ रन बनाएका थिए। तर, धवनबाहेक अन्य ब्याट्स्म्यानले सुस्त गतिमा खेल्दा चुनौतीपूर्ण रन बन्न सकेन।
धवनले ६१ बल खेल्दै तीन छक्का र १२ चौका प्रहार गरेका थिए। जारी सिजन यो उनको दोस्रो शतक हो। उनी आईपीएलमा लगातार दुई खेलमा शतक बनाउने पहिलो खेलाडी भएका छन्।
अघिल्लो खेलमा पनि उनले चेन्नाईविरुद्ध शतक प्रहार गरेका थिए। चेन्नाईविरुद्ध उनले ५८ बल खेल्दै १४ चौका र एक छक्काको मद्दतमा १०१ रन बनाएका थिए। फर्ममा रहेका धवनले अन्तिम चार खेलमा लगातार दुई अर्धशतक र दुई शतक बनाएका छन्।
१० खेलबाट १४ अंक बटुलेको दिल्ली हारका बावजुद शीर्षस्थानमा कायम छ। मुम्बई इन्डियन्सको १२ अंक छ र एक खेल कम खेलेको छ। उता पञ्जाबको भने १० खेलबाट आठ अंकसहित पाचौँ स्थानमा उक्लिएको छ।