सकियो सेनाको पृतनापति बैठक
नेपाली सेनाले कोरोना महामारीकै बीचमा आयोजना गरेको तीन दिने पृतनापति समन्वयात्मक बैठक मंगलबार सम्पन्न भएको छ। आइतबार, २ कात्तिकदेखि शुरू भएको बैठकमा वर्तमान सुरक्षा अवस्था, कोभिड-१९ महामारी र त्यसबाट आउन सक्ने सुरक्षा चुनौतीबारे पृतनापतिहरूले प्रस्तुति दिएको र अबका कार्यनीतिबारे सुझाव प्रस्तुत गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
बैठकमा काठमाडौंका उच्च सैनिक अधिकृतहरू जंगी अड्डामा उपस्थित थिए भने काठमाडौं बाहिरका पृतनापतिहरू भर्चुअल माध्यमबाट सहभागी भएका थिए। बैठक समापन गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले बैठकमा भएका प्रस्तुति र छलफलबाट निस्किएका निचोडले सेनालाई महत्वपूर्ण मार्गदर्शन गर्ने बताए।
उनले नेपाली सेनाको कार्यशैलीमा सकारात्मक परिवर्तन आएको चर्चा गर्दै त्यसले सेनालाई पद्धति र प्रणालीमा आधारित बनाउन बल पुर्याएको बताएका थिए। प्रधानसेनापति थापाले जाडो मौसमका कारण कोभिड-१९ को महामारी बढ्दै जाने पुर्वानुमान अनुसार सबै पृतनाहरूले सम्बन्धित सरोकारवाला निकायहरूसङ्गको निरन्तर समन्वयमा आवश्यक पूर्वतयारी गर्न निर्देशनसमेत दिएका थिए।