सीसीएमसी र स्वास्थ्य मन्त्रालयबीच समन्वय हुन छाड्यो, तथ्यांकको उपयोग भएन
कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएसी) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच समन्वय नहुँदा यी दुई निकायबीच चिसोपना मात्र बढेको छैन काठमाडौं उपत्यकामा कोरोना नियन्त्रयण र रोकथामको काम समेत असफल बन्दै गएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार मुलकभर ४ कात्तिकसम्ममा कोरोना संक्रमित हुनेको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ। यीमध्ये पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ९३ जना कोरोना संक्रमित भए। स्वास्थ्य मन्त्रालयको मंगलबारसम्मको तथ्यांकले मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४१ हजार ७५५ र मृत्यु हुनेको संख्या ७६५ पुगेको देखाएको छ।
जिल्ला अनुसार हेर्दा सक्रिय संक्रमित सबैभन्दा बढी काठमाडौंमा १७ हजार ७४९ छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै काठमाडौंमा १ हजार ४३१ जना कोरोना संक्रमित थपिएका छन्। यस्तै, मंगलबारसम्ममा ललितपुरमा सक्रिय संक्रमितको संख्या २ हजार ४४७ र भक्तपुरमा १ हजार १५१ छ।
मंगलबारसम्ममा देशभरको तथ्यांक अनुसार मनाङबाहेक सबै जिल्लामा कोरोनाका सक्रिय संक्रमित छन्। स्वास्थ्य मन्त्रालयको तथ्यांकले काठमाडौं कोरोनाको हटस्पट बनेको देखाएको छ। बन्दाबन्दी खुलेपछिको बढ्दो भीडभाड र स्वास्थ्यका मापदण्ड पालना गर्ने क्रम घटेसँगै सरकारको फितलो तयारीले काठमाडौंमा कोरोना संक्रमण उच्च दरमा बढेको हो।
कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएसी)बाट प्राप्त नक्शा अनुसार काठमाडौंको चावहिल, मैतीदेवी, बासबारी, सिनामंगल, नयाँ बानेश्वर, नयाँ बजार, नारायण टोल, कलंकी, बागबजार, बालाजु लगायतका क्षेत्रमा उच्च संख्यामा कोरोना संक्रमित भेटिएका छन्। केन्द्रको २५ असोजसम्मको तथ्यांक अनुसार ललितपुरको सानेपा, लगनखेल, जावलाखेल, खुमलटार, खड्कागाउ लगायतका ठाउँमा उच्च सख्यामा कोरोना संक्रमित भेटिएका छन्।
यस्तै, भक्तपुरको कागेश्वर मनोहरा, व्यासी, घलते, बुंगल, पाटन, देभडोल लगायतका स्थानमा पनि धेरै कोरोना संक्रमित भएको सीसीएमसीको नक्शाले देखाउँछ। काठमाडौं, ललितपुर र भक्तपुरका उक्त ठाउँहरूमा तराईका जिल्लाबाट आएकाहरूको संख्या धेरै भएको, जनघनत्व बढी भएको र व्यापारिक केन्द्र भएकाले कोरोना संक्रमण उच्च देखिएको छ।
स्वास्थ्य मन्त्रालयको ४ कात्तिकसम्मको तथ्यांक अनुसार कोरोनाका कारण काठमाडौंमा १६४, ललितपुरमा ५१ र भक्तपुरमा ४५ जनाले ज्यान गुमाइसकेका छन्। उच्च दरमा कोरोना संक्रमित देखिएका ठाउँमा स्वास्थ्य मन्त्रालयको समन्वयनमा स्थानीय सरकारले सिल गरेर कट्याक्ट ट्रेसिङ र परीक्षण बढाउनुपर्नेमा त्यसो हुन नसकेको एक जना विज्ञले बताए। तर, यो तथ्यांकलाई उपयोग गरेर स्वास्थ्य मन्त्रालय र इपिडिमिलोजी तथा रोग नियन्त्रण महाशाखाले उपत्यकामा कोरोना रोग नियन्त्रण र रोकथामका लागि काम गर्न सकेको देखिएन।
सीसीएमसीले नियमित रूपमा स्वास्थ्य मन्त्रालयलाई तथ्यांक उपलब्ध गराउँदै आइरहेको छ। यसको कारण के हो त ? सीसीएमसीका एक विज्ञका अनुसार चिकित्सकले सीसीएमसी स्थापना भएको करीब दुई महीनापछि नेपाली सेनाका चिकित्सक र स्वास्थ्य मन्त्रालयका विज्ञहरूका बीचमा बैठकमै नीतिगत विषयमा दोहोरो भनाभन परेको थियो। त्यसयता मन्त्रालय र सीसीएमसीका बीचमा समन्वय हुन छाड्यो।
“जसका कारण सीसीएमसीमार्फत् भएका कामलाई स्वास्थ्य मन्त्रालयले उपयोग गर्न चाहेन,” ती विज्ञ चिकित्सकले भने, “अहिले यी दुई महत्वपूर्ण निकाय बीचको चिसोपनाका कारण उपत्यकामा कोरोना नियन्त्रयण र रोकथामको काम असफल भएको हो।”